मोरङको डाइनियाका बाढीपीडित घर फर्किएका छन्। गत साउन ९ गते मोरङको बक्राहा खोलामा आएको बाढी पसेर बस्ती डुबानमा परेपछि उनीहरु विस्थापित भएका कारण स्थानीय सडकमा त्रिपाल टाँगेर बसोबास गर्दै आएका थिए।
पानी सुकेपछि घरभित्र खोलाले हुलेको बालुवा आफैँ निकालेपछि बाढीपीडित सडकबाट घर फर्किएका हुन्। खोला पसेर घर बगाएका २६ घरपरिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समिति मोरङले प्रतिपरिवार रु १० हजार नगद र जनही एक जोर कपडा प्रदान गरेको छ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी मोरङले २६ घरपरिवारलाई खाना पकाउन आवश्यक पर्ने भाँडाकुँडा प्रदान गरिसकेको डाइनिया गाविसका सचिव पदम विनोद घिमिरेले जानकारी दिए।
सचिव घिमिरेका अनुसार सो गाविसमा बक्राखोलाले बाँध भत्काएर पस्दा २६ परिवारको घर बगाएको र करिब ३०० घरपरिवारलाई आंशिक क्षति भएको छ। ती ३०० घरपरिवारलाई घर मर्मत गर्ने खर्चबापत केही रकम राहत उपलब्ध गराउने तयारी भइरहेको छ। सो क्षेत्रका ३२६ बाढीपीडित सडकमा त्रिपाल टाँगेर बस्दै आएका थिए । उनीहरु आजदेखि आफ्नो पुरानै घरमा सरेका हुन्। रासस