एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहित ५ नेपाली खेलाडीले आजीवन प्रतिबन्धको दण्ड फुकुवाका लागि गरेको अपील खारेज गरेको छ।
एएफसीको अपील कमिटीको बिहिबार मलेसियामा बसेको पाँचौ बैठकले पूर्वकप्तान थापासहित उपकप्तान सन्दीप राई, गोलरक्षक अन्जन केसी, डिफेन्डर विकाससिंह क्षेत्री र पूर्वडिफेन्डर तथा प्रशिक्षक अन्जन केसीमाथि खेल–मिलेमतोको आरोपमा लगाएको आजीवन प्रतिबन्धको निर्णयलाई यथावत राख्ने फैसला गरेको हो।
यी खेलाडीमाथि सन् २००८ देखि २०१२ सम्मका केही खेलहरू म्याच फिक्सरसँग पैसा लिएर नेपालको खेल फिक्सिङ गर्ने गरेको आरोप लागेको थियो। जसका कारण एएफसीको अनुशासन कमिटीले गत डिसेम्बरर ५ मा आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उनीहरूलाई गत वर्ष नेपाल प्रहरीले म्याच फिक्सिङकै आरोपमा काठमाडौंबाट पक्राउ गरेको थियो।
उनीहरूविरूद्ध नेपाल प्रहरीले विशेष अदालतमा देशद्रोहको मुद्दा दायर गरेको छ। जसको फैसला भएको छैन्। ‘म्याच फिक्सिङ’ को आरोपमा आजीवन प्रतिबन्धमा परेका ५ जनै खेलाडीले फैसलामा पुनर्विचार गर्न अपील दर्ता गराएका थिए।