नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल र महिला संघको महाधिवेशन तोकिएकै समयमा गर्न दुई वटा निर्देशन समिति गठन गरेका छन्।
अनेकन विवाद बीच पार्टीको सबैभन्दा महत्वपूर्ण भातृ संगठन नेपाल विद्यार्थी संघको अधिवेशन सकिएको एक सातापछि देउवाले यस्तो निर्णय गरेका हुन्।
उनले लामो समयदेखि अधिवेशन गर्न नसकेका दुई भातृ संस्था नेपाल तरुण दल र नेपाल महिला संघको अधिवेशन सम्पन्न गर्न विधान अनुसार निर्देशन समिति समेत गठन गरेका छन्।
तरूण दलको अधिवेशन सम्पन्न गर्न विद्यमान तदर्थ समितिलाई आवश्यक सहयोग र निर्देशन दिन सक्ने गरी केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति गरिएको छ।
त्यसैगरी महिला संघको तदर्थ समितिलाई अधिवेशन सम्पन्न गर्न यथासक्य सहयोग तथा आवश्यक निर्देशन दिन सक्ने गरी केन्द्रीय समिति सदस्य एन पी साउदको संयोजकत्वमा पाँच सदस्यीय निर्देशन समिति गठन भएको छ।
तरुण दलको अधिवेशनका लागि गठिन निर्देशन समितिमा केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी र सरिता प्रसाइ सदस्य रहेका छन् भने महिला संघको निर्देशन समितिमा केन्द्रीय सदस्य नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदिप पौडेल सदस्य रहेका छन्।
पार्टीको निर्देशन अनुसार चार वर्षदेखि अधिवेशन गर्न नसकेको तरुण दल तदर्थ समितिले भदौ २३ देखि २५ गतेसम्म पोखरामा र महिला संघले भदौ २९ देखि ३० गते अधिवेशनको मिति तय गरेका छन्।
अधिवेशनको मिति तय गरेर पनि कतिपय जिल्लामा अधिवेशन मार्फत महाधिवेशन प्रतिनिधि चयन गर्न नसकिरहेका केन्द्रीय तदर्थ समितिलाई तोकिएकै समयमा अधिवेशन सम्पन्न गराउन दबाब स्वरुप सभापति देउवाले कडा निर्देशन सहितको निर्देशन समिति गठन गरेका हुन्।
पार्टीको १३ औं महाधिवेशन लगत्तै चैत पहिलो साता बसेको नयाँ कार्यसमितिको बैठकको पहिलो बैठक मार्फत सभापति देउवाले विगत चार वर्षदेखि अधिवेशन हुन नसकेको भातृसंस्थाको अधिवेशन ९ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका थिए।
विद्यार्थी संघको अधिवेशन साउन २३ गते शुरु भएर भदौ १ गते सम्पन्न भएको थियो। जसमा लामो समयदेखि पुरानो संस्थापन अर्थात कोइराला समूहको बर्चस्व समाप्त गर्दै सभापति देउवा निकट नयनसिंह महर नेतृत्वको प्यानल विजयी भएको थियो।
तर तरुण दल र महिला संघमा विगतदेखि नै देउवा निकटको नेतृत्व रहदै आएको छ।