नेपाल विद्यार्थी संघको महाधिवेशन हुने हल्ला फेरि एकपटक चलेको थियो। केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारीमा जुटेका ध्रुव गौतम दिनभर डुलेर घर पुगेका थिए।
२०७० साल भदौ महिनाको एक दिन थियो त्यो। भर्खर तीन वर्ष उमेर पुग्दै गरेकी छोरी प्रज्ञाले घर पुग्नेवित्तिकै गौतमलाई सोधिन्, ‘बाबा! तपाईं कहाँ पुगेर आउनुभएको?’
कलिली छोरीले त्यसरी सोधेपछि गौतमलाई जवाफ नफर्काइएकन धर थिएन।
‘नेविसंघको कार्यक्रमबाट आएको हो,’ गौतमले उत्तर दिए।
‘बाबा! नेविसंघ भनेको के हो?’
‘विद्यार्थी संगठन हो।’
भर्खर नर्सरीमा भर्ना भएकी छोरीले त्यसमाथि अर्को प्रश्न तेर्स्याइन्, ‘विद्यार्थी भनेको के हो?’
‘तिमीजस्तै स्कुल पढ्ने मान्छे।’
‘तपाईं विद्यार्थी हो र?’
तोतेतोते बोलीमा छोरीले अन्तिममा सोधेको प्रश्नले उनको मथिंगल हल्लायो। जवाफ सजिलो थिएन गौतमसँग।
एक छिन ट्वाल्ल परे।
३३ वर्षीय ध्रुवलाई छोरीको यही प्रश्न बिझ्यो। आफैंले आफैंमाथि प्रश्न गरे, ‘विद्यार्थी संगठनका नाममा हामीले विद्यार्थीहरुको भविष्यमाथि त खेलवाड गरिरहेका छैनौं?’
विद्यार्थी जीवनबाट एक किसिमले टाढा भइसकेको मान्छेले नेविसंघमा किन मरिहत्ते गर्नुजस्तो लाग्यो र ध्रुवले त्यतिखेरै निर्णय गरे, ‘म अब विद्यार्थी राजनीति गर्दिनँ। जो विद्यार्थी हुन् उनीहरूले नै गरून्।’
ध्रुवको बुझाइमा तीस वर्ष कटिसकेको व्यक्ति विद्यार्थी हुन सक्दैनथ्यो, तै पनि बल्लबल्ल महाधिवेशन आउन लागेको बेला एकपटक केन्द्रीय सदस्य उठौं न भन्ने लागेको थियो। तर, छोरीको प्रश्नपछि त्यो चाहना हरायो, निर्णय बदल भयो।
‘३२ वर्ष उमेर कटिसक्यो, के विद्यार्थी अब?,’ उनलाई यो पनि लाग्यो, ‘भाइहरूलाई सुम्पिने हो नेविसंघ।’
उनले तत्काल सुम्पन भने पाएनन्, महाधिवेशन प्रतिनिधि छानिसकेका थिए तर अर्को तीन वर्ष महाधिवेशन नै भएन।
आफू प्रतिनिधि छानिएको तीन वर्षपछि बल्ल महाधिवेशनका लागि काठमाडौं आएका उनले अहिले भइरहेका अनेकन झमेला, लफडा, गलफत्ती देखेर दिक्दारिएका छन्।
‘नेविसंघमा अब राजनीति गर्नुछैन, यो नै अन्तिम पटक हो,’ प्युठान बिजुवार गाविस वडा नम्बर ७ का ध्रुवले सेतोपाटीसँग भने, ‘नेविसंघभित्रको किचलोले आम विद्यार्थी र देशले अमन महसुस गरिरहेको बेला यहाँभित्र राजनीति गरेर कद घटनाउनु छैन।’
खासमा उनी यो महाधिवेशनमा साथीभाइका लागि मात्र आइदिएका रहेछन्। उनी आफैं नेविसंघको जिल्ला अध्यक्ष भएका बखत महाधिवेशन प्रतिनिधि छानिएका थिए। अध्यक्ष भएको व्यक्ति प्रतिनिधि नहुने कुरै थिएन। त्यसमाथि आफ्नै गाउँठाउँका भाइ रमेश उपाध्यायले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
‘उनकै लागि भए पनि म आएँ,’ ध्रुव भन्छन्, ‘नेविसंघ एक हिसाबले मैले त्यागिसकेको छु। महाधिवेशन प्रतिनिधिको सूचीमा अगाडि नै नाम भएकाले पनि आउन बाध्य भएँ।’
ध्रुवका अनुसार देश र समाजले विद्यार्थी जगतबाट परिवर्तन खोजिरहेका बेला जो विद्यार्थी नै होइनन्, उनीहरू नै अहिले आपसमा भिडिरहेका छन्। जो वास्तविक विद्यार्थी छन्, उनीहरू छाँयामै छन्। यस अवस्थामा गुज्रिरहेको नेविसंघ आम विद्यार्थी भावना र उनीहरूको प्रगतिमा पथप्रदर्शक बन्न सक्दैन, बाधक चाहिँ अवश्य बन्छ।
‘अहिले विद्यार्थी संगठनको पदाधिकारी उठिरहेका जति पनि व्यक्ति छन्, उनीहरू कोही पनि विद्यार्थी होइनन् र उनीहरूबाट विद्यार्थी राजनीति सम्भव पनि छैन,’ ध्रुव भन्छन्।
ध्रुवको बुझाइमा यस्तो उमेर समूहबाट चुनिने नेतृत्वले कर्ममा विश्वास गर्दैनन्, यदि कसैले नेविसंघलाई राम्रो बनाउँछु भनेको छ यो उमेर समूहको मान्छेले भने त्यो प्रपोगान्डामात्रै हो।
ध्रुवका अनुसार अहिले पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैमा भागबन्डाको खेल छ। उनीहरूको इच्छा, चाहना जे भने पनि भागबन्डा हो। यसैमा डुलेका छन् उनीहरू। ‘विद्यार्थी राजनीतिबाट उदासीन छन्, उनीहरू विद्यार्थी संगठनको रुपान्तरण चाहँदैनन्,’ ध्रुवले यो पनि भने।
‘आफ्नो भजन गाएर हिँड्नेलाई कसरी चुनाव जिताउने त्यो मात्र उद्धेश्य छ उनीहरूको,’ ध्रुव भन्छन्, ‘यहाँ श्रमको मूल्यांकन छैन, वास्तविक विद्यार्थीभन्दा आफूलाई साथ सहयोग दिरहेका ४०-५० वर्ष उमेर हाराहारीकालाई भिडाएका छन्।’
उनी आफूले पनि नेविसंघमा ३० वर्ष उमेरहद कायम गर्नुपर्छ भनेर लबिङ गरेका थिए रे। ‘मैले तीन चार जना पूर्वकेन्द्रीय अध्यक्षलाई भेटेर पनि यो कुरा भनेको थिएँ,’ उनले भने, ‘जे होस् ३२ वर्ष नै भयो भने पनि धेरै राम्रो हुन्छ, तर यो कार्यान्वयन होला भन्नेमा चाहिँ शंका लाग्छ।’
ध्रुवका अनुसार अहिले नेविसंघको महाधिवेशन स्वाभिमानी र हनुमानबीचको फरकमा छ। ९० प्रतिशत मान्छे हनुमान छन्। ग्याङ फाइट गर्ने, टोले गुन्डा, मान्छे काट्ने, कालोमोसो दल्ने व्यक्ति विद्यार्थी संगठनका प्रतिनिधि भएर महाधिवेशन आइपुगेको उनी बताउँछन्।
‘यस्ता प्रतिनिधिले चुनेको व्यक्तिले विद्यार्थीको पक्षमा बोल्न सक्दैन,विद्यार्थी हकहितको काम गर्न सक्दैन,’ ध्रुव भन्छन्, ‘फटाहाहरूले नेविसंघमा संरक्षण खोजेका छन्, त्यसैको परिणाम पनि हो अहिले यसरी भाँडभैलो हुनुमा।’
त्यसै मन दिग्दारीएका ध्रुवले पार्टी कार्यालयमा पुलिसको लाठी खाएपछि उनी झन् खिन्न भएका छन् र थोरै आक्रोशित पनि।
सोमबार नेपाली कांग्रेस पार्टी कार्यालय आसपास विद्यार्थी जति थिए, प्रहरी पनि उती नै संख्यामा थियो। प्रहरी र विद्यार्थीबीच ठेलमठेल भइरहेको थियो।
मनोनयन गर्न छिर्नेहरूलाई प्रहरीले हुलिया स्पष्ट खुल्ने परिचयपत्र हेरेर निकै कडाइसाथ गेटबाट छिराइरहेको थियो। गेटमा प्रहरी, बाहिर प्रहरी,पार्टी कार्यालय अगाडिको बाटोमा प्रहरी, गल्लीमा प्रहरी। जताततै ढालडन्डा बोकेको प्रहरीको त्यो उपस्थितिले यो कुनै हुलदंगा क्षेत्र हो कि भन्ने संकेत गर्थ्यो।
विद्यार्थी छिर्न खोज्थे, प्रहरीले ठेलेर हुत्याइदिन्थ्यो। सुरक्षाकर्मीको कसिलो घेराबाट नेपाल विद्यार्थी संघको निर्वाचन मनोनयन दर्ताका लागि उम्मेदवार छिरिरहेका थिए।
घम्साघम्सीका बीच आफ्नो मतदाता परिचयपत्र लिन गएका ध्रुबले प्रहरीको लाठी खाए।
प्रतिनिधि परिचयपत्र लिन सोमबार बिहान साढे १० बजे गएका रहेछन्। रोल्पा जिल्लाबाट केन्द्रीय सदस्यका उम्मेदवार अमित थापा त आफैं परिचयपत्र बाँड्दै रहेछन्। यो देख्दा नेविसंघको महाधिवेशन कसरी भइरहेको छ थप स्पष्ट भयो।
परिचयपत्र लिन जाने क्रममा उनले यहीबेला प्रहरीको कुटाइ खाएका थिए।‘नाम थाहा छैन, तर एक जना डिएसपीले यति फोहोरी शब्द उच्चाहरण गरेर मलाई गाली गरे कि, जन्तुसम्म भने। त्यसमाथि दुई तीन बुट पनि बर्साएपछि म यसरी बसेको,’ उनी भन्छन्, ‘खासमा यो बसाइ नेविसंघको महाधिवेशन कसरी हुँदैछ भनेर देखाउन पनि हो।’
यसरी आफ्नै विद्यार्थी संगठनको चुनावमा, नेपाली कांग्रेसकै पार्टी अफिसमा, नेविसंघकै पूर्वसभापति गृहमन्त्री भएको बेला पुलिसको लाठी खाएपछि उनी आफ्नै तरिकाको प्रतिरोध आन्दोलनमा छन्।
सोमबार नेविसंघको कलहले अस्तव्यस्त पार्टी कार्यालयअगाडि पुग्दा उनी सडकमा बेपर्वाह बसिरहेको भेटिए, चर्को घामले र धूलोधुवाँको उनलाई कुनै वास्ता थिएन।
‘म गृहमन्त्री विमलेन्द्र निधि हुँ, आफ्नै विद्यार्थी कार्यकर्ता कुट्न र दमन गर्न तयार छु’ लेखिएको कागज छातीमा टाँसेर ध्रुव भुइँमा बसिरहेका थिए।
सोमबार उनको ब्रतको दिन थियो। साउनको अन्तिम सोमबार बिहानदेखि पानीबाहेक मुखमा केही हालेका छैनन्। आफ्नै इच्छाले यो वर्ष उनी साउनका हरेक सोमबार ब्रत बसिरहेका रहेछन्।
‘श्रीमानको लागि श्रीमतीमात्र जहिल्यै ब्रत किन बस्ने? यसपालि मै बस्छु भनेर साउनभरि हरेक सोमबार ब्रत बसेँ,’ उनी भन्छन्, ‘यो श्रीमतीप्रतिको प्रेम पनि हो।’ उनले श्रीमती अस्मिता पौडेललाई सम्झे।
श्रीमतीको लागि यसरी भोकैतिर्खै बसेको मान्छे त्यतिकैमा कुटाइ खाएपछि उनलाई सनक चढेको थियो।
‘यहाँ यत्राबिधि पुलिस ल्याएर विद्यार्थी कुटाउन जरुरी नै छैन, तर यो सब नेविसंघभित्र घुसेको फोहोरी चलखेलका कारण हो, यहाँ स्वतन्त्र निष्पक्ष तरिकाले चुनाव पनि भइरहेको छैन,’ उनले भने, ‘सचेत नागरिकले बोल्नुपर्छ, म दुनियाँलाई यही भन्न खोजिरहेको छु।’