रियो ओलम्पिक समापन भएको ४ दिन बितिसकेको छ। धेरै जसो देशका सबै खेलाडी आ–आफ्नो घर फर्किसकेका छन्। तर, एकजना खेलाडी भने अझै ब्राजिलमै छन्। ती खेलाडी हुन्, इथोपियाका म्याराथन धावक फियेसा लिलेसा।
रियो ओलम्पिकमा म्याराथनतर्फ रजत जितेका लिलेसा त्यतिबेला चर्चामा आएका थिए, जब उनले फिनिसिङ लाइनमा पुगेपछि आफ्नै देशका शासकविरूद्ध रंगशालामा विरोध जनाएका थिए।
उनले आफ्नो दुवै हातलाई हतकडीमा जकडिएको जस्तै ‘क्रस’ बनाएर इथोपियाली सरकारको क्रुर तस्बिर अन्तर्राष्ट्रिय जगतलाई देखाउन खोजेका थिए।
उनले त्यतिबेलै देश फर्किएको खण्डमा सरकारले आफ्नो ज्यान लिने दाबी गरेका थिए। इथोपियाली टोली गत सोमबार नै देश फर्किसकेको छ। तर, त्यो टोलीमा लिलेसा फर्किएनन्।
इथोपियाली खेल अधिकारीले रियोमा पदक जितेका सबै खेलाडीलाई बधाई दिए पनि उनलाई दिएका थिएनन्। रियोमा इथोपियाले कूल ८ पदक जितेको थियो। २६ वर्षीय लिलेसाले अमेरिकी सरकारसँग राजनीतिक शरणार्थीको माग गरेको बताइएको छ।
उनका एजेन्टले राजनीतिक कारणले इथोपिया फर्किने सम्भावना नभएका कारण उनी ब्राजिलमै बसेको स्पष्ट पारेका छन्।