बिपीका नाति तथा कांग्रेस महामन्त्री शशांकका भतिजा सिद्धार्थ कोइराला तरुण दलको राजनीतिमा सक्रिय भएका छन्। नेपाली कांग्रेसको तेह्रौं राष्ट्रिय महाधिवेशनमा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि बनेका उनी सुनसरीकै क्षेत्र नम्बर ३ बाट तरुण दलको महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट सिद्धार्थ निर्विरोध प्रतिनिधि चयन भएका हुन्। तरुण दलको एक क्षेत्रमा क्षेत्रीय सभापति र एक प्रतिनिधिमात्र हुने पाउने व्यवस्था छ। क्षेत्र नम्बर ३ बाट ओम थापालगायतले प्रतिनिधि बन्ने आकांक्षा देखाएका थिए। अरुले दाबी छोडेपछि उनी निर्विरोध चयन भएका हुन्।
तरुण दलको महाधिवेशन यही भदौमा हुँदैछ। कोइराला तरुण दलको पदाधिकारीमा उठ्ने तयारीमा छन्। तर, कुन पदमा उठ्ने भन्ने उनले घोषणा गरेका छैनन्।