भुटानी शरणार्थीहरूको पसिना जम्मा भएर बगेको रतुवा खोला। खोला भन्न लायक पानी छैन। सानो कुलो मात्र छ। पानीको आवाज कुलकुल सुनिँदैन। बगरभरि गिटी कुटेको कर्कश आवाज मात्र सुनिन्छ। मानूँ कि त्यही कर्कश आवाज नै बग्छ रतुवामा।
अरु शरणार्थीहरूजस्तै निचुले कान्छो पनि गिटी कुट्छ तर उसको हथौडाको आवाज अरुको भन्दा अलि भिन्न छ।
निचुले कान्छोकी स्वास्नी र छोरी बेपत्ता भए। कान्छो छोरो मर्यो, जेठोचाहिँ जेल पर्यो। ढुङ्गा कुट्दाकुट्दा निचुले कान्छो जिन्दगी जिउने कलामा ढुङ्गाजस्तै चाम्रो भइसकेको छ।
निचुले कान्छोको रासन कार्डमा भने नाम 'सुखबहादुर मगर' छ। सायद, सुखले पत्याएन उसलाई, सेक्टर वरपरका मान्छेहरूले उसलाई निचुले कान्छा भनेर बोलाउँछन्। भुटानको सर्बाङ निचुलाबाट आएकोले उसलाई निचुले भनिएको हो।
निचुले कान्छोको भुटान सरकारसँग केही दुश्मनी थिएन। न त नीतिमा बिमति नै थियो। गाउँका सबै दाजुभाइ, छरछिमेक गाउँ छोडेर हिँड्दा उसकी स्वास्नीले पनि कर गरी। नेपाल जाऊँ भनी। उसको परिवार पनि अरुजस्तै कुम्लोकुटुरो बोकेर नेपाल छिर्यो। भुटानदेखि नेपाल आउँदा निचुलेको दुई भाइ छोरा, एक छोरीसहित पाँचजनाको परिवार थियो तर अहिले ऊ नितान्त एक्लो भएको छ।
बेलडाँगी शिविरका शरणार्थीहरू सिप हुने र बल, बैंश भएकाहरू नजिकैको शहर दमक गएर सिकर्मी, डकर्मी अथवा ज्याला–मजदुरीमा काम गर्ने गर्छन्। दमक झर्न नसक्नेहरू नजिकैको रतुवा खोलामा बालुवा चाल्ने वा गिटी कुट्ने काम गरेर दुईचार पैसा आर्जन गर्ने गर्छन्। निचुले पनि रतुवामा गिटी कुट्नेहरूसितै मिसिएको छ। शरणार्थी भएदेखि उसले गरेको काम यही हो।
'शरणार्थी हुनु भनेको गिटी कुट्नु हो,' निचुले कान्छोले शरणार्थीको बारे यति नै बुझेको छ। गिटी कुट्ने काम उसलाई गाह्रो काम हो भन्ने पनि लाग्दैन। भुटान सर्बाङमा पनि उसको घर फेजु खोलाछेउमा थियो। त्यसो र उसलाई खोला मनपर्छ। उता भुटान हुँदा पनि उसको दिन खोला बगरमै बित्ने गर्थ्यो। भुटानमा भने माछा समातेर बित्थ्यो। यता भने ढुङ्गो समाएर। खासमा, निचुले कान्छोलाई फरक पनि लागेको केही छैन।
त्यो दिन पनि सदाझैँ निचुले कान्छो हातमा हथौडा बोकेर आफ्नी स्वास्नीको पछिपछि रतुवा बगर हिँड्यो। बगरछेउ पुग्दा पो उसलाई राति देखेको सपनाको याद भयो। प्रायः सपना नदेख्ने उसले आफ्नो सपनाको अर्थ पनि खोजेन। पानीबाहिर बगरमा छट्पटिरहेको सपनाको माछा सम्झेर भने ऊ मुसुक्क हाँस्यो। संयोगले ऊ हाँसेको उसकी स्वास्नीले देखिहाली।
कमै हाँस्ने आफ्नो लोग्ने त्यसरी हाँसेको देखेर स्वास्नीले उत्सुकताले सोधी, 'हाँसोले त तिमीलाई नि सुहाउने र छ। के पर्यो त्यस्तो?'
निचुले कान्छो हतपत बोल्दैन। दोहोर्याएर नसोधी कुनै जवाफ फर्काउँदैन।
'किन हाँसेको भनेको?'
निचुले कान्छोको ओठमा थोरै मुस्कान त अझै बाँकी थियो।
'यत्रो माछा भेटाको थेँ।' निचुले कान्छोले हातले नापेर स्वास्नीलाई देखाउँदै भन्यो।
'अनि खोई त माछा? घरमा ल्याएनौ। आधा भए पनि ल्याउनुपर्दैन। तिमी मान्छे त काम लाग्ने होइनौ। घरमा जहानबच्चा छन् भन्ने त सोच्नु। अनि, त्यत्रो माछाचाहि“ कसलाई दिइपठायौ त?' निचुले कान्छी रिसाउन थाली।
'सपनामा देखेको हौ।'
'के रे?'
'बगरमा पो फत्रेक–फत्रेक उफ्रिरा थियो। यत्रो माछा।' माछा सम्झेर यसपल्ट भने निचुले कान्छो खित्खित् हाँस्यो।
'थुक्का! सपनामा पो देखेको?' मजेत्रोले मुख छोपेर कान्छी पनि हाँसी।
बगरमा अरु शरणार्थीहरू गिटी कुट्दै थिए। थोत्रो प्लाष्टिकको छहारी बनाएर गिटी कुट्दै बसेका धेरै जसो शरणार्थीहरू उमेरले डाँडा काट्दै ल्याएकाहरू नै थिए। छेउमा सुब्बेनी काकी थिइन्। अलिक मास्तिर खेबाङ, मास्तिर दाबे बूढो। निचुले कान्छी पनि गिटी कुट्न बसी।
जम्मा पारेको ढुङ्गा थोरै मात्र बाँकी थियो। निचुले कान्छो डोको बोकेर ढुङ्गा बटुल्न गयो। छेउछाउ बगरमा ढुङ्गा सकिएको थियो। ढुङ्गा खोज्दै ऊ रतुवाको बगरैबगर जाँदा झण्डै चुलीको फेदीमा पुग्यो। चुलीको फेदीमा दुईचार घर देखिए। गिटीलाई चाहिने राम्रो ढुङ्गा देखेपछि खुशी हुँदै उसले ढुङ्गा टिपेर डोकोमा लाउन थाल्यो। ऊ एकसुरमा ढुङ्गा टिप्दै थियो। गाउँको अधबै“शे मान्छे हातमा नाङ्गो खुकुरी बोकेर उफ्रिँदै आयो– 'साले, भटाङ्गे चोर! मेरो बारीको ढुङ्गा टिप्छस्?'
निचुले कान्छोले वरपर पल्याकपुलुक हेर्यो। त्यहाँ अरु कोही थिएन। भुँइ हेर्यो। ऊ बारीमा होइन, खोला बगरमा थियो। ट्वाल्ल परेर त्यो मान्छे आउँदै गरेको हेरिबस्यो। उसलाई भाग्ने बुद्धि पनि आएन। गाउँको मान्छे आएर निचुलेको डोको तान्यो र खुकुरीले डोको काट्न थाल्यो। निचुलेले बिरोधमा एक शब्द बोलेन। प्रतिकार पनि गरेन, चुपचाप हेरिरह्यो मात्र। डोको काटेर रिसाउँदै गाउँको मान्छेले खुकुरी उज्याउँदै झम्टेपछि भने निचुलेको सातो गयो।
निचुले कान्छो एक्लै बगरमा दौडेको देखेर अरुहरूले छक्क पर्दै सोधे, 'ओए, निचुले के भो?'
निचुले कान्छो कतै नथामिइकन बुङ्सुङ्बुङ्सुङ् कुद्यो। स्याँस्याँ स्याँस्याँ गर्दै स्वास्नीको छेउ पुगेपछि मात्र थामियो।
'हना, यो मान्छे बौलायो कि के हो?' कान्छीले भनी।
निचुले कान्छोको सास बढेर केही बोल्न सकेन। बगरमा उत्तानो पल्ट्यो। धेरै वर्षपछि आज निचुले कान्छोले आकाश देख्यो। आकाशमा बादल कत्ला परेको थियो। सपनामा देखेको माछाको कत्लाको पो याद आयो।
'दिउँसै भूतले तर्सायो कि के हो कान्छा? गुटुङटुङ कुद्दै पो आयो त?' छेउमा गिटी कुट्दै बसेकी सुब्बेनी काकीले सोधिन्।
'डोको खोई?' कान्छीले सोधी।
'झ्याम कि झ्याम खुकुरीले काटिदियो,' स्याँस्याँ गर्दै बल गरेर निचुलेले भन्यो।
'कल्ले काट्यो?'
'मलाई पनि काट्न खोज्दै थियो, भागे“।'
'होइन कल्ले काट्यो?' कान्छीले ठूलो स्वर गरेर कराई।
'खोइ, को हो को हो? नचिनेको मान्छे।'
'बस्तीको मान्छे होला नि। साले हरामीहरू हामीलाई कम हेप्छन्। बगरको ढुङ्गासम्म टिप्न दिँदैन।' सुब्बेनी काकीले भनिन्।
'अब केमा ओसार्छौ ढुङ्गा, दौराको फेरोमा? मान्छे आको देखेपछि डोको बोकेर भाग्नुपर्दैन?' कान्छीले भनी।
सुतीसुती निचुलेले एकफेर पेटमा छाम्यो। रेडक्रसले बाँडेको गन्जी लगाएको थियो। आफ्नो आङ कन्याउन थाल्यो। स्वास्नी रिसाउँदा सधैं पनि उसको आङ चिलाउँछ।
'ए, यतै खन्दा पनि निस्किन्छ मुलाङ ढुङ्गा। छेउमै खन। आजकल सबैले यसै गर्छ।' सुब्बेनी काकीले सल्लाह दिइन्।
'खन्ने पनि हुनुपर्यो नि। लाटा पोइ हुनु जति गाह्रो केही छैन है। कुनदिन छोडेर जान्छु म। सासै भएन।'
'भो, फुटानी नगर। तइँले कान्छालाई छोडेर जान्छु भनेको मैले भुटानमै पनि सुनेको।' आफ्नो कुटे दिँदै सुब्बेनी काकीले भनिन्।
निचुले कान्छोले कुटे थाप्यो।
'साँच्चै होला काकी, छोराछोरीको मायाले मात्र बसेको।'
'नापिस्! होइन, तँ ऐना हेर्दैनस् कि? कस्ले लान्छ र जान्छस् हौ? सोझो छ भनेर आफ्नो बूढालाई धेर नहेप्।' सुब्बेनी काकीले माया मारी भनिन्।
निचुले कान्छी कालीनिली भई।
भुटानमा पनि निचुले कान्छोको छिमेकी थिइन् सुब्बेनी काकी। शरणार्थी क्याम्पमा पनि एउटै सेक्टरमा बस्छन्। सुब्बेनी काकीले निचुले कान्छोलाई बच्चैमा देखेकी हुन्।
निचुले कान्छो जन्मजात यस्तो थिएन। सानोमा बाठो र चलाख थियो। निचुले कान्छो चौध वर्षको छँदा एकचोटी साच्चै बिमार भयो। धामी झाँक्रीले खोलामा ढडिया रुँग्न जाँदा वनको देउताले कान्छोको सातो टिपेको खुट्याए। तिनले अनेक भाकल, धुपधुवाँर गरेर निचुलेको सातो त फर्र्काए तर कान्छो पहिलेको जस्तो भएन।
'हे भगुवान! अलिक परतिर खन् लाटा! गिटी पोखिन्छ।' सुब्बेनी काकीले निचुले कान्छोलाई हपारिन्।
निचुले कान्छो पाँच हातजस्तो परतिर सरेर खन्न थाल्यो। सुब्बेनी काकीले राम्रै सल्लाह दिइछिन्। खनेको ठाउँमा राम्रै ढुङ्गा निस्क्यो। एकैछिनमा उसले उरुङ ढुङ्गा थुपार्यो। ढुङ्गा निकाल्न खन्दै जाँदा एउटा अचम्मको हरियो ढुङ्गा भेट्यो। निकालेर एकछिन ओल्टाईपल्टाई हेर्यो तर के चिज हो भन्ने ठम्याउन सकेन।
'के हेरिबसेको होला फेरि? लाटाले पापा...' सुब्बेनी काकीले फेरि कराउलिन् भनेर कान्छीले वाक्य अधुरै छोडी।
निचुले कान्छोले हातको हरियो ढुङ्गा स्वास्नीतिर फाल्यो। लोग्नेले फालेको हरियो ढुङ्गा टिपेर स्वास्नीले पनि एकछिन राम्ररी हेरी।
'हिरा! हिरा! हिरा भेटेँ।'
'फेरि, के पो भन्छ? हिरा हिरा भन्छ। तेरो हिरा के भो?' सुब्बेनी काकीले कराइन्।
सुब्बेनी काकीलाई हातको हरियो ढुङ्गा देखाउँदै निचुले कान्छी उसै गरी चिच्याई, 'मैले हिरा भेटेँ।'
वरपरकाले पनि निचुलेकी स्वास्नीले हिरा भनेको सुने। गिटी कुट्न छाडेर सबैले निचुले कान्छीतिर हेरे। निचुले कान्छी पागलझैँ उफ्रिँदै, नाँच्दै कराउन थालिहाली।
'मैले हिरा भेटेँ। मैले हिरा भेटेँ।' निचुले कान्छी कराको परपरसम्म सुनियो।
सुब्बेनी काकीले छेउमा आएर नियालेर हरियो ढुङ्गा हेरिन्। हिरा हो भनेर पत्याइनन्।
'इस् ...हुन्छ तेरो हिरा खुप्पै! हाम्रो सुब्बाले हिरा देखेको रे कोइलाखाद जाँदा। हिरा त सेतो हुन्छ भन्थ्यो।' सुब्बेनी काकीले निचुले कान्छीलाई लोपार्दै भनिन्।
एकैछिनमा अरु पनि मान्छे जम्मा भए। सबैले अन्तिममा निष्कर्ष निकाले– 'हिरा नभए पनि यो ढुङ्गा धेरै दाममा बिक्री हुन्छ।'
मैदाने माइलाले अन्दाजमै प्वाक्कै बोल्यो, 'यो त करोडमा बिक्री हुन्छ।'
मैदाने माइलाको कुरा सुनेर सुब्बेनी काकीको मुख आँ...को आँ नै रह्यो।
सुब्बेनी काकीको घाँटी सुक्यो। खसखसे स्वरमा भनिन्, 'मैले नै हो त्यहाँ खन्न लाको। मेरो कुटेले खनेको। मलाई पनि अलिलि त दिन्छस् होला नि कान्छी।'
निचुले कान्छो भने सिँवालीको सियालमा आरामले बसेको थियो। जीवनमा भित्री कट्टु नलगाएको निचुले कान्छो यति आरामले बसेको थियो कि आफ्नो हाफ पेन्टको जाँघ फाटेको छ भन्ने पनि उसले बिर्सेको थिएछ। सुब्बेनी काकीले 'ओए कान्छा, सजिलो गरी बस्' भन्दा पो झसङ्ग भयो र ङिच्च हाँस्यो।
निचुले कान्छोले हरियो ढुङ्गा भेटेको कुरा एकैछिनमा क्याम्पभरि फैलियो। ढुङ्गा हेर्न आउनेहरूको रतुवा बगरमा बजारै लाग्यो।
'लु यसरी सप्पैलाई देखाउनु राम्रो हुँदैन। हराउने, चोरिने डर हुन्छ। घर लगेर लुकाउनु।' चिराङे बूढाले भन्यो।
यो कुरा निचुले कान्छीलाई मनासिब लाग्यो। उसले थरथर काम्दै ढुङ्गालाई आफ्नो मैलो मजेत्रोमा पोको पारी। पोल्टामा लुकाएर आफ्नो छाप्रोतिर लागी। निचुले कान्छी आफ्नो छाप्रो पुग्दासम्ममा उसको पछि मान्छेहरूको सानोसानो जुलुस नै तयार भयो। मात्र एउटा नारा थिएन— निचुले कान्छी हाय! हाय!
निचुले कान्छीको छाप्रोमा मान्छेहरू अटिनअटी भए। एकपल्ट मात्रै भए पनि ढुङ्गा हेर्ने मान्छेहरूको अनुरोधलाई बेवास्ता गर्दै छाप्रो पुगेलगतै कान्छीले भित्रबाट ढोका लगाई। रात नपरुन्जेलसम्म निचुले कान्छोको आँगनभरि मान्छेहरू थिए। यो समयलाई सुहाउँदो त्यहाँ एउटा पार्श्वगानाको मात्रै खाँचो थियो। जस्तो कि -
निचुले कान्छी, देखाइदेऊ हिरा, नलुकाऊ पोल्टामा
हेर्छु न आज, के मान्छौ लाज, तिम्रै हुँ सोल्टा म।
तर, सोल्टाहरूलाई निचुले कान्छीले ढोका नखोलेरै जिती।
...
निचुले कान्छोको दुईटै छोरा ऊजस्तै मन्द बुद्धिका थिए। जेठो छोरो अठार र कान्छो सोह्र वर्षका थिए। नाम थियो हल्दारे र बैदारे। हल्दारे दिनभर क्याम्पभरि बरालिन्थ्यो। उसको काम भनेको विशेष त क्याम्पमा हुने कार्यक्रमहरूमा केटाकेटी छेक्नु, साउण्ड सिस्टमछेउ आउन नदिनु, विहेभोजजस्तो कार्जेमा पुगेर निःशुल्क पानी बोक्ने काम सघाउनु आदि थियो। क्याम्पमा विहेभोज वा कुनै कार्यक्रम नभएको दिन भने हल्दारे चोकमा गएर क्यारेम खेल्नेहरूलाई हेरेरै दिन बिताउँथ्यो। कान्छो छोरा बैदारे भने घरको काम गर्थ्यो। घरको सरसफाइ बैदारे एक्लैले गर्थ्यो। घरमा झिंगा, माकुरा, साङ्ले देखिसहँदैनथ्यो। घरमा पानी भर्थ्यो। भाततिहुन पकाउँथ्यो तर मासु भने पकाउनुपर्दैनथ्यो। बैदारेले मासु पाक्ने वेलासम्ममा चाखेरै सिध्याउँथ्यो। त्यही भएर निचुले कान्छीले मासु पकाउनै दिन्नथी।
छोरी सक्कली चौध टेक्दै थिई। सक्कली तर साह्रै नक्कली थिई।
छोराछोरी सुतिसकेका थिए। निचुले कान्छो र कान्छी पनि सुत्नलाई तरखर गर्दै थिए। क्याम्पको चिनेको मान्छेसँग नचिनेको तन्नेरी मान्छे छाप्रोमा आए। क्याम्पको मान्छे आएकाले निचुले कान्छीले ढोका खोलिदिई।
'होइन कस्तो ढुङ्गा भेट्यौ अरे?' ढोकामा छिर्दाछिर्दै क्याम्पको मान्छेले सोध्यो।
'होइन, ए...' निचुले कान्छीले कुरा लुकाउन खोज्दा अक्मकिई।
सहयोगको आपेक्षाले कान्छीले निचुले कान्छोलाई हेरी। निचुले कान्छो झुल लगाएको आफ्नो ओछ्यानमा ढल्क्यो र खास्टो ओड्दै भित्तातिर मुख फर्काएर सुत्यो।
'हेर्नु मात्र आको हो भाउजू। खोसाएर लान्छजस्तो गर्नुभो बा।' क्याम्पको मान्छेले यति बोलिसक्दा नयाँ मान्छे मुढामा बसिसकेको थियो।
निचुले कान्छीले कुनै बहाना बनाउन पाइन। टिनको बाक्साबाट निकालेर हरियो ढुङ्गा देखाई। त्यो नयाँ मान्छेले ढुङ्गालाई ओल्टाईपल्टाई हेर्यो।
'हेर भाउजू! यो ढुङ्गा सकेसम्म छिट्टो बेचिहाल्नु। पुलिसले थाहा पायो भने ढुङ्गा पनि लान्छ। मान्छे पनि लान्छ।' ढुङ्गा फिर्ता दि“दै क्याम्पको मान्छेले भन्यो।
'चोर लाग्ने डर पनि हुन्छ। चोरले ढुङ्गा मात्र चोरे त हुन्थ्यो नि मान्छे पनि मार्छ।' नयाँ मान्छे बोल्यो।
नयाँ मान्छेको कुरा सुनेर कान्छीको लुङ्गी झण्डाझैँ फरफराउन थाल्यो।
'होस पुर्याउनु है भाउजू!' यसो भनेर दुवै उठेर गए।
निचुले कान्छीले हतपत ढोका बन्द गरी। ओछ्र्यानछेउमा आएर लोग्नेलाई हेरी। निचुले त अघि नै निदाइसकेको रहेछ। लोग्नेलाई उठाउन खोजी, सकिन। निचुले कान्छो सुतेपछि बोकेरै लैजाँदा पनि चाल पाउँदैन। छोराहरूलाई बोलाई। दुवै छोराले 'हँ'सम्म भनेनन्। छोरीलाई भने चलाइन। मुखमा जे आयो त्यही बोल्छे। छोरीसँग निचुले कान्छी पनि डराउँछे। ऊ मात्र होइन, सब परिवार नै डराउँछन्। दिनभर कता जान्छे? के गर्छे? परिवारका सदस्य कसैले सोधिखोजी गर्न मनाही छ। यो नियम स्वयम् सक्कलीले बनाएकी हो। झण्डै दुई वर्षअघिदेखि चलेको यो नियम यो मितिसम्म उलङ्घन गर्ने हिम्मत कसैले गरेका छैनन्।
निचुले कान्छी रातभर सुतिन। हातमा चुलेसी लिएर बाक्सा रुँगेरै बसी। उसको जीवनमा यति लामो रात यो नै पहिलो थियो।
रातभरको प्रार्थनाले बल्ल उज्यालो पायो। छाप्रोको टाटीबाट घाम छिरेर ढाड पोलेपछि भने बैदारे आङ तन्काउँदै उठ्यो। ढोका खुल्लै देख्यो। आमा र बैनी थिएनन्। नम्बर लेखेको जर्किन लडिरहेको थियो। हतारहतार उठेर टिनको बाक्सा खोलेर हेर्यो। हरियो ढुङ्गा पनि थिएन।
'आमा त हरियो ढुङ्गा चोरेर भागेजस्तो छ। ढुङ्गा पनि छैन। आमा पनि छैन।' बैदारेले ढुक्कले भन्यो।
निचुले कान्छोले नसुनेझैँ गर्यो। हल्दारे भने जुरुक्क उठेर चर्पी कुद्यो। पानीको नल खोलेजस्तो दरर पिसाब फेर्यो।
'हल्दारे! बिस्तारै पिसाब फेर। बच्चा तर्सेर उठ्यो। यो लाटालाई कति भन्नु खोई?' छिमेकी करायो।
हल्दारे पिसाब फेरेर बाहिरबाहिरै हि“ड्यो।
हल्दारे जहाँजहाँ पुग्यो, त्यहाँत्यहाँसम्म निचुले कान्छीले हरियो ढुङ्गा लिएर भागेको खबर पनि पुग्यो। खाना खाएर निचुले कान्छो बगर पुग्दा त्यहाँ पनि हरियो ढुङ्गा र उसकै कान्छीको कुरा हुँदै थियो।
'इः खा अब केरा। सुटुक्क मलाई राख्नु दिएको भा। तेरो बूढी पनि गयो। हिरा पनि गयो।' सुब्बेनी काकीले निचुले कान्छोलाई लोपार्दै भनिन्।
'आइमाईको जातै बैगुनी।' परतिरको गुरुङ कान्छाले भन्यो।
'जातै चाहिँ नभनी हाल है। दिन्छु मार्तोलले टाउकोमा अनि...' ठ्याउकेकी आमाले भनिन्।
'हाल्ने भएपछि किन टाउको ताक्नु? दानामै हान्दे न त्यस्को।' लाम्कानेकी स्वास्नीले भनिन्।
'हान्छौ झ्याक्ने हो दानामा। तिमेर्को ओखरपाङ्ग्रा हो र?' चिराङे बूढो रिसायो।
त्यहाँदेखि हुँदै परतिर के के कुरा भए? सुनिएन। निचुले कान्छो भने हिजोकै ठाउँमा ढुङ्गा खोतल्दै थियो। बिहानभरको खुला आकाश एकछिनमै धुम्मियो। गड्याङ्गुडुङसँगै छिटपुट पानी पर्न थाल्यो।
'म सधै' भन्छु नि? हेर, आकाश र आइमाईको भर हुँदैन। अहिलेसम्म टन्टनी घाम थियो, लु हेर त एकैछिनमा धुम्मिगो।' आकाशतिर हेर्दै गुरुङ कान्छाले नै भन्यो।
पानीको एक थोपा गुरुङ कान्छाको निधारमा झरेर प्वाट्टै फुट्यो।
'खुप्पै जान्ने तँ। लोग्नेमान्छे मात्रै भरको।' सुब्बेनी काकीले यति नै भन्न पाइन्। प्लाष्टिकको छहारीले नथाम्ने गरी पानी दर्कन थालिहाल्यो।
सबै मान्छेहरू आ–आफ्नो सामान च्यापेर क्याम्पतिर दौडिए। पानीको वास्ता नगरी निचुले कान्छो भने खाल्डोमा ढुङ्गा निकाल्दै थियो। सुब्बेनी काकीले कराइन्, 'ओए, कान्छा निस्की। ठूलै पानी पर्लाजस्तो छ। रतुवा खोलाको बेहोरा छैन, एकछिनमै पो भेलबाढी आउँछ। जाऊँ।'
सुब्बेनी काकी आफ्नो मजेत्रोले टाउको छोपेर खक्चुङखक्चुङ दगुरिन्। निचुले कान्छो खाल्डोबाट निस्किँदा बगरमा फाट्फुट मान्छे मात्र बाँकी थिए। आफ्नो दुवै हात काखी च्यापेर निचुले कान्छोले कुदेजस्तो गर्यो।
निचुले कान्छो छाप्रो पुग्दा पानीले निथ्रुक्क भिजिसकेको थियो। दिनभरजस्तो मुसलधारे पानी परिरह्यो। घरमा कोही थिएनन्। निचुले कान्छो दिनभर सिकुवामा चैतको ढिकीझैँ उत्तानो पल्टिरह्यो। बेलुकी एकछिन पानी पर्न रोकियो। बैदारे भिजेको मुसाजस्तो भएर आइपुग्यो। बैदारेले भाततिहुन बनायो। खाने वेलामा हल्दारे आइपुग्यो। बाउछोरा खाना खाएर सुते। त्यो रात निचुले कान्छी र सक्कली दुवै आएनन्।
बिहान आकाश खुलेको थियो। पानीले पखालिएर क्याम्प सफा देखियो। सदाकै समयमा निचुले कान्छो छाप्रोबाट निस्केर सरासर बगरतिर हिँड्यो। खोलाको डिलमा उभिएर रमिता हेर्नेहरूको घुइँचो थियो। रतुवा खोला उर्लेर बगेको थियो। रमितेहरूको अनुहारमा कुनै रमिताको रमाइलो थिएन। कति मान्छेको महिना दिनको मिहिनेत रतुवा खोलाले बगाएको थियो। निचुले कान्छो पनि रमिते भयो। आफ्नो गिटी कुट्ने ठाउँ ठम्याई हेर्यो। सिवाँलीको बोटसम्म देखेन। हप्तादिनको मिहिनेत रतुवामा बग्यो। रमिता हेर्नलायक अरु कुरा पनि थिए। जस्तो, खोलाले बगाइल्याएको काठको मुढा तान्नेहरूको लुछालुछ, तानातान। खोलामा पौडी खेलेर रमाइलो गर्ने बच्चाहरू। तर, त्यो रमाइलोमा रमितेहरूको मन भने रमाउन सक्ने
कुरै थिएन। थुप्रैले खोलालाई सरापे। कतिले ठेकेदारलाई तर निचुले कान्छोले कोही कसैलाई सरापेन, खोलाको स्वाभाव हो भन्नेजस्तो गरी।
निचुले कान्छो बाटोछेउको चौतारोमा गएर बस्यो। त्यहाँ अरु मान्छेहरू पनि बसेका थिए। खास रमितेहरू जसको गिटी–बालुवा रतुवाले बगाएको थिएन र ती जो आफूलाई बिचरा सम्भि्कँदैनन्, जो शहरमा गएर मजदुरी गर्छन्, ती मान्छेहरू चौतारोमा हाँसो–ठट्टा गर्दै बसेका थिए। निचुले कान्छोको उपस्थितिमा, हरियो ढुङ्गाको कुरा निस्किनु स्वाभाविक थियो, कुरा निस्कियो।
'ओ कान्छा दाइ, हरियो ढुङ्गा कत्रो थियो?' चौतारीको एक छेउमा बसेको अधबैंशे मान्छेले टाउको तन्काउँदै सोध्यो।
निचुले कान्छोकै छेउको मान्छेले हातले नापेर देखाउँदै सोध्यो, 'यत्रो थियो?'
निचुले कान्छोले आफ्नो पाखुरा हेर्यो। आफ्नो छेपारी हेर्यो। वरपर हरियो ढुङ्गा जत्रो नापको बस्तु खोज्यो। सडकबाट एउटा ढुङ्गा टिपेर ल्यायो र देखाउँदै भन्यो, 'यत्रै थियो।'
त्यति नै वेला एउटा रिक्सा किरिङरिङ घण्टी बजाउँदै
आयो। रिक्साको पछिपछि बच्चाहरू कुद्दै पछ्याउँदै थिए। सडकछेउ उभिएको एउटा मान्छे चिच्यायो, 'अरे हाउ, निचुले कान्छी पो आयो त।'
खोला हेरेर उभिएका सबै मान्छेले एकैपल्ट मुन्टो फर्काए। रिक्सामा बसेकी निचुले कान्छी ङिच्च हाँसी। त्यसरी हाँस्दा निचुले कान्छीको दाँतमा अड्केको हरियो सागको टुक्रा रिक्सावरिपरि झुमेका केटाकेटीले देखे। चिरीचयाँट्ट परेकी सक्कलीले काखमा नयाँ टिभी बोकिरहेकी थिई। निचुले कान्छी र सक्कलीलाई भन्दा टिभीमा मान्छेहरू बढी आकर्षित भएका थिए।
रिक्सा रोक्दै एकजनाले सोधिहाल्यो, 'कति इन्चीको?'
अर्कोले सोध्यो, 'कति पर्यो?'
एकपछि अर्को क–कसले के भन्यो? कसले के सोध्यो? निचुले कान्छीले एकैजनाको जवाफ दिन पाइन। उसलाई मान्छेको भिडमा एकछिन रमिता भइदिऊँ लागेको थियो तर रिक्सावालाले हतारो गर्यो। रिक्सावालाले घण्टी बजायो। मान्छेले बाटो छोडे। निचुले कान्छी मुस्कुराउँदै छाप्रोतिर लागी। केटाकेटीको हुल रिक्साको पछि लाग्यो।
'बेलडाँगी क्याम्प– वान, सेक्टर– इ'मा पहिलो चोटी निचुले कान्छीले टिभी ल्याई। निचुले कान्छोको छाप्रोमाथि एन्टिना ठडियो।
टिभी ल्याएपछि लगातार महिना दिनसम्म सक्कलीले छाप्रो छोडिन। पूरा महिना दिन हल्दारे पनि खूब ब्यस्त भयो। क्याम्पमा बिजुली थिएन। क्याम्पबाहिरबाट ब्याट्री चार्ज गरेर ल्याउनुपर्थ्यो। ब्याट्री चार्ज गरेर ल्याउने काम हल्दारेले पायो। दिनको दुई चोटीसम्म हल्दारे ब्याट्री बोकेर ओहोरदोहोर गर्थ्यो। टिभी त सक्कलीको कब्जामा थियो। ब्याट्री चार्ज गरेर हल्दारेले ल्याएपछि सक्कली टिभीअघि हतारै बस्थी र ब्याट्री सकिन्जेल एकोहोरिन्थी। बैदारेको काम सक्कलीले भनेबमोजिम एन्टिना घुमाउनु मात्रै थियो। निचुले कान्छीले छोरीको छेउ बसेर एकदुई पल्ट हेरी। निचुले कान्छो पहिलो दिनमै वाक्क भयो। बाक्साभित्र मान्छेहरू देखेर उसलाई आनै सास थुनिएजस्तो लाग्यो। वरपरका कमसेकम पनि छिमेकीहरू एकपल्ट टिभी हेर्न आए तर सुब्बेनी काकीले मुखै देखाइनन्। निचुले कान्छीलाई भने सुब्बेनी काकीले टिभी देखून् भन्ने भित्री इच्छा थियो।
सुब्बेनी काकी टिभी हेर्न नआएपछि निचुले कान्छीलाई औडाहा भयो। उसले आफै“ सुब्बेनी काकीको घर जाने विचार गरी। नयाँ किनेको रातो साडी लगाई। चोलो पुरानै थियो। रातै मजेत्रोले राम्ररी छोपी। सक्कलीको स्याण्डल लगाई। सुब्बेनी काकीको घरमा गुइँठा बालेकोले धुँवाधुँवा थियो। निचुले कान्छीले सुब्बेनी काकीछेउ पुगेर हाँस्दै भनी,'काकी म कस्ती देखिएँ?'
सुब्बेनी काकीले एकफेर निचुले कान्छीको शिरपुच्छर हेरिन् र मुख बिगार्दै भनिन्, 'ठ्याम्मै, निचुलेकै स्वास्नी।'
निचुले कान्छीको मुस्कान एकाएक गायब भयो।
'लुगा फेरेर के हुन्छ? भाग्य उही हो। तँ निचुलेकै स्वास्नी होस्।' सुब्बेनी काकी घरभित्र पसिन्।
निचुले कान्छी केही नबोली सरासर घर फर्किई। घर पुग्दा टिभी भुइँमा झारेर बैदारे कर्दले कोट्याउँदै थियो।
'के गरेको?' निचुले कान्छी कराई।
'टिभीको पछाडि दुलैदुलो रैछ। साङ्ले पसिगो नि।' कर्दले जथाभावी टिभी घोच्दै बैदारेले भन्यो।
'ए, लाटा! टिभी मर्छ। नगर।'
बैदारेले आमाको कुराको वास्ता गरेन। आधा दिन लगाएर साङ्ले मारेरै छोड्यो। बेलुकी सक्कली र हल्दारे ब्याट्री चार्ज गरेर घर आए। सदाझैँ सक्कली टिभीछेउ बसी। हल्दारेले ब्याट्री जोड्यो तर टिभी चलेन। घरको ठूलो मेकानिक हल्दारेले अनेक गर्दा पनि टिभी चलेन।
'छिटो गर् न हल्दारे!' सक्कली कराई।
'फिउज उड्यो। अब चल्दैन।' हल्दारेले भन्यो।
निचुले कान्छीले हरियो ढुङ्गा पचास हजारमा बेचेकी थिई। बीस हजार बाँकी राखेर पाएको तीस हजारमा सक्कलीको करले बाह्र हजार लाएर किनेको टिभी पनि बिग्रियो। बाँकी पैसाले सक्कलीले मन परेको लुगा कपडा र सेन्डिल किनी। आमाले साडी र खास्टो किनी। आमाछोरीले मःम, चाउमिन र कोकाकोला जीवनमै पहिलो खेप अघाउन्जेल खाए। पैसा त हो, सकियो।
निचुले कान्छीलाई टिभी बिग्रेर खासै फरक परेको छैन। फरक त सुब्बेनी काकीलाई देखाउनुमा छ। के गरी देखाउने? कि त जाऊँ पोइला काले रिक्सावालासँग? जान्छु भने त लान्छ होला। बाङ्गेमा जहिल्यै मुस्कुराउँदै कस्तरी हेर्छ बज्या? यति सोच्दा निचुले कान्छीको मुटुमा चीसो पस्यो।
'साले चोरले नक्कली टिभी भिडाएछ।' सक्कलीले रिमोट भुइँमा पछारी।
निचुले कान्छीको तन्द्रा टुट्यो। छोरीतिर हेरेर यति सोधी, 'हँ?'
'ओए, हल्दारे! म घर आउँदा यो टिभी चलेको हुनुपर्छ,
बुझिस्?' सक्कलीले दाजुलाई चोर औंला ठड्याउँदै आदेश दिई।
हल्दारेले आमालाई हेर्यो। आमाले बैदारेलाई हेर्यो। बैदारेले भुइँमा हेर्यो। कोही बोलेनन्। सक्कली घरबाट निस्केर हिँडी।
...
धेरै वर्षपछि निचुले कान्छीले मुख धोई। हल्दारे बिउँझेको थिएन। निचुले कान्छो खाटमा टुसुक्क बसेको थियो। बैदारे बिउँझे पनि ओछ्यान छोडेको थिएन। निचुले कान्छीले महिनौ“ नधोएको मैलो कपालमा तोरीको तेल दली। कपाल कोर्न पनि खोजी। कपालमा काङ्गियो सरेन। हातैले चिल्याएर पछाडि गुजुल्ठो पारी। नयाँ रातो साडी फेरी। चोलो उही पुरानो, एउटै मात्र थियो। रातो मजेत्रोले पुरानो मैलो चोलो छोपी। सक्कली पनि तयार भई। रातो लिपिस्टिक दलेर नक्कली बनी।
'ए बैदारे! हामी त गाको भुटान। बाउको ख्याल गर् है।'
त्यहीवेला छिमेकको नानी च्याँच्याँ गर्दै रुन थाल्यो। बैदारेले आङ तन्कायो। हुन्छ पनि भनेन, हुँदैन पनि भनेन।
निचुले कान्छीले लोग्नेलाई हेरी। निचुले कान्छो उसरी नै ओछ्यानमा टुसुक्क बसेको थियो।
'के भनिबस्छ सुड्डी? अबेला भइसक्यो?' सक्कलीले ढोका खोली।
निचुले कान्छीले जेब्रा झोला बोकी। सक्कलीले आफ्नो ब्याग काँधमा भिरी। हल्दारेले मुखबाट कम्बल हटाएर आमा र बैनीलाई हेर्यो। दुवै घरबाट निस्किए। झिसमिस उज्यालो भइसकेको थियो।
निचुले कान्छीका माइतिहरू भुटानमै थिए। हरियो ढुङ्गा बेचेको बाँकी बीस हजार लिनु जाँदा निचुले कान्छीको भुटानकै माइतिगाउँको मान्छेसँग अचानक भेट भयो। निचुले कान्छीले माइति नै भेटेझैँ गरी। माइतिको सम्झनामा तुरुक्क आँसु पनि झारी। त्यो मान्छेसँग लामो कुराकानी गरी। बाउआमा त ऊ भुटान हुँदै मरिसकेका थिए। दाजुभाउजूको बारे सोधी। भदाभदैनी कति भए? भनेर सोधी। कुराकानीमै साइनो पनि लगाए, फुपू–भदाको।
'कति सोध्नुहुन्छ फुपू? बरु भेटेर आउनु नि। म लगुँला।' अचानक भेटेको भदाले भन्यो।
निचुले कान्छीको भदा बडो भद्र देखिन्थ्यो। खैरो सुटमा टक्क टाई बाँधेको। कालो वर्णको, जुँगाले पनि सुहाएको। निचुले कान्छी, आले मगरनी काली नै थिई। फुपू–भदाको रङ्ग मिल्यो, मन पनि मिल्यो।
'कसरी जाने? हाम्लाई त जानै दिँदैनन्।' निचुले कान्छीले भनी।
'ल, फुपू पनि हो, कति मान्छे जाँदै आउँछन्। भुटान कति नै टाढाजस्तो। जानुहुन्छ भने त म पुर्याउछु नि हो।' काले भदाले भन्यो।
'जाऊँ हामी पनि मामा भेट्न,' सक्कलीले आमासँग भनी।
निचुले कान्छी मुसुक्क हाँसी। भुटान जाने कुरा सोच्दै उसको मन फुरुङ्ग भइहाल्यो।
'भुटान जाने कुरा पुलिसले सुन्यो भने समाउँछ है। जाने हो भने हल्ला नगरी जानू।' क्याम्पको मान्छेले तर्सायो।
निचुले कान्छीको मुस्कान एकैछिनमा गायब भयो।
'यो कुरा चाल पायो भने त मलाई नै पुलिस समाउँछ नि हो। क्या त मलाई केटी बेच्ने भन्छ नि हो।' काले भदाले भन्यो।
'जाने भा हल्ला नगरी जानू। म पनि कसैलाई सुनाउँदिनँ।' क्याम्पको मान्छेले भन्यो।
'अन्त जाने भए भोलि जाऊँ। नत्र म उता काकाकाकीलाई फुपू सन्चै छ भन्दिउँला।' भदाले भन्यो।
'दादासँगै भोलि नै जाऊँ न आमा!' सक्कलीले कर गरी।
निचुले कान्छी र सक्कली यसरी सुटुक्क भुटान जाने भएका थिए। हल्ला नगर्ने सल्लाह गरेर त्यो दिन सबैजना छुटेका थिए।
आफ्नो आमा र बैनी भुटान गएको कुरा हल्दारेले बिहानै सबैतिर फैलायो तर हल्दारेको हल्लाले केही पनि हल्लिएन।
...
वर्षा याम थियो। सिमसिम पानी परिरहेको थियो। रतुवामा भेलबाढी आएकाले निचुले कान्छो फुर्सदमा घरको सिकुवामा बसिरहेको थियो। निचुले कान्छी र सक्कली भुटान जाने भनेर हि“डेको चार महिना पुगिसकेको थियो। पुगे पुगेनन्? केही खबर थिएन। निचुले कान्छो र छोराहरूले खोजीनीति पनि गरेनन्। हल्दारेले टिभी बनाउन लगेको पनि चार महिना भइसकेको थियो। मेकानिकले तीन हजार माग्यो। हजारको नोट कस्तो हुन्छ भन्ने जीवनमा नदेखेको हल्दारे तब टिभी लिन कहिल्यै गएन।
बाङ्गेमा ब्याट्री बेचेको पैसाले बैदारेले हातमा घडी बाँधेर पानीमा भिज्दै घर आइपुग्यो। बैदारेले हातको घडी बाउलाई देखायो। निचुले कान्छोले हेर्यो मात्र, केही बोलेन। आफ्नो नाडीको घडी देखाउन बैदारे छिमेकीहरूको छाप्रोतिर पनि गयो। कसैले वास्ता गरेनन्। छिमेकी राई माइलाले भने बैदारेको नाडीमा घडी देखेर सोध्यो, 'कहाँ भेटिस् हौ घडी?'
राई माइलाले घडी देखेकोमा बैदारे खुशी भयो। हाँस्दै भन्यो, 'किने नि तीन सौमा।'
'चोरिस होला। तँसँग तीन सय काँबाट आयो?' राई माइलाले आँखा चिम्सो पार्दै भन्यो।
'चोरेको होइन, ब्याट्री बेचेको पैसा पो त।' बैदारेले सफाइ दिँदै भन्यो।
'कोनी है, चोरेको हो भने फिर्ता दे है केटा,' राई माइलाले भन्यो।
बैदारेलाई चित्त दुखेन। घडी बाँधेको हात हल्लाउँदै घर आयो। निचुले कान्छो उसरी नै बसिरहेको थियो। बैदारे बाउको छेउमा बस्यो।
'राम्रो छ है बाउ?' बैदारेले घडी देखाउँदै सोध्यो।
निचुले कान्छोले हेर्यो मात्र, केही बोलेन।
'राम्रो छ कि छैन?' बैदारेले अलि चर्को स्वरमा कराएर सोध्यो।
'हँ, राम्रो छ।' निचुले कान्छो आजको दिन पहिलो चोटी बोल्यो।
कहिलेकहीं त निचुले कान्छोले एक शब्द नबोली दिन जान्छ। निचुले कान्छी गएपछि त झन् बोलाउने मान्छे पनि छैन, बोल्नुपर्दैन पनि।
हल्दारे दिनभर सुतेर आङ तन्काउँदै छाप्रोभित्रबाट निस्क्यो। बैदारेको नाडीमा घडी देखेर सोध्यो, 'कति बज्यो?'
बैदारेले घडी हेर्यो।
'कति बज्यो भन्छु, किन बोल्दैन?' फेरि हल्दारेले सोध्यो।
'एकछिन न,' बैदारेले घोप्टिएर घडी हेर्दै भन्यो।
हल्दारेले एकछिन पर्ख्यो। बैदारे घडीमात्र हेहिरह्यो, बोलेन। हल्दारेलाई रिस उठ्यो। छानोमा सिउरेको बाउको गिटी कुट्ने मार्तोल निकालेर उज्यायो।
'किन भन्दैनस् दिऊँ?'
'भन्न खोज्छु। कुदेको कुदेकै गर्छ।'
'घडी लाएँ भन्दैमा ठूलो हुन्छस्?' हल्दारेले बैदारेको घुच्चुकमा मार्तोलले ड्याम्म हान्यो।
बैदारे बसेकै ठाउँमा छड्के परेर दोब्रिँदै घोप्टो परेर ढल्यो।
'हल्दारेले भाइ मार्यो!' छिमेकी राईनी माइली चिच्याइन्।
निचुले कान्छोले बैदारेलाई हातबाट तान्यो। बैदारे चलमल गरेन। बोकेर सिकुवामा राख्यो। छिमेकीहरू भेला भए। गुरुङले नाडी छामे। अधिकारी बाजेले सास हेर्यो।
'मान्छे त सिध्यो, छैन।' अधिकारी बाजेले भन्यो।
हल्दारे हातमा मार्तोल बोकेर लगलग काम्दै उभिएको थियो। राई माइलाले हल्दारेको छातीमा समाएर आँगनमा निकाल्यो र झापट हान्यो, 'जाँठा ज्यानमारा!'
'होइन मारेको, काका अन्जानमा...' हल्दारेले रुँदै भन्यो।
मान्छेहरूले हल्दारेलाई लात, घुसा हान्न थालिहाले। हल्दारे आँगनमा लड्यो। तब फुटबल नै बनाए सबैले।
'खबरदार! ज्यान मर्ला, त्यसो नगर,' गुरुङ करायो।
'त्यल्लाई पुलिसमा जिम्मा देऊ,' अधिकारी बाजेले भन्यो।
हल्दारेलाई राई माइलासहित एकहुल मान्छेले घिसार्दै पुलिस थाना पुर्याए। एकैछिनमा मान्छेको मेला लाग्यो।
'किन मारेको रे भाइलाई?' त्यहाँ आउने सबले सोधे। जवाफ दिने त्यहाँ कोही थिएन। जवाफ कोहीसँग थिएन। निचुले कान्छो आँखाभरि आँसु बनाएर कुनामा बसेको थियो। पुलिसको भ्यान आइपुग्यो। पुलिसले धेरै सोधपुछ केही गरेन। राईनी माइलीले आँखैले देखेको सबिस्तार बताइन्। पुलिसले बैदारेको लास र निचुले कान्छोसहित केही मान्छे भ्यानमा राखेर गयो। निचुले कान्छोलाई रुन सघाएजस्तो गरी दिनभरि–रातभरि झरी भने परिरह्यो।
...
बैदारे मर्यो। हल्दारे जेल पर्यो। स्वास्नी र छोरी हराएको पनि दश वर्ष भयो। अत्तोपत्तो छैन। धेरैको अनुमान छ कि भारतको कुनै कोठीमा सक्कली बेचिई होला। निचुले कान्छी कतै रेलवे स्टेसनमा भिख माग्दै बसेकी होली कि त मरिसकी? सुब्बेनी काकी, चिराङे, गुरुङ, राई माइला, अधिकारी बाजे सबै पुनर्वासमा कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही युरोप पुगे। 'क्याम्प– वानको सेक्टर– इ' हटिसक्यो। अहिले हात्ती आउने जङ्गल भएको छ। जङ्गलको बीचमा निचुले कान्छोको एक्लो छाप्रो बाँकी छ।
उसरी नै निचुले कान्छो अहिले पनि एक्लै रतुवामा गिटी कुट्न जान्छ तर सधैंसधैं एउटै डर बोकेर कि फेरि नभेटियोस् हरियो ढुङ्गा।
(फिनिक्स बुक्सबाट प्रकाशित सुब्बाको कथा संग्रह 'लाटाे पहाड'मा संकलित कथा।)