नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा २४ गतेदेखि हुन नसकेको बन्द सत्र कहिले सुरु हुन्छ भन्ने अन्योल कायम रहेका बेला निर्वाचन समितिले पार्टी मुख्यालयमा सीसीटीभी जडान गरेको छ ।
निर्वाचन समितिले नेविसंघको बन्द सत्र र मतदान पार्टी मुख्यालयमा गराउने भन्दै सीसीटीभी जडान गरेको हो । निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले यसअघि राष्ट्रिय सभागृहमा निर्वाचन गराउने तयारी गरेपनि मतदाता नामावलीको विवाद् नटुंगिएका कारण निर्वाचन कहिले हुन्छ भन्ने अन्योलले गर्दा पार्टी मुख्यालयलाई नै बन्दसत्र र मतदानस्थल बनाउने निर्णय सीसीटीभी जडान गरिएको बताए।
निर्वाचन समितिले पार्टी मुख्यालयमा चार वटा सीसीटीभी जडान गरेको छ । निर्वाचन समितिले सीसीटीभी जडान गर्नेदेखि निर्वाचनका अन्य तयारी गरि सकेपनि मतदाता नामावलीको भने अझै टुंगो लागेको छैन। अपरान्ह चार बजे पार्टी मुख्यालयमा मतदाता नामावली टाँस गर्ने भनिएकामा त्यसको दुई घण्टा पछिसम्म निर्वाचन समितिले नामावली पाउन सकेन।
निर्वाचन समितिका संयोजक खरेलले शुक्रबार बेलुकासम्म नामावली नपाए विवाद् मिलेपनि शनिबार निर्वाचन गराउन नसकिने बताए।
नेविसंघको ११ औं महाधिवेशनको उद्घाटन साउन २३ गते भएकामा प्रतिनिधिको विवाद्का कारण बन्द सत्र सुरु नै हुन सकेको छैन । मुलुकको सबैभन्दा ठूलो र आफूलाई लोकतान्त्रिक भन्ने नेपाली काँग्रेस भातृ संस्थाको विवाद् मिलाउन नै असफल बनेको छ । विवाद् मिलाउनका लागि केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समिति गठन गरिएपनि नेविसंघमा पार्टीका नेतैपिच्छे गुट रहेका कारण त्यो समिति बैठकमा मात्र सीमित भएको छ।
बन्दसत्र र निर्वाचनको अन्योलका कारण विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरु फर्कन थालिसकेका छन्।