अमेरिकाका ४० भन्दा बढी सांसदको एक समूहले अन्तर्राष्ट्रिय बास्केटबल महासंघ (फिबा) लाई शिख खेलाडीलाई टाउकोमा पगडी बाँधेर बास्केटबल खेल्न पाउनुपर्ने माग गरेका छन्। फिबालाई हालै एउटा पत्र लेखेर उनीहरूले शिखलाई पगडी लगाएर खेल्न नदिने फिबाको नीति पुरानो तथा भेदभावपूर्ण भन्दै अनुमति दिन माग गरेका हुन्।
फिबाका अध्यक्ष हिरासियो मुरातोरीलाई सांसदले पठाइएको पत्रमा भनिएको छः ‘शिख खेलाडीले थुप्रै खेलमा पगडी पहिरेर खेलेका छन्। जसमा एउटा पनि यस्तो घटना छैन, पकडीका कारण कसैलाई चोट लागेको होस्। पगडीका कारण खेल रोकिएको घटना पनि छैन।’
अमेरिकी सांसद जो क्राली र भारतीयमूलका एमी बेराको अगुवाईमा मंगलबार पठाइएको पत्रमा ४० भन्दा बढी सांसदको हस्ताक्षर छ। यो पत्र पठाउनुको कारण स्पष्ट पार्दै एमीले भनेका छन्–‘हरेक चोटी फिबाको बैठकमा यो निर्णयलाई अस्विकृत गर्ने गरिएको छ। यसकारण शिख खेलाडी बास्केटबल खेल्नबाट प्रभावित बन्दै गइरहेका छन्।’
पत्रमा शिख खेलाडीलाई पगडी पहिरेर खेल्न नदिने निर्णय खेल–भावना विपरित भएको पनि बताइएको छ। फिबाको यो नीति सन् २०१४ मा पहिलो पल्ट सार्वजनिक भएको थियो, जब एसिया कपमा रेफ्रिले २ भारतीय खेलाडीलाई पगडी हटाएर नखेले बाहिर राख्ने निर्णय सुनाएका थिए।