इंग्लिस प्रिमियल लिग अन्तर्गत गएराति भएको खेलमा रंगशालामै ढलेका एभर्टनका एक समर्थकको ज्यान गएको छ। स्टोक सिटीसँगको खेल चलिरहेका बेला एभर्टनका एक समर्थकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
शनिबार राति एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलको दोस्रो हाफ चलिरहेका बेला ५१ वर्षिय एभर्टनका समर्थक रंगशालामै ढलेका थिए। उनलाई तत्कालै लिभरपुलको एक अस्पताल लगिए पनि अस्पताल पुर्याए लगतै उनको ज्यान गएको हो।
यो खेलमा एभर्टन १–० ले विजयी भयो।
एभर्टनले आफ्ना समर्थकको निधनले क्लब दुःखी भएको बताएको छ। यसैबीच ज्यान गुमाएका समर्थकको परिवारलाई सक्ने जति सहयोग गर्ने क्लबले जनाएको छ।