उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा चीन प्रस्थान गरेका छन्।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरा परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याललाई साथै लिएर सोमबार बिहान चीन प्रस्थान गरेका हुन्। चीन प्रस्थान गर्नु पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग छोटो कुरा गर्दै मन्त्री महराले चिनीयाँ नेतृत्वलाई नेपाल भ्रमणको निम्ता दिनु, नेपालको आर्थिक विकासमा सहयोगको आग्रह गर्नु तथा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउनु आफ्नो भ्रमणको उद्धेश्य भएको बताए।
छेन्दु हुँदै चीनको बेइजिङ पुगेपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले चीनको उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी भदौ ३ गते स्वदेश फर्किने कार्यक्रम छ । मन्त्रिपरिषद्को ४ दिन पहिले बसेको बैठकले दुई उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत र चीन पठाउने निर्णय गरेको थियो ।