सर्वोच्च अदालतमा विभिन्न देशका लागि सिफारिस भएका राजदूतको नाम फिर्ता बोलाउने सरकारको निर्णय संविधान र कानुन विपरीत भएको भन्दै रिट निवेदन दायर गरिएको छ ।
म्यानमारका लागि सिफारिस राजदूत नीरञ्जनकुमार थापा, बङ्गलादेशका लागि सिफारिस राजदूत खगेन्द्र बस्न्यात र संयुक्त अरब इमिरेट्सका लागि सिफारिस राजदूत भरतबहादुर रायमाझीले संयुक्त रुपमा आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्।
यसअघि सिफारिस भएका चार राजदूतले पनि राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले तत्कालका लागि राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले सरकारलाई आगामी ८ गते छलफलका लागि बोलाएको छ ।
केपी ओली नेतृत्वको सरकारले विभिन्न देशका राजदूतका लागि सिफारिस गरेका व्यक्तिलाई संसदीय सुनुवाइ हुँदाहुँदै रोकेर वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । रासस