झुटो बोलेको आरोपमा अमेरिकाका स्टार पौडीबाज रायन लोच्टेले ४ वटा प्रायोजक गुमाउनु परेको छ। रियो ओलम्पिकमा आफूलाई कन्पट्टिमा पेस्तोल देखाएर लुटेको झुटो विवरण दिएको भन्दै पौडीको सामान बनाउने चर्चित कम्पनी स्पिडो र पोसाक कम्पनी राल्फ लाउरेनले रायनसँगको सम्झौता बीचैमा रद्ध गरेका छन्।
उनीसँगको सम्झौता रद्ध गर्ने अरु कम्पनीमा सौन्दर्य संशाधन कम्पनी साइनेरोन–क्यानडेला र जापानी म्याट्रेस कम्पनी एयरवेभ छन्। लोच्टेले ओलम्पिकमा १२ स्वर्ण जितेका छन्। उनले व्यवसायिक सम्झौताबाट मात्र लाखौं डलर कमाउँदै आएका थिए।
उनीसँग भएको ४ सम्झौतामध्ये स्पिडोको रकम सर्वाधिक थियो। उसले विज्ञप्ती नै सार्वजनिक गरेर लोच्टेको व्यवहार आफ्नो ब्रान्डको मूल्यमान्यता विपरित भएको स्पष्ट पारेको छ।
३२ वर्षीय लोच्टेले भने स्पिडोको निर्णय आफूले सम्मान गर्ने बताउँदै कम्पनीलाई धन्यवाद दिएका छन्।‘केही वर्षदेखि सुमधुर रहेको हाम्रो सम्बन्धका लागि म क्लबसँग आभार व्यक्त गर्दछु,’ लोच्टेले भनेका छन्।
सोमबार राती उनले एक अन्तर्वार्तामा आफूले गल्ती गरेको र यसबाट सिक्ने मौका पाएको बताएका छन्। ‘उनीहरू (ब्राजिल) ले उत्कृष्ट प्रतियोगिता आयोजना गरे। तर, मेरो केटाकेटीपना, भद्धा व्यवहारले उनीहरूको प्रतिष्ठामा आँच पुगेको छ,’ आफ्नो गल्तीप्रति क्षमा माग्दै लेच्टेले भनेका छन्।
बहुराष्ट्रिय कम्पनी राल्फ राउरेनले आफ्नो वेबसाइटबाट लोच्टेको केही तस्बिरसमेत हटाइसकेको छ। स्पिडोले लोच्टेको अनुबन्ध रकमबाट ५० हजार अमेरिकी डलर कटाएर ब्राजिलमा कार्यरत सेभ दि चिल्ड्रेनलाई उपलब्ध गराउने बताएको छ। लोच्टेसँगको अनुबन्धको रकम स्पिडोले हालसम्म सार्वजनिक गरेको छैन। तर, उनीसँगको १० वर्षे अनुबन्ध यसै वर्ष समाप्त हुँदै थियो।
अमेरिकाको चर्चित पत्रिका फोब्र्सले सन् २०१२ को लन्डन ओलम्पिकमा सार्वजनिक गरेको लोच्टेको आम्दानी त्यतिबेला २० लाख अमेरिकी डलर थियो।