नेपाल विद्युत प्राधिकरणले पूर्व बडामहारानी रत्न बसेको महेन्द्र मञ्जिल निवासमा अघिल्लो दिन काटेको बिजुली भोलिपल्ट जोडेको छ। लाइन काट्न निर्देशन दिने ऊर्जा मन्त्रालय आफैंले पत्राचार गरेपछि प्राधिकरणले सोमबार साँझ गएर बिजुली जोडेको हो।
रत्नका सहयोगी शम्भु अधिकारीका अनुसार साँझ ५ः२० मा प्राधिकरणका दुई र नारायणहिटी दरबार संग्रहालयको विद्युत शाखामा कार्यरत एक कर्मचारी आएर बिजुली जोडेका हुन्। महेन्द्र मञ्जिलको सयमिटर पूर्व श्री सदनछेऊ रहेको मिटर बक्सबाट आइतबार प्राधिकरण कर्मचारीले लाइन काटेका थिए।
‘उहाँहरू आउनुभयो, हिजो जस्तो थियो त्यस्तै बनाइदियौं है भनेर जानुभयो,’ अधिकारीले सेतोपाटीसँग भने, ‘पहिलेझैं बिजुली सुचारू अवस्थामा आएको छ।’
प्राधिकरणका अनुसार महेन्द्र मञ्जिलको बक्यौता रकम ऊर्जा मन्त्रालयले तिर्ने भएको छ। ‘अर्थ मन्त्रालयबाट बजेट निकासा हुनेवित्तिकै तिर्ने ऊर्जाको सहमति पत्र आएपछि हामीले बिजुली जोडेका हौं,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले भने।
३७ लाख ३१ हजार रुपैयाँ बक्यौता रकम रहेको महेन्द्र मञ्जिलमा ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशन भन्दै प्राधिकरणले बिजुलीको लाइन काटेको थियो।
यो पनि हेर्नुहोस् :