बुटवल कालिकानगरकी कमला न्यौपानेको हत्यामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुटवल १३ कालिकानगरमा घरभाडामा लिएर बस्दै आएकी ४० वर्षिय कमला न्यौपानेको गत साउन २७ गते साँझ हत्या भएको थियो।
प्रहरीले हत्यामा संलग्न भएको अभियोगमा बुटवल ११ ईट्टाभट्टीकी २७ वर्षिय सविता मल्ल र बुटवल १० शुख्खानगरका २७ वर्षिय किसन गुरुङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले पक्राउ परेकी सविता मल्लको साथबाट हत्या गरिएकी कमला न्यौपानेले लगाएका सुनका गरगहना समेत बरामद गरिएको जानकारी दिए।
खड्काले हत्यामा मल्ल र गुरूङसँगै अन्यको समेत संलग्नता रहेको हुनसक्ने भन्दै थप अनुसन्धान भईरहेको बताए। कमला र हत्या अभियोगमा पक्राउ परेकी सविता एक वर्ष पहिलेसम्म एउटै घरमा बस्दै आएको र एक वर्षदेखि ईट्टाभट्टीमा सरेको कमलाका पती नित्यानन्द न्यौपानेले बताए।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ गोरकट्टामा घर भई लामो समयदेखि परिवारसहित कालिकानगरमा घरभाडामा लिएर बस्दै आएकी कमलाको विद्युतीय मल्टीप्लगको तारले घाटी कसेर हत्या गरी उनी सुत्ने पलङभित्र शव भेटिएको थियो।