पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेता लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा समूहबीच डेढ वर्ष जुहारी चलेको थियो। सूर्यबहादुर थापाको निधनपछि गत पुष १२ गते विवाद साम्य भएको थियो।
पार्टी हाँकिरहेका पशुपतिशमशेर राणा र अध्यक्ष लोकेन्द्रबहादुर चन्दबीच पार्टीको नेतृत्व चन्दले गर्ने सहमति भएपछि विवाद साम्य भएको थियो।
विवाद साम्य भएको सात महिना नबित्दै राप्रपामा फेरि राणा र चन्द समूहबीचको विवाद उत्कर्षमा पुगेको छ। राणाले आफ्नै निवासमा केन्द्रिय समितिको बैठक डाक्ने र आफूअनुकूल निर्णय गर्ने गरेको चन्द समूहका नेताहरुले बताएका छन्।
राप्रपा नेपालसँग पार्टी एकता गर्ने केन्द्रीय समितिको निर्णयलाई लत्याएको भन्दै चन्द समूह राणाप्रति आक्रोशित छ। गत साउन २५ गते राप्रपा नेपालसँग एकता गर्ने भन्दै राणा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका थिए। तर, अन्तिम समयमा आएर राणाले बेइमानी गरेको थापाले पत्रकार सम्मेलनमा नै बताएका थिए।
भइसकेको पार्टी एकतालाई बिथोलेको भन्दै चन्द समूहले जहाँबाट पार्टी एकता प्रक्रिया अवरुद्ध भएको त्यहीबाट सुरु गर्न दबाब दिइरहेका छन्। राप्रपाका नेता जयन्त चन्दले पशुपतिशमशेरलाई भेटेर पार्टी एकता प्रक्रिया नरोक्न आग्रह गरेको बताए।
‘९० प्रतिशत कार्यकर्ताको चाहाना पार्टी एकता गर्ने छ,’ नेता चन्दले भने, ‘उनीहरुमा नैराश्यता र विचलन आउन नदिन पार्टी एक गर्नुको विकल्प छैन।’
अध्यक्ष चन्दसहित नेताहरु प्रेमबहादुर भण्डारी, बुद्धिमान तामाङ, जयन्त चन्द, जगत गौचन, आङछिरिङ लामासहितका नेताले हस्ताक्षर गरेर फेरि राणालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन्। साथै उनीहरुले राणालाई पार्टी एकताका लागि अल्टिमेटम दिनका लागि पार्टीभित्र छलफल गरिरहेका छन्।
त्यसका लागि उनीहरुले केन्द्रीय सदस्य र जिल्ला नेताहरुको भेला गरिसकेका छन्। भेलामा अधिंकाश जिल्ला अध्यक्षहरुले सकभर राणा समूहलाई फकाउने र नमाने विद्रोह गरेर भए पनि पार्टी एकता गर्नुपर्ने बताएका थिए।
चन्द समूहले ९८ केन्द्रीय सदस्यमध्ये ५० जनाभन्दा बढी आफूहरुको पक्षमा रहेको दाबी गरेको छ भने राणा समूहले पनि आफूहरुसँग बहुमत रहेको बताएको छ। राणालाई दीपक बोहरा, विक्रम पाण्डे लगायतका नेताले साथ दिएका छन्।
चन्द समूहले एकता प्रक्रिया अघि बढाउन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि केही दिनमा भेट्दैछन्।
पार्टी एकतामा राणा अनिच्छुक देखिए तपाईँहरु विद्रोह गर्नुहुन्छ? भन्ने प्रश्नमा नेता जयन्त चन्दले भने, ‘हामी हाम्रो अभियानमा सफल हुन्छौं, पार्टी एकता गर्न राणाले पनि सहयोग गर्नु हुनेछ भन्ने विश्वास हामीले लिएका छौं। मान्नु भएन भने राजनीतिमा जे पनि हुन सक्छ।’
राणा समूहका नेता दीपक बोहराले भने राप्रपा नेपालसँग गर्ने भनिएको एकता रहर नभएर बाध्यता भएको बताएका छन्। ‘केन्द्रीय समितिले पार्टी एकता गर्ने भनेर निर्णय गरिसकेको छ, नेता बोहराले भने विधानमा देखिएको असन्तुष्टिलाई मिलाएर अघि बढ्नुपर्छ,’ उनले भने। आगामी महाधिवेशनसम्म अविश्वासलाई कसरी मिलाएर अघि बढ्ने, अन्तरिम विधान दुबै पक्षलाई कसरी सन्तुलित बनाउने भन्ने विषयमा टुंगोमा पुग्नुपर्ने उनले बताए।
साथै बोहराले आफूहरु सरकारमा गएर एकता प्रक्रिया अवरुद्ध भयो भन्नु अशोभनीय रहेको दाबी गरे। ‘हामीले सरकारको पक्षमा मतदान गरेका थियौं। राप्रपा नेपालले विपक्षमा गरेको थियो। सरकारमा समर्थन गरेपछि प्रचण्डले सहभागी हुन आग्रह गर्नुभयो, त्यही अनुसार पार्टीले नाम सिफारिस भएपछि हामी सरकारमा गएका हौं,’ नेता बोहराले भने, ‘दुबै पार्टी मिलेर सरकारबाट फिर्ता हुन आग्रह गरे हामी बाहिरिन्छौं, यो विवादको विषय होइन।’