भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत प्रचण्ड नेतृत्वको सरकारसँग नजिक रहेर काम गर्न तयार रहेको स्पष्ट पारेका छन्।
नयाँ दिल्लीमा रहेका पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री सिंहले भने, ‘भारत नेपालमा स्थिरता भएको हेर्न चाहन्छ, हामी नेपालमा विकास भएको हेर्न चाहान्छौं, त्यसको लागि हामी प्रचण्ड नेतृत्वको सरकारसँग निकट भएर काम गर्न तयार छौं।’ सिंहले भारत नेपालमा सँधै शान्ति, स्थायित्व र विकास भएको हेर्न चाहएको बताएका छन्।
उनले कांग्रेस-माओवादी केन्द्रबीच बनेको नयाँ गठबन्धनको सरकारले संविधान कार्यान्वयन गर्नेगरी काम गर्नेमा आफू विश्वस्त रहेको समेत स्पष्ट पारे। ‘प्रचण्ड नेतृत्वको सरकारले संविधान कार्यान्वयन गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।
सिंहले आफूहरू नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको उल्लेख गर्दै भने,‘यसबाट मात्रै विकास सुनिश्चित हुन्छ, हामी नेपालको विकासमा हरहमेसा साथ र सहयोग गर्न तयार छौं।’ सिंहले कांग्रेस र माओवादी केन्द्रबीच भएको सात बुँदे सहमति तथा आन्दोलनकारी दलहरूसँग भएका वार्ता प्रयासलाई आन्तरिक स्थिरताका लागि सकारात्मक कदम समेत भएको टिप्पणी गरेका छन्।
सिंहले सीमावर्ती क्षेत्रमा एक-आपसमा जनतालाई परेको अप्ठेराबारे दुबै देशका प्रमुख जिल्ला अधिकारीहरूको तहमा कुराकानी भइरहेको भन्दै प्रशंसा गरेका थिए। उनले आतंकवादको विरुद्धमा नेपाल र भारत दुबै देश मिलेर लड्नुपर्ने बताए।