पतिको दिर्घायु कामना गर्दै हिन्दु नारीहरूले मनाउने हरितालिका जित पर्व यसपाली भदौ १९ गते परेको छ। सन्तानको दिर्घायु कामना गर्दै तराईका महिला भने असोज ७ गते जितिया पर्वमा रमाउँछन्।
दुवै पर्व केही दिन टाढै छन् तर शनिबार राजधानीमा भेला भएका यी दुई समुदायका महिलाहरूले एकै ठाउँमा एकै पटक दुई पर्व मनाए। जनकपुरिया समाजद्वारा ‘तीज-जितिया दर तथा ओठगन कार्यक्रम’ मा दरका खुख्य परिकार खिर र जितियाको मडुवा खुवाइयो।
राजधानी बस्दै आएका जनकपुरका पहाडी तथा तराई मुलका महिला सहभागी कार्यक्रममा दुबैले आपसमा रमाउँदै नाचगान गरे। मैथिल समुदायका घुम्टो लगाएका महिलाहरूले तिजको रहर आयो बरि लै गीतमा पहाडी महिलासँगै कम्मर मर्काए।
पहाडी मुलका महिलाले पनि जितिया पर्वबारे जानकारी लिनुका साथै उक्त समयमा प्रसादीका रूपमा प्रयोग हुने ओठगनमा रमाए। पहाडी समुदायका अहिलाले तराईका महिलासँग मिलेर तस्बिर खिचेको दृश्य होस् वा आपसमा रमाउँदै कुराकानी गरेको माहौल, हेर्दै रहरलाग्दो थियो। आजको नागरिकमा खबर छापिएको छ।