गृहमन्त्री विमलेन्द्र निधिले हालै गरेको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र मोदीलाई बुझाएको बारेमा संसदमा जानकारी दिएका छन्।
सरकारको साउन २७ गतेको निर्णय अनुसार आफूले भारतको भ्रमण गर्दा राष्ट्रपतिको तर्फबाट भारतीय राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न र विगत २७ वर्षदेखि नेपाल भ्रमण नभएको अवस्थालाई पुन सुचारु गर्न पत्र दिएको बताएका छन्।
आइतबार संसदमा बोल्दै गृहमन्त्री निधिले आफूले भारतीय विदेश मन्त्री, गृहमन्त्री विभिन्न दलका नेता जसले नेपालको राजनीतिक परिवर्तनमा सहयोग गरेका नेताहरुसँग भेट गरी सरकारको पहिलो प्राथमिकताका लागि सबैको सहमतिमा अगाडि बढ्ने कुरा गरेको बताए।
यसैगरी नेपालको संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचत गर्ने कुराको जानकारी समेत गराएको बताए।
नेपालमा भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न लेखेको पत्रदेखि भारतीय प्रधानमन्त्रीलाई विशेष दूतको रुपमा पठाएको पत्र हस्तान्तरण गरेकोसमेत उनले जानकारी गराए।
‘नयाँ सरकार गठन भएपश्चात दुई देशबीचको सम्बन्ध अझ विकास र सुधार गर्ने विषयमा भारतीय सरकारको पूर्ण समर्थन पाउने कुरा लेखिएको थियो,’ उनले भने,‘प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई नेपालको विकासमा भारतीय सहयोग तथा नेपाल भारतबीच भविश्यमा हुने उच्चतहको भ्रमण तथा दुई देशको सम्बन्ध विकासमा मैले विश्वास लिएको भन्ने उल्लेख छ।’
निधिले हालैका दिनमा भएको सडक दुर्घटनाको विषयमा सदनलाई जानकारी गराउँदै साउन ३१ गते काभ्रेको कात्तिके देउरालीमा भएको दुर्घटनामा २५ को घटनास्थलमा र एक जनाको उपचारमा निधन तथा २२ घाइते भएको र बैतडीमा तीन जनाको निधन भएको जानकारी गराए।
काभ्रेबाट सेनाको हेलिकप्टरबाट २८ जनाको उपचारका लागि ल्याइ उपचार गराइएको र कोही घाइते उपचारका लागि बन्चित नहुने विषयमा सरकार सचेत रहेको बताए।
यस्तै चितवन मुग्लिङ सडकमा भएको गाडी दुर्घटनामा २१ को घटनास्थल र १को उपचारका क्रममा निधन भएको र १७ जनाको चितवन मेडिकल कलेजमा भएको र हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताए।
केही समययता सडक दुर्घटना न्यूनीकरण गराउन गृहमन्त्रालयले सुरक्षा निकायलाई आवश्यक कदम चाल्न निर्देशन दिएको बताए। लामो दूरीका सवारी साधन चलाउन दुई चालकलाई अनिवार्य बनाउन निर्देशन दिएको बताए।
भूकम्पपीडितको राहत तथा पुनर्स्थापनाका लागि सरकारले निरन्तरता दिएको बताए।