सन् २०१९ को विश्वकप छनोटमा प्रवेश गर्ने अभियानमा रहेको नेपालको विदेशी भूमिमा खराब प्रदर्शनको सिलसिला रोकिएको छैन्। विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्यान्ड्ससँग उसैको घरमा खेल्न गएको नेपालको सुरुवात फेरि निरस बन्न पुगेको छ। नेपालले ६१ रन बनाउने क्रममा ५ विकेट गुमाइसकेको छ।
नेदरल्यान्ड्सको एम्सटर्भिन मैदानमा एक घण्टाअघि टस जितेको घरेलु टोलीले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। जसमा नेपालले २३ दशमलव ३ ओभरमा ५ विकेट गुमाइसकेको छ।
उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिल मण्डलले ब्याटिङको सुरुवात गर्नेक्रममा २६ बलमा २३ रन बनाएका थिए। तर, मल्ल ११ रनमा आउट भएपछि नेपालको ब्याटिङ पतनको सुरुवात भयो। बाँकी ३८ रन जोड्ने क्रममा नेपालले ४ विकेट गुमायो। कप्तान पारस खड्का ‘गोल्डेन–डक’ भए। उनलाई बायाँ हाते
अर्थोडक्स बलर रोयलोफ भान डेर मेर्वेले आफ्नो पहिलो बलमै एलबीडब्लुको सिकार बनाए। मण्डल २० रनमा आउट भए। ३१ बल खेलेर ७ रन बनाएका सागर पुन दायाँ हाते चाइनाम्यान बलर मिचेल रिप्पोनको सिकार भए। रिपोनले उनलाई विकेट पछाडि वेस्ले बरैसीबाट क्याच गराएका थिए।
विकेटकिपरको भूमिका निर्वाह गरिरहेका युथ–१९ का कप्तान राजु रिजाल पनि ३ रन बनाउदै आउट भइसकेका छन्। पहिलो विकेटको पतनमा आएका सरद भेषवाकर भने १७ रन बनाएर खेलिरहेका छन्। उनलाई विनोद भण्डारीले ३ रन बनाएर साथ दिइरहेका छन्।
नेपालले टस हारेपछि पहिलो ब्याटिङ गर्न मैदानमा उत्रिएको छ।
नेदरल्यान्ड्सविरुद्ध दुई खेलका लागि युरोपेली भूमिमा उत्रिँदा नेपाली क्रिकेटको फेरि कठिन परीक्षा हुनेछ। स्थानीय वातावरणमा घुलमिल हुन संघर्ष गरिरहेको नेपालले सोमबार पनि नेदरल्यान्ड्ससँग च्याम्पियनसिपको खेलमा प्रतिस्पर्धा गर्दैछ।
बिहीबार मात्र नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा ८८ रनमै अलआउट भएको थियो।
नेदरल्यान्ड्स ८ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्षस्थानमा छ । स्कटल्यान्ड र पपुवा न्युगिनीसँगको पहिलो चार खेलमा पराजित नेपाल पछिल्लो पटक काठमाडौंमा नामिबियालाई हराउँदै छैटौं स्थानमा उक्लिएको थियो।