नेपालका दीपक थापाले रियो ओलम्पिक अन्तर्गत महिला ब्याडमिन्टनको फाइनल खेलमा लाइन जजको भूमिका निर्वाह गरेका छन्। बिहीबार केही समयअघि सम्पन्न भारतकी पिभी सिन्धु र स्पेनकी क्यारोलिना मारिनबीच रियोसेन्ट्रोको पवेलियन-४ मा भएको स्वर्णको प्रतिस्पर्धामा थापाले कोट अफिसियलको भूमिका निर्वाह गरेका हुन्।
यो स्पर्धा विश्व नम्बर १ खेलाडी क्यारोलिनाले २-१ सेटको आधारमा जितिन्। थापा ३ जना लाइन जजमध्ये फाइनलका लागि छानिएका थिए। ‘यो मेरो लागि मात्र होइन, समग्र देशका लागि गर्वको कुरा हो,’ ३९ वर्षीय थापाले रियोस्थित खेलस्थलबाट टेलिफोनमा सेतोपाटीलाई प्रतिक्रिया दिए।
उनी ओलम्पिकमा पहिलो ब्याडमिन्टन रेफ्रीको रुपमा नेपालबाट छानिएका थिए। अन्तर्राष्ट्रिय ब्याडमिन्टन संघले विगत चार वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले गरेको उत्कृष्ट निर्णयका आधारमा उनलाई रियो ओलम्पिकका लागि अफिसियलमा छनोट गरेको थियो।
यसपालि एसियाबाट छानिएका ८ अफिसियलमा उनी पनि छानिएका थिए। नेपाली ब्याडमिन्टन खेलाडीले अहिलेसम्म ओलम्पिकमा भाग लिन सकेका छैनन्। तर, अफिसियलको भूमिकामा रियोमा उनको उपस्थितिले नेपाली ब्याडमिन्टनमा तरङ्ग ल्याएको थियो।
‘सिन्धु र क्यारोलिनाजस्ता विश्वस्तरका खेलाडीबीचको तनावपूर्ण खेलमा लाइन जजको भूमिका निर्वाह गर्न पाएँ। म दंग छु,’ उनले भने, ‘यहाँ मैले खेल भावना कस्तो हुन्छ त्यो बुझ्ने अवसर पाएँ।’ थापाले ओलम्पिकको २१ खेलमा अफिसियलको भूमिका निर्वाह गरेका थिए। यही खेलमा उनले गरेको उत्कृष्ट निर्णयको आधारमा उनलाई फाइनलका लागि पनि छनोट गरिएको थियो।