आज २० अगस्ट, भारतमा नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेको दिन हो। नेपाली भाषा अहिले नेपालबाहेक भारत, भुटान, बर्मा आदि ठाउँमा नेपाली भाषा बोल्ने गरिन्छ।
अन्तर्राष्ट्रिय विद्युतीय सञ्चार गुगलले पनि नेपाली भाषालाई नेपाल र भारतमा गरी १७ करोड मानिसले बोल्ने भाषा मान्दै गुगलमा लिस्ट भएका ७९ भाषालाई नेपालीमा र नेपाली भाषालाई तिनै ७९ भाषामा अनुवाद गर्न सकिन्छ भन्ने कुरा जानकारी गराएको छ।
भारतका विभिन्न क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली भाषीहरूको बसोबास रहेको हुँदा भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई समावेश गरिएको छ। भारतमा बसोबास गर्ने गुरुङ, मगर, नेवार, लेप्चा, राई, लिम्बूजस्ता विभिन्न जातिले आफ्नो मातृभाषा छोडेर नेपाली भाषालाई नै मातृभाषाका रूपमा ग्रहण गरिसकेका छन्।
अहिले भारतमा नेपाली भाषा बोल्नसक्ने, बुझ्नसक्नेको सङ्ख्या नेपाली जातिको सङ्ख्याभन्दा धेरै धेरै रहेको जानकारी पाइन्छ।
भारतको पश्चिम बङ्गालअन्तर्गत पर्ने दार्जिलिङ, जलपाइगुडी, बागडुग्रा, डुवर्स आदि विभिन्न क्षेत्रमा नेपालीहरूको बाहुल्य रहेको छ। यसका अतिरिक्त आसाम, मेघालय, मणिपुर, नागाल्यान्ड, मिजोरम, सिक्किम, अरुणाचल आदि राज्यमा पनि नेपालीहरूको ठूलो उपस्थिति रहेको छ। उता देहरादुन, भाग्सु, कुमाउ, गढवाल, बनारस, दिल्ली आदि क्षेत्रमा पनि नेपालीहरू स्थायी रूपमा बसोबास गरिरहेका छन्। यसका साथै अहिले पनि शिक्षार्जन, कामको खोजी, व्यापार व्यवसाय गर्ने आदि उद्देश्यले भारत जाने नेपालीहरू थुप्रै रहेका छन्।
साहित्य अकादमीको कार्यकारी सभामा ५ फेब्रुअरी १९७५ मा नेपाली साहित्यलाई भारतीय साहित्यको रूपमा स्वीकार गरेको हो। यसपछि १९९२ अगस्ट २० मा भारतीय संसद्मा नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेपछिहरू नेपाली भाषाका लागि गरिएको ३६ वर्षको सङ्घर्ष समाप्त भएको हो। साहित्य अकादमी दिल्लीले नेपाली भाषालाई मुख्य भाषाका रूपमा मान्यता दिई विभिन्न प्रकारका साहित्यिक क्रियाकलापहरू गर्न थालेको देखिन्छ। अकादमीकै परियोजनामा विभिन्न भाषाबाट नेपाली भाषामा र नेपाली भाषाबाट विभिन्न भाषामा विविध प्रकारका साहित्यिक कृतिहरूको अनुवाद आदानप्रदान कार्यक्रमले निरन्तरता पाइरहेका छन्। डुवर्सका विभिन्न चिया बगान एवं बस्तीहरूका साथै रा“चीमा बसोबास गर्ने श्रमिकहरू, स्थानीय आदिवासीहरू, लेप्चा, भुटिया, मेचे, बङ्गाली, बिहारी, राजस्थानी प्रायः सबैले नेपाली भाषा बुझ्छन् र यसै भाषामा कुराकानी गर्न सक्छन्। त्यहा“का कतिपय आदिवासीलाई यसै भाषामा शिक्षा दिइने काम पनि गरिएको छ। पश्चिम डुवर्सको भुटानको सिमानामा टोटो नाम गरेको उपजाति बसोबास गर्दछन्, तिनीहरूलाई बङ्गला भाषाको माध्यमबाट पढाइन्छ र त्यसको नेपालीमा अनुवाद गरी बुझाइन्छ।
यसैगरी मेघालयमा विभिन्न जातिको सम्पर्क भाषाको रूपमा नेपाली भाषाको प्रयोग भएको पाइन्छ। मेघालयको राजधानी शिलाङमा मात्र नभई जोवाई, नस्टयाङ र अरू भित्री भागतिरका खसियाहरू नेपाली भाषा सहजतापूर्वक बोल्न सक्छन्। खसिया भाषामा नेपाली भाषाको रामै्र प्रभाव परेको पाइन्छ। गाडीखाना, आलुगोदाम, नया“बङ्गला, बडाबजार, पुलिसबजार, गोरालाइन, बत्तीबजार, अन्नक्षेत्र, हल्लनेपुल, महादेवखोलाजस्ता नेपाली नामकरण गरिएका विभिन्न ठाउ“हरूलाई अहिले पनि खसिया तथा अन्य जातिहरूले त्यही नाउँ उल्लेख गर्ने गरेको पाइन्छ। मेघालयको तुरामा बसोबास गर्ने गारो जातिका मानिसहरूले पनि ‘मैले जान्दैन’, ‘म खाको छैन’, ‘कोले दिन्छ’ भन्दै नेपाली बोल्ने गरेको पाइन्छ। यसरी भारतका विभिन्न क्षेत्रमा नेपाली भाषाले जनसम्पर्कको माध्यमका रूपमा पनि काम गरेको देखिन्छ।
भारतका विभिन्न क्षेत्रमा यस भाषाका माध्यमबाट पठनपाठन हुन्छ। अहिले बनारस हिन्दु विश्वविद्यालय, नर्थ बङ्गाल विश्वविद्यालय, गौहाटी विश्वविद्यालय, सिक्किम विश्वविद्यालय जस्ता विभिन्न विश्वविद्यालयमा नेपाली भाषा र साहित्यको एम.ए. स्तरीय अध्ययन–अध्यापन हुन्छ भने विद्यावारिधिस्तरीय अनुसन्धानात्मक क्रियाकलाप पनि हुन थालेका छन्। भारतका विभिन्न आकाशवाणी केन्द्रहरूले नेपाली भाषामा कार्यक्रमहरू सञ्चालन गरेर यस भाषाप्रति सम्मान प्रकट गरेका छन्।
भारतीय संसद् सचिवालयमा अनुवाद, नेसनल बुक ट्रस्टद्वारा नेपाली पुस्तकहरू प्रकाशन, अल इन्डिया रेडियो अनि दूरदर्शनबाट नेपाली कार्यक्रम प्रसारण, कतिपय आधिकारिक सूचनाहरूको नेपाली भाषामा प्रकाशनजस्ता कार्यहरू भइरहेछन्। साहित्य अकादमी, दिल्लीले नेपाली भाषाका साहित्यकारहरूलाई पुरस्कार प्रदान गर्ने, पुस्तक प्रकाशन गर्ने तथा नेपाली भाषाबाट अन्य भाषामा तथा अन्य भाषाबाट नेपाली भाषामा अनुवाद गराइरहेको छ। यसबाट धेरै लेखकहरू लाभान्वित भएका छन्। भारतीय भाषा संस्थान, मैसुरले पनि नेपाली भाषा र साहित्यप्रति धेरै कार्य गरिरहेको छ।
यसै संस्थाको प्रायोजनमा उत्तर–पूर्वी राज्यका अनेपाली भाषी शिक्षित युवा–युवतीहरूलाई नेपाली भाषा सिकाउने कार्यक्रम चलिरहेका छन्। प्रत्येक वर्ष १५ देखि २० जना सम्मले यस कार्यक्रममा उत्सुकताका साथ सहभागी जनाइरहेका छन्। यस संस्थामा नेपाली भाषा सिकेका कतिपय विद्यार्थीहरूले अन्य भाषाबाट नेपाली भाषामा र नेपाली भाषाबाट अन्य भाषामा विभिन्न साहित्यिक कृतिको अनुवाद गरेको जानकारी पनि पाइन्छ। यो नेपाली भाषा र साहित्यको निम्ति शुभलक्षण हो। यसले १ करोडभन्दा अधिक असमेली भाषी समुदायमा नेपाली साहित्य पु¥याउने सम्भावना रहेको छ। यसै संस्थाबाट भाषा सिकेर असमेली भाषी विद्यार्थीले कृष्ण धरावासीको शरणार्थी शीर्षक उपन्यास असमेली भाषामा अनुवाद गरेको जानकारी पाइन्छ।