प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारूपमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि नयाँ दिल्ली प्रस्थान गरेका छन्।
बिहीबार अपरान्ह भारतको चार दिने भ्रमणमा गएका उपप्रधानमन्त्री निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री दाहालको विशेष सन्देशसहितको पत्र हस्तान्तरण गर्ने छन्।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा मन्त्री निधिले भदौको अन्तिम साता वा असोजको पहिलो साताभित्र प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारीबारे कुराकानी गर्नेछन्।
नयाँ दिल्ली प्रस्थान गर्नुअघि पत्रकारसँग संक्षिप्त कुरा गर्दै निधिले भने, ‘संविधानसभा मार्फत नेपालमा नयाँ संविधान जारी भएपछि भारतसँग चिसिएको कुटनीतिक सम्बन्ध सुधार गरी दुई देशबीचको आपसी समझदारी र सहयोग विकासका लागि नेपाल सरकार र प्रधानमन्त्री दाहालको तर्फबाट विशेष पहल हुनेछ।’
खासगरी तराई मधेस केन्द्रीत दलहरुले संविधानका विविध विषयमा गम्भीर असन्तुष्टी जनाउँदै गरेको आन्दोलनलाई सहयोग पुग्नेगरी भारतीय पक्षले गरेको अघोषित नाकाबन्दीका कारण दुई देशबीच चिसिएको सम्बन्ध सुधारमा निधिको भ्रमण केन्द्रित हुनेछ।
त्यसका अतिरिक्त गत वैशाखमा सत्ता परिवर्तनको खेलमा भारतीय संलग्नता रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित गर्नेदेखि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएपछि दुई मुलुकबीच उत्पन्न असमझदारी हटाउन प्रधानमन्त्री दाहालले निधिलाई भारत पठाएका हुन्।
प्रस्थान गर्नुअघि निधिले प्रधानमन्त्री दाहाल र परराष्ट्र मन्त्रालयका अधिकारीसँग आफ्नो भ्रमणबारे परामर्श गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्री दाहालले निधिलाई भारतीय सरकार र त्यहाँका राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने विषयवस्तुबारे निर्देशन दिएका थिए।
त्यस अतिरिक्त बुधबार निधिले राष्ट्रपति भण्डारीसँग पनि आफ्नो भारत भ्रमणबारे परामर्श गरेका थिए। त्यसैगरी निधिले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र मधेसी मोर्चामा आबद्ध दलका नेतासँग पनि आफ्नो भ्रमणबारे छलफल गरेका थिए।
भारतीय सरकारका प्रतिनिधिदेखि भारतीय राजनीतिक दलका नेतासँगको भेटघाटका क्रममा निधिले नेपालको संविधान, लोकतान्त्रिकरण, शान्ति प्रक्रियाको अवस्थाबारे जानकारी गराउनुका साथै दुई देशबीचको राजनीतिक सम्बन्ध सुधार गरी नेपालको आर्थिक विकासमा भारतीय सहयोगको वातावरण निर्माणमा केन्द्रीत हुने स्रोतले बतायो।
त्यस अवसरमा निधिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालले आगामी दिनमा गर्न लागेको भारतको औपचारिक भ्रमणका क्रममा भारतसँग आपसी सहयोग र विकास सम्बन्धी मुद्दाको विषयमा पनि छलफल हुनेछ।
सरकारको पछिल्लो निर्णयअनुसार उत्तरी छिमेकी राष्ट्र चीनसँगको सम्बन्ध सुधार गर्न प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा अर्थमन्त्री कृष्णबहादुर महरा यसअघि नै चीन भ्रमणमा गएका छन्।
त्यसैगरी उनले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा पत्र पनि बुझाउने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।
बिहीबार अपरान्ह दिल्ली पुगे लगत्तै उपप्रधानमन्त्री निधि दिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्री भोजमा सहभागी हुनेछन्। त्यहाँ नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा सहयोग र समर्थन गर्दै आएको नेपाल सोलीड्यारीटी फोरमका नेतादेखि कंग्रेस आइका नेता करण सिंह, भारतीय जनता पार्टीका नेता सुनिल भदौरी, भगत सिंह कुसीयरी, राममाधव सिंह, डिपी त्रिपाठी र नेपालका लागि भारतीय पूर्व राजदूतको उपस्थिति हुनेछ।
शुक्रबारदेखि सोमबारसम्म भारतमा रहँदा निधिले भारतीय प्रधानमन्त्री मोदीका अतिरिक्त राष्ट्रपति प्रणव मुखर्जी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहका साथै सत्तारुढ दल भारतीय जनता पार्र्टीका अध्यक्ष अमित शाह, राममाधव सिंहसँग भेटवार्ता गर्नेछन्।
त्यसैगरी उनको भारतीय राष्ट्रिय कांग्रेसकी उपाध्याक्ष राहुल गान्धी वा नेता करण सिंहसँग पनि भेटवार्ता हुनेछ। कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग पनि भेटवार्ता गर्ने चाहना राखेका प्रधानमन्त्रीका विशेष दूत निधिले स्वास्थ्य उपचार गरी आराम गरिरहेकी गान्धीसँग भने भेट्ने सम्भावना न्यून रहेको स्रोतले बतायो।
सोमबार नेपाल फर्कनु पूर्व निधिले भारतीय जनतापार्टीका नेता राममाधव सिंह लगायतका नेतासँग भेटवार्ता गर्नेछन्।