गएको असारमा विद्यालयले तलबका लागि माग गरेको फारम। जागिर छाडेको १५ महिना बित्दासमेत शिक्षिका सम्झनाको नाममा विद्यालयले तलब मागेको छ। तस्बिर ः सेतोपाटी
सिन्धुपाल्चोकको लाँगर्चेस्थित लाँगर्चे माविकी गणित शिक्षिका सम्झना कार्कीले जागिर छोडेको एक वर्ष नाघ्यो तर उनको नाममा भने गएको असारसम्मको तलब जिल्ला शिक्षा कार्यालयले निकासा गरेको पाइएको छ।
वैशाख १२ र २९ को भुइँचालोपछि विद्यालय जेठ १८ गते मात्रै खुलेको थियो। सोही दिनदेखि लागू हुने गरि कार्कीले राजीनामा दिएकी थिइन्। राजीनामापछि निजगढ बस्दै आएकी उनको नाममा भने विद्यालयले तलब लिने गरेको पाइएको हो। अहिले पनि सम्झना निजगढमै छिन्।
आफूले राजीनामा दिएको वर्ष दिन बित्दासमेत विद्यालयले कुनै प्रतिक्रिया नदिएपछि उनलाई शंका लागेको थियो। ‘मैले राजीनामा दिएपछि के–के प्रक्रिया भयो मैले जानकारी पाइनँ,’ टेलिफोनमा कार्कीले भनिन्, ‘के भएको रहेछ भन्नेबारे शिक्षा कार्यालयमा जानकारी लिँदा मेरो नाममा तलब निकासा भइरहेको पाएँ।’
उनले आफूले जागिर छाडेको वर्ष दिन बित्दासमेत आफ्नो नाममा विद्यालयले तलब लिएको सुनेपछि आफू अचम्मित भएको प्रतिक्रिया दिइन्।
विद्यालयले उनको नाम माग फारममा भरेर तलब माग गर्ने गरेको छ। विद्यालयले पठाएको माग तलब माग फारममा गत आर्थिक वर्षको अन्त्यसम्म नाम छ। तलबका लागि माग गर्दा सुरूमा लेखापालले विद्यालयका कर्मचारीको तलबसहितको सबै विवरण भर्छन्। त्यहाँ कर्मचारीको नाम, पाउने तलब, पद, जन्ममिति लगायत सबै विवरण हुन्छ। त्यसपछि प्रधानाध्यापकले प्रमाणित गर्नुपर्छ।
स्रोत व्यक्तिले चेकजाँच गरेपछि उक्त फारम जिल्ला शिक्षा कार्यालय आइपुग्छ। यसरी सिधा हिसाबले हेर्ने हो भने बदमासीमा विद्यालयका लेखापाल, प्रअ, स्रोतव्यक्ति भीमबहादुर कार्कीसमेत मुछिन्छन्। विद्यालयले पठाएको विवरण चेकजाँच गर्ने स्रोत व्यक्ति हुन्। उनैलाई विद्यालयको बारेमा सबै जानकारी हुन्छ।
जिल्ला शिक्षामा रहेको २०७२ चैत देखि २०७३ असारसम्म विद्यालयले स्रोत व्यक्तिमार्फत पठाएको तलब माग फारममा सम्झनाको पनि नाम छ। त्यहाँ उल्लेख गरिएअनुसार सम्झनाले प्रतिमहिना १८ हजार ८ सय र महंगी भत्ता १ हजार थप गरी १९ हजार ८ सय प्रतिमहिना पाउनुपर्ने विवरण विद्यालयले पठाएको छ।
२०६७ पुस २२ गते नियुक्ति लिएर विद्यालय सेवामा लागेकी उनी विद्यालयमा अतिरिक्त र अनिवार्य गणित पढाउँथिन्। स्रोतअनुसार अभिभावक तथा विद्यार्थीका लागि ‘प्रिय’ उनलाई विद्यालयबाट राजीनामा दिन ‘प्रेसर’ आएको थियो। शारीरिक रुपमा अस्वस्थ रहेकी उनी दबाबपछि राजीनामा दिन बाध्य बनेकी थिइन्।
‘विद्यालयले केही जानकारी नदिएपछि के हुँदै छ होला भन्ने मेरो मनमा जिज्ञासा भयो,’ उनी भन्छिन्, ‘अनि आफैंले बुझ्न थालें, सबै थाहा भयो।’ कार्कीले आफ्नो स्थानमा कोही पनि नियुक्ति भएको छैन भन्ने बुझेपछि पक्कै तलब आएको हुनुपर्छ भनेर कार्यालयमा बुझेकी थिइन्।
शिक्षा कार्यालयले विद्यालयलाई हरेक चौमासिकमा तलब निकासा गर्ने गर्दछ। कार्कीले जागिर छाडेपछि विद्यालयले चारपटक भर्पाई बनाई कार्यालयलाई तलब माग गरेको हुन आउँछ। यसरी हेर्दा पटक–पटक विद्यालयले कीर्ते हस्ताक्षर गरि तलब लिएको देखिन्छ। कार्कीले विद्यालयबाट २०७२ जेठ १५ सम्मको तलब लिएकी छिन्।
अहिले उनको नाममा निकासा भएको रकम जिल्ला शिक्षा कार्यालयमा विद्यालयले फिर्ता गरिसकेको छ। १५ महिनासम्म गुपचुप भएको योबारे शिक्षिका कार्कीले खोजी गरेपछि मात्रै यथार्थ बाहिर आएको हो। आफूहरू फसिने डर भएपछि प्रधानाध्यापकले एकमुष्ट रकम बुझाएका थिए।
असार २४ गते उनले बैंकमा पैसा जम्मा गरेका छन्। अभिलेखअनुसार प्रधानाध्यापकले २६२८५९४० नम्बरको भौचरमार्फत २ लाख ९७ हजार रुपैयाँ बैकमा भुलबस तलब बढी आएको कारण देखाउँदै जम्मा गरेका थिए। कीर्ते गरेर तलब लिएको रकम फिर्ता गरे पनि ‘नियतबस् गल्ती’ गर्नेलाई खासै कारबाही भएको छैन।
तर, विद्यालयले भने समुदायकै व्यक्तिहरू बसेर विज्ञान र गणित विषयलाई उत्कृष्ट बनाउन सो रकम लिएको दाबी गरेको छ। कार्की गएपछि उनको स्थानमा दुई शिक्षक राखेको प्रधानाध्यापक राममणि धितालले जानकारी दिए। ‘दुई शिक्षकमध्ये एकले छाडेर जानुभयो,’ उनले टेलिफोनमा भने, ‘अर्काे एक जना शिक्षक कार्यरत हुनुहुन्छ।’
जिल्ला शिक्षा कार्यालयले विद्यालयका प्रधानाध्यापक राममणि धितालले बदमासी गरेको स्वीकार गरेको छ। शिक्षिकाले छाडे पनि उनको नाममा तलब माग गरेको जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारी बताउँछन्। ‘यो काम नियतबस् गरेको देखिन्छ,’ भण्डारीले भने, ‘दोष गरेअनुसार कारबाही हुनुपर्छ।’