पार्टी एकता भाँडिएसँगै सहायक महामन्त्री हेमजङ गुरुङसहित राप्रपाका २ सय भन्दा बढी कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन्।
राप्रपाका सहायक महामन्त्री गुरुङसहित लमजुङका २ सय भन्दा बढी कार्यकर्ता शनिबार राप्रपा नेपालमा प्रवेश गरेका हुन् । राप्रपा नेपालले शनिबार पार्टी मुख्यालयमा एक कार्यक्रम गरेर राप्रपा छोडेकाहरुलाई खादा लगाएर स्वागत गर्दै सदस्यता प्रदान गरेको छ।
राप्रपा छोडेर राप्रपा नेपाल प्रवेश गर्नेहरुमा राप्रपाका केन्द्रीय सदस्य लालध्वज लामा, राप्रपाका लमजुङ जिल्ला अध्यक्ष बालचन्द्र श्रेष्ठ, पूर्वमन्त्री जगतबहादुर गुरुङ लगायत रहेका छन्।
राप्रपाका सहायक महामन्त्री हेमजङ गुरुङले देशभरका कार्यकर्ता पार्टी एकताको पक्षमा रहेपनि पार्टी अध्यक्ष पशुपति शमशेर जबराले दुई नेतालाई सरकारमा पठाएर कार्यकर्ताको भावना विपरित एकता भाँडेकाले २७ वर्ष लगानी गरेको पार्टी परित्याग गरेको बताए।
राप्रपाका नेता तथा कार्यकर्ताको समूह आफ्नो पार्टीमा प्रवेश गरेकामा हर्षित देखिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले केन्द्रीय तहमा पार्टी एकता सम्भव नभएपनि कार्यकर्ता तहमा एकता सुरु भएको बताए। उनले कार्यकर्ता तहमा सुरु भएको एकता प्रक्रियालाई जिल्ला जिल्लामा अभियानको रुपमा संचालन गर्ने र राप्रपा नेपाललाई देशभक्तहरुको बलियो शक्ति बनाउने दाबी गरे।
राप्रपाले सरकारमा दुई जना मन्त्री सहभागी गराएपछि राप्रपा नेपालले साउन २५ गते राप्रपासँगको एकताको अध्याय समाप्त भएको घोषणा गरेको थियो ।