रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी गौरिका सिंहले सन् २०२० को टोकियो ओलम्पिकमा देशका लागि पहिलो पदक जित्ने आशा व्यक्त गरेकी छिन्। उनले यसका लागि आफूले तुरुन्तै तयारी थाल्ने पनि बताएकी छिन्।
बिबिसीको नेपाली सेवालाई अन्तर्वार्ता दिने क्रममा गौरिकाले भनेकी छिन्,‘सन् २०२० वा त्यसपछि २०२४ मा पनि म ओलम्पिकका लागि छानिए भने अवश्य नेपालका लागि पदक जित्ने प्रयास गर्नेछु।’ १३ वर्षको उमेरमा रियो ओलम्पिकमा सहभागी बनेकी गौरिकाले सय मिटर ब्याकस्ट्रोक १ मिनेट शून्य ८ दशमलव ४५ सेकेन्डमा पूरा गरेकी थिइन्। २०२० को टोक्यो ओलम्पिकमा उनी पुनः सहभागी हुँदा उनको उमेर १७ वर्ष हुनेछ।
गौरिका हाल बेलायतको कोप्टल पौडी क्लबमा अभ्यास गर्छिन्। उनी त्यहीबाट सहभागी हुन ब्राजिल पुगेकी थिइन्। गौरिकाको नाममा नेपालमा अझ सात वटा राष्ट्रिय कीर्तिमान छ। गौरिका दुई वर्षकी हुँदा उनका चिकित्सक पिता पारस सिंह र पूर्व बोर्ड फस्र्ट आमा गरिमा राणा सपरिवार लन्डन लागेका थिए। गौरिकाले पौडीको गुण बेलायतमै सिकेकी हुन्।
उनी नेपालमा पौडीको राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा आफ्नो पढाई थाती राखेर काठमाडौं आउने गर्छिन्। उनको क्षमता र अढोटबाट नेपाली प्रशिक्षक पनि कायल छन्। पौडी प्रशिक्षक वाङ्देन लामा भन्छन्, ‘उनको क्षमताअनुसार उनले गर्न सक्छिन्। तर, यो ठूलो चुनौती हो र उनले धेरै नै मेहनत गर्नुपर्ने हुन्छ।’ पौडीमा १७ देखि २१ वर्षको उमेर पदकको लागि उपयुक्त मानिन्छ। गौरिकाले २०२४ को ओलम्पिक खेलिन भने उनको उमेर त्यतिबेला ठ्याक्क २१ वर्ष हुनेछ।
बिबिसीसँगको कुराकानीमा गौरिकाका पिता पारसले छोरीको पौडीमा उत्कृष्ट खेलाडी बन्ने अठोट पुरा गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन्। तर, उनले यसका लागि नेपाल सरकारसँग पनि दह्रो सहयोगको अपेक्षा राखेका छन्। ‘ओलम्पिकको लक्ष्य राखेर तयारी गर्दा हामीलाई नेपाल सरकारको दरिलो सहयोग चाहिन्छ,’ उनले भनेका छन्। रियोमा गौरिकाको उमेर मात्र होइन, पौडिने कलाको पनि खुब तारिफ भएको थियो। उनलाई धेरैले भविष्यको स्टार खेलाडीको रूपमा हेरेका छन्। प्रशिक्षक वाङ्देन भन्छन्,‘यही गतिमा जाने हो भने उनले राम्रो गर्न सक्छिन्।’
रियोमा सय मिटर ब्याकस्ट्रोकतर्फ आफ्नो हिट्समा सहभागी हुनुअघि गौरिकाको पौडी पोशाक च्यात्तिएको थियो। त्यही भएर उनले ओलम्पिकका लागि लगाउने भनेर ल्याएको पोशाक नलगाई पुरानै लगाएकी थिइन्। हतारमा पोशाक परिवर्तन गर्दा आफ्नै नङले उनको कपडामा सानो प्वाल परेको थियो। पछि उनले बेलायतस्थित आफ्नो अभ्यास प्रशिक्षकसँग टेलिफोनबाट कुरा गरेर पुरानै भए पनि अर्को पोशाक पहिरेकी थिइन्।
नेपालले सन् १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकदेखि नै ओलम्पिक प्रतियोगितामा भाग लिन थालेको हो। ओलम्पिक सहभागिताको ५२ वर्षे इतिहासमा नेपालले हालसम्म कुनै पदक जितेको छैन्। रियो ओलम्पिकदेखि गौरिका नेपाली खेलकुदमा यसरी उदाएकी छिन्, उनीबाट कमजोर खेलकुदको संरचना भएको हाम्रो देशले भविस्यमा पदकको आशा राखेको छ।