बार्सिलोनाले आफ्नो स्टार स्ट्राइकरद्वय लुइस सुआरेजको ह्याट्रिक र लिओनल मेसीको दुई गोलको सहयोगले यस वर्षको स्पेनिस लिगको सुरुवात विस्फोटक गरेको छ। घरेलु मैदानमा रियल बेटिसलाई स्वागत गरेको बार्सिलोनाले ६–२ गोलअन्तरले पहिलो खेल आनन्दले जित्यो।
पहिलो हाफको २१ मिनेटको खेल १–१ गोलको बराबरीमा रहेको अवस्थालाई उल्टाउँदै यी दुई स्टारले ६४ मिनेटमा ५ वटा गोल आफूबीच बाँडेका थिए। बार्सिलोनाका लागि ६ मिनेटमै टुरानले सिजनको पहिलो गोल गरेका थिए।
२१ मिनेटमा क्यास्ट्रोले गोल फर्काएपछि खेलमा रोमाञ्चकता भरिएको थियो। तर, मेसीले ३७ र सुआरेजले ४२ मिनेटमा गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमै ३–१ गोलको अग्रता बनाएको थियो। मध्यान्तरपछि ५६ मिनेटमा मेसीले दिएको पासमा सुआरेजले अर्को गोल थपे। मेसीले त्यसको दुई मिनेटपछि नै अर्को गोल गरेपछि बेटिसको अवस्था नाजुक बन्न पुगेको थियो।
सुआरेजले ८२ मिनेटमा पाएको फ्रिकिकको अवसरलाई गोलमा परिणत गरेपछि उनले सिजनको सुरुवात ह्याट्रिकबाट गरेका छन्। बेटिसका क्यास्ट्रोले ८२ मिनेटमा अर्को सान्त्वना गोल थपे। उनी अन्त्यमा बार्सिलोनालाई उसैको घरमा २ गोल गर्न सफल भएकोमा सन्तुष्ट देखिन्थे।