चेल्सी फरवार्ड इडेन हजार्ड उत्कृष्ट लयमा रहेको इङ्ल्यान्डका पूर्व स्ट्राइकर एलन सियररले बताएका छन्।
अहिले कमेन्टेटरको भूमिका निर्वाह गरिरहेका सियररले इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राती बर्नलेसँग भएको खेलपछि हजार्डको तारिफ गरे। बर्नलेलाई ३–० ले हराउने क्रममा बेल्जियमका २५ वर्षीय स्ट्राइकरले पहिलो गोल गरेका थिए। उनी मैदानको चारैतर्फ देखिए। हजार्डलाई गत वर्ष प्रिमियर लिगको उत्कृष्ट खेलाडीबाट सम्मान गरिएको थियो।
‘हामीले उसलाई दुई वर्षअगाडि देखेका थियौं,’ न्युक्यासलका पूर्व स्ट्राइकर सियररले भने,‘प्रशिक्षक आन्टोनियो कोन्टेले मननु गरेको हुनुपर्छ, उनी खेल जिताउने खेलाडी हुन्।’
सन् २०१४–१५ को सिजनमा चेल्सीलाई उपाधि दिलाउदा हजार्डले १३ गोल गरेका थिए। सन् २०१५–१६ को सिजनमा उनले सुरुवातका आधा खेलमा आफ्नो लय स्थापित गर्न सकेका थिएनन्। तर,पनि प्रशिक्षकले उनी माथि विश्वास गरेका थिए। चेल्सीले प्रिमियर लिगअन्तर्गत ३ खेलमा विजयका साथ ९ अंक बटुलेर शीर्षस्थानमा छ।
यस्तै म्यानचेस्टर युनाइटेडले पनि आफ्नो तीनवटै खेलको विजय यात्रालाई यथावत राखेको छ। ९ अंकसहित जोजे माउरिन्होको रेड डेभिल्स दोस्रो स्थानमा छ। शनिवार राती अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्डले इन्जुरी समयमा गरेको गोल नै म्यानचेस्टरको जितको आधार बन्यो।
१८ वर्षीय मार्कुसले अर्का स्टार स्ट्राइकर वायने रोनीले दिएको पासलाई गोलमा परिणत गरेपछि म्यानचेस्टरको खेमामा उत्साह थपिएको थियो। म्यानचेस्टरले हल सिटीलाई १–० ले पराजित गर्यो। रोनी, ज्लाटन इब्राहिमोभिक र पाउल पोग्बाको खतरनाक आक्रमण ९० मिनेटसम्म रोकेको हल सिटीले थप गरिएको २ मिनेटमा गोल खान पुग्यो।
म्यानचेस्टर युनाइटेड र चेल्सी अघिल्लो ३ खेलमा तीनवटैमा विजय प्राप्त गर्ने टोली हुन्। म्यानचेस्टर सिटीले पनि आफ्नो दुई प्रतिद्धन्द्धीको विजय यात्रालाई पछ्याउला कि न पछ्याउला त्यो आइतबार हुने वेष्ट हामविरूद्धको खेलपछि टुँगो लाग्नेछ। सिटी र हाम आज राती भिड्दैछन्। सिटीले अघिल्लो दुई खेलमै विजय पाएको छ।