सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कली कागज माग गरेको छ। २०६२/६३ सालपछि सरकारले कार्कीलाई सोधेको स्पष्टीकरणको सक्कल कागज पनि माग गरेको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए।
अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विरुद्धको रिट खारेज गर्ने आफ्नै फैसला पुनरावलोकन गर्न अनुमति दिने कि नदिने निर्णय गर्नुअघि सर्वोच्चका न्यायाधीशत्रय दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले सरकार र सामान्य प्रशासन मन्त्रालयसँग सक्कल कागज शुक्रबार माग गरेको हो।
'तत्कालीन मुख्य अधिकृत (मुख्य सचिव) श्री लोकमान सिंह कार्कीलाई स्पष्टीकरण पेस गर्ने सम्बन्धमा लेखिएको सामान्य प्रशासन मन्त्रालयको २०६३ चैत ११ को पत्रसहितको सक्कल फायल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट उनलाई आयोगको प्रमुख आयुक्त नियुक्त गर्नेसम्बन्धी निर्णयको सक्कल फायल झिकाई आएपछि कानुनबमोजिम गर्नू भन्ने बेहोराको आदेश छ,' प्रवक्ता सुवेदीले सेतोपाटीसँग भने।
सर्वोच्चको यो निर्णयले लोकमानको नियुक्तिमा कुनै अर्थ राख्छ त?
अख्तियारमा लोकमान नियुक्तिको सक्कल कागज प्राप्त भएपछि सर्वोच्चले तिनको अध्ययन गर्नेछ। यस आधारमा उनको नियुक्तिमाथि पुनरावलोकन हुनुपर्छ कि पर्दैन भन्ने निष्कर्षमा अदालत पुग्नेछ। पुनरावलोकन गर्नुपर्ने देखिए लोकमानको नियुक्ति संवैधानिक र कानुनसम्मत् हो वा होइन भन्नेमा फेरि अदालतमै बहस सुरु हुने अधिवक्ता ओमप्रकाश अर्यालले बताए।
लोकमान नियुक्तिको कानुनी आधारमाथि प्रश्न उठाउँदै रिट दायर गरेका अर्यालले नै हुन्। उनले लोकमानलाई नियुक्ति गर्नबाट रोकी पाउँ भन्दै र नियुक्ति भएको ४ दिनपछि संविधान विपरित भएकाले बदर गर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। २०७० वैशाख २९ गते दायर भएको र लोकमानको नियुक्तिअघि दायर रिटलाई सर्वोच्चले २०७१ असोज ८ गते खारेज गरेको थियो।
अर्यालले लोकमानसँग आयोगको प्रमुख हुन चाहिने उच्च नैतिक चरित्र नभएको, २०६३ सालको जनआन्दोलन दबाउन भूमिका खेलेको भन्दै रायमाझी आयोगले कारबाही सिफारिस गरेको लगायत कारण देखाएर नियुक्ति बदरको माग गरी रिट दिएका थिए।
न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले लोकमानको नियुक्ति कानुनसम्मत भएको भन्दै रिटलाई खारेज गर्ने फैसला गरेको अधिवक्ता अर्यालले बताए।
उनले उक्त फैसलामा चित्त नबुझेपछि पुनरावलोकन निम्ति निवेदन दिएका थिए। आयोगको प्रमुख हुन चाहिने अनुभव र योग्यता लोकमानसँग नभएको भन्ने नयाँ प्रमाण भेटिएको भन्दै उनले केही समयअघि पुनरावलोकन निवेदन दिएका हुन्।
सोही निवेदनको सुनुवाइमा सर्वोच्चले सक्कल कागज मागेको हो।