नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य जाँचका लागि भदौ १० गते शुक्रबार सिंगापुर जाने भएका छन्।
देउवाका सहयोगी भानु देउवाका अनुसार, पेटको समस्याबाट पीडित देउवा सिंगापुरस्थित माउण्ट एलिजावेथ हस्पिटलमा स्वास्थ्य जाँचका लागि जान लागेका हुन्।
देउवाले सिंगापुरमा तीन वर्ष अघि खाना खाएपछि पेट दुख्ने तथा अपच हुने समस्याको उपचार गराएको भानुले बताए।
'एक वर्ष पछि उक्त हस्पिटलका चिकित्सकसँग नियमित चेकजाँचमा जानुपर्ने थियो। तर पछिल्लो २ वर्षमा समय मिलाउन नसक्दा जान सकिरहनु भएको थिएन,’ उनले भने।
यसपटक समय मिलाएर पाँच दिनका लागि श्रीमती आरजु देउवा राणाको साथमा सभापति देउवा सिंगापुर जान लागेका हुन्।
सिंगापुरमा रहँदा देउवा पत्नी आरजुको पनि स्वास्थ्य जाँच हुन सक्ने उनले बताए। कम्मरको हाड खिइएर समस्याग्रस्त भएकी आरजुको गत वैशाखमा दिल्लीस्थित एक अस्पतालमा हिप रिप्लेसमेण्ट गरी फर्किएकी थिइन्।
भदौ ८ गते बुधबार सिंगापुर जाने तयारीमा रहेका देउवा नयाँ सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन ढिलाइ भएका कारण भ्रमणको कार्यतालिका दुई दिन पर सार्न बाध्य भएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने पार्टी सदस्यहरुको मंगलबारसम्म टुंगो लगाई सम्भवत बुधबार उनीहरुको पद तथा गोपनियताको सपथ ग्रहण गराउने तयारीमा देउवा लागि परेका छन्।
सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनु अघि सभापति एवम् संसदीय दलका नेता समेत रहेका देउवाले सोमबार अपरान्ह संसदीय कार्यसमिति र मंगलबार बिहान संसदीय दलको बैठक राखेका छन्।
त्यसपछि उनले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ११ जना मन्त्री तथा केही राज्यमन्त्रीहरुको नाम वरिष्ट नेता रामचन्द्र पौडेलसँगको परामर्शमा टुंगो लगाउने छन्।