सभामुख ओनसरी घर्तीले मधेशवादी र आदिवासी जनजाति सम्बद्ध दलका असन्तुष्टि सम्बोधनका लागि संविधान संशोधन गर्न आवश्यक रहेको बताएकी छिन्।
सभामुख घर्तीले आइतबार सांसद्हरुको उपस्थितिमा काठमाडाैँमा गरिएको एक कार्यक्रममा अहिले सतहमा देखिएका संविधानसँग सम्बन्धित विवाद समाधानका लागि संशोधन आवश्यक रहेको बताएकी हुन्।
उनले संविधान संशोधन गरेर असन्तुष्टि सम्बोधन गरेपछि मात्र संविधानले परिकल्पना गरेका आर्थिक, सामाजिक र सांस्कृतिक विकास सम्भव हुने बताईन्। उनले संविधान संशोधनका लागि मुख्य राजनीतिक दलहरुले सहमति जुटाउनेमा आफू विश्वस्त रहेको समेत बताईन्।
सभामुख घर्तीले विकास आयोजनाको कार्यान्वयनमा समस्या रहेका कारण जनताले लाभ पाउन नसकेको भन्दै आयोजनाको काम प्रभावकारी बनाउनेतर्फ सरकार गम्भीर हुनुपर्ने बताईन्।
उनले योजनाको तर्जुमाभन्दा पनि कार्यान्वयन मुख्य समस्या भएकाले संसद् पनि विकास आयोजनालाई प्रभावकारी बनाउनेतर्फ केन्द्रीत रहेको बताईन्।