तुलसीपुर–३, गणेशपुरकी सरस्वती नेपालीको आम्दानी धेरै छैन। मजदुरी गरेर आएको दुई–चार पैसाले परिवार धान्नै मुस्किल छ। तैपनि उनी हरेक महिना आफ्नो आम्दानीको दशांश दानमा खर्चिन्छिन्। चाहे त्यसका लागि गाँसै कटाउन किन नपरोस्?
२०६४ सालमा इसाई धर्म अँगालेयता यो क्रम निरन्तर छ। 'प्रभु' लाई आफ्नो आम्दानी दिए मुक्ति मिल्ने विश्वास पालेकी सरस्वती आफूलाई सच्चा अनुयायी साबित गर्न कुनै कसर बाँकी राख्दिनन्। त्यति बेला उनी मानसिक रूपले बिरामी थिइन्। परिवारले चर्च पुर्याए। निको पनि भइन्। प्रभुले नै आफूलाई निको पारेको ठान्छिन् सरस्वती। र, त्यसयता निःस्वार्थ भावनाले त्यो 'ऋण' तिरिरहेकी छन्। आजको नागरिक दैनिकमा खबर छापिएको छ।
'प्रभुको नाममा दशांश बुझाउनैपर्छ, नत्र उहाँँले हामीमाथि गरेको पुण्यको गुण तिरिन्न,' उनले भनिन्। यसबाहेक चर्चमा चढाउनुपर्ने साप्ताहिक 'भेटी' त छँदै छ।
तर, प्रभुका नाममा बटुलिएको त्यो पैसा कहाँ, केमा खर्च हुन्छ, त्यो भने उनलाई थाहा छैन। उनी त बस्, हरेक महिना पैसा ठिक्क पारिदिन्छिन्, प्रभुका दूत झोली थाप्दै आउँछन्।
दाङमा अरू पनि यस्ता धेरै इसाई धर्मावलम्बी छन् जो आफ्नो आम्दानीको दशांश प्रभुलाई नछुट्ट्याई निदाउनै सक्दैनन्। धर्मगुरुले बाइबलमा 'प्रभु' ले दिएका उपदेश सुनाएपछि दान गर्न नैतिक दबाब नै परेको छ उनीहरूलाई। पैसा नसके कुखुरा, अन्डा दिएर भए पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेकै छन्।
धर्मगुरुको बाइबल–वाणी छ– 'तिम्रो आम्दानीको केही अंश म (प्रभु) लाई दिए अझै धेरै पुण्य मिल्छ, इमानदारिता देखाउनू, आम्दानी नलुकाउनू।' पुण्य दिलाउने सर्तमा आम्दानीको हिस्सा माग्ने उनीहरू यो कुरा बाहिर नजाओस् भन्ने पनि चाहन्छन्– 'दायाँ हातले दिएको देबे्र हातले नदेखोस्।'
र, प्रभुको यी 'लीला' दाङ जिल्लाभर व्याप्त छ। जिल्लाका इसाई धर्म प्रचारक भने अनुयायीबाट दशांश आम्दानी लिने प्रचलनलाई 'प्रभु र भक्तबीचको धार्मिक सम्झौता' बताउँछन्। 'प्रभुले भन्नुभएको छ, पैसा दिए अझ धेरै पुण्य मिल्छ,' जिल्लामा क्रिस्चियन धर्म सुरु गर्ने घोराहीस्थित प्रतापी चर्चका पुराना पास्टर नरबहादुर शाह भन्छन्, 'यो धर्ममा लाग्नेले आम्दानीको दस प्रतिशत प्रभुका नाममा दान गर्नुपर्ने नियम छ।'
प्रभुको पाठ गर्न चर्च (मण्डली) तयार पारिएको हुन्छ। यी प्रत्येक चर्च सञ्चालनका लागि व्यवस्थापन समिति बनाइएको हुन्छ। मण्डलीमा एक जना धर्मप्रचारक 'पास्टर' हुन्छन्। हरेक शनिबार मण्डलीमा पाठ गर्न आउने अनुयायीको भिडमा 'झोली' घुमाइन्छ। उनीहरू आफ्नो गच्छेअनुसार भेटी चढाउँछन्।
प्रत्येक महिनाको अन्त्यमा पनि उसै गरी झोली घुमाएर प्रतिव्यक्ति आम्दानीको १० भाग प्रभुका नाममा उठाइन्छ। 'यो काम महिनाको अन्तिममा हुन्छ,' पास्टर शाह भन्छन्।