आइतबार दिउँसो १ बजे अर्घाखाँचीको सन्धिखर्कबाट प्युठान बाँदिकोटको लागि १९ जना यात्रु बोकेर जिप छुटेको थियो। भारतको बनारसबाट आफ्नो घर प्युठान सौतामारे हिँडेका ३० वर्षीय केशरबहादुर जिसी पनि सोही जिपमा थिए।
गाडी स्टार्ट हुँंदैगर्दा जिपमा बसेका एक यात्रुले ‘जिपमा फरक आवाज आइरहेको छ, बिग्रिएको हो कि?’ भनेर चालक यमबहादुर श्रीषलाई सोधे।
चालक श्रीषले ती यात्रुलाई हकार्दै ‘कहाँ बिग्रिनु, हाम्रो गाडीको बारेमा हामीलाई थाहा हुन्छ कि तपाईंलाई?’ गाडी ठिक छ भन्दै जिपलाई अगाडि बढाए। १४ जनाको सिट क्षमता रहेको उक्त जिपमा चालकसहित १९ जना यात्रु र छतमा केही सामान पनि थियो।
जिपको दोस्रो सिटको ढोकाछेऊमै बसेका जिसीलाई पनि जिप बिग्रिएको हो कि भन्ने शंका लाग्यो। ‘गाडी बिग्रिएको हो भने अरुमा पनि जान सकिने’ भनेपछि चालक श्रीषले ‘ठिक भएको’ भन्दै ढुक्क भएर बस्न आग्रह गरे।
सन्धिखर्कबाट यात्रा सुरू गर्दैगर्दा यात्रुहरूलाई जुन आशंका थियो, त्यही भयो। सन्धिखर्कदेखि २२ किलोमिटरको यात्रा पार गरी रतनमारे फिरफिरेको उकालोमा जिपले लोड तान्न सकेन। पछाडि धकेलियो।
उकालो भए पनि तीन वटा गाडीसमेत सजिलै वापरपार गर्ने अत्यन्त फराकिलो सडकमा जिपमा ब्रेक लागेन। पछाडि धकेलिएपछि चालक श्रीषले जिपको स्टेरिङ सम्हाल्ने भन्दा पनि आफू सुरक्षित हुने सोचे। १८ जना यात्रुलाई सडकबाट पल्टिँदै गरेको जिपमा छोडेर यमबहादुर फुत्त हाम्फाले।
पल्टिँदै गरेको जिपमा यात्रुहरू चिच्चाउँंदै थिए। दोस्रो सिटको ढोका छेऊमा बसेका केशरबहादुरले ढोका खोल्न खोजे। ढोका नखुलेपछि लात्तीले हाने र बाहिर हामफाले। सबैभन्दा अगाडिको सिटमा धारापानीकी कमला पौडेल दुई छोरीहरूका साथमा बसेकी थिइन्।
केशरबहादुरले आफू हाम फालेपछि अगाडिको ढोकाछेऊमा रहेका बालिका मीना पौडेल र कविता पौडेललाई पनि तानेर निकाले। तर, सँगै रहेकी उनीहरुकी आमालाई बचाउन सकेनन्।
आफू सवार गाडी दुर्घटनामा परी सँगै यात्रा गरेका ११ जनाको ज्यान जाँदा र अन्य ६ जना घाइते हुँदा पनि सामान्य चोटपटक समेत नलागेर सकुशल घर पुगेका केशरबहादुरलाई आफू सकुशल रहेकोमा जति खुसी लागेको छ, बालिकाबाहेक अरूलाई बचाउन नसकेकोमा धेरै दुःख लागेको छ।
केशरबहादुर अहिले घरमा बुवा-आमा, श्रीमती र नाबालक दुई छोराको साथमा घरमा छन्। सेतोपाटीसँगको टेलिफोन कुराकानीमा केशरबहादुरले भने, ‘यात्रुहरूले जिपमा खराबी आएको संकेत दिँदा चालकले हेलेचेक्र्याइँ नगरेको भए सायद यो दुर्घटना हुने थिएन।’