टेलिभिजनका लागि विश्वकै ‘ओस्कार’ मानिने एम्मी अवार्ड मनोनयनमा परेकी पत्रकार सुबिना श्रेष्ठले एउटी नेपाली आमाको निम्ति यो ठूलो उपलब्धि भएको बताएकी छन्।
‘यति महत्वपूर्ण पुरस्कारको मनोनयनमा पर्छु भनेर मैले चिताएकै थिइनँ,’ सेतोपाटीको जिज्ञासामा उत्तर दिँदै उनले शुक्रबार भनिन्, ‘यो मेरो मात्र होइन, मलाई सहयोग गर्ने सम्पूर्ण टिमको सफलता हो।’
गत वर्ष भूकम्प बेला उनले गरेका रिपोर्टिङको मूल्यांकन गर्दै यो मनोनयनका निम्ति छनौट गरिएको जानकारी यसअघि नै सञ्चारमाध्यमहरुमा सार्वजनिक भइसकेको छ। अल जजिरा टेलिभिजनको नेपालस्थित संवाददाता रहेकी सुबिना गम्भीर विषयवस्तुमा लामो समयदेखि वृत्तचित्र पनि बनाउँदै आइरहेकी छन्। एम्मी अवार्डको मनोनयनमा पर्नुको कारण खोल्दै सुबिनाले संवाददाता, क्यामरापर्सन र निर्माताहरुको असाध्यै राम्रो टिम आफूसँग हुनु नै मुख्य विशेषता बन्न पुगेको बताइन्।
‘यति राम्रो समूहसँग काम गर्न पाउनुलाई मैले सदैव गर्वका रुपमा लिँदै आएकी छु,’ उनले भनिन्, ‘यो हामी सबैको साझा उपलब्धि हो।’
एउटी आमाका रुपमा आफूलाई राखेर हेर्दा भुइँचालो गएको बेला काम गर्नु असाध्यै चूनौतिपूर्ण रहेको उनी सम्झन्छिन्। ‘त्यत्रो भुइँचालो आइरहेको बेला केटाकेटी छेउछाउमै रहेकी एउटी आमालाई अत्यास बढ्नु स्वाभाविक थियो,’ उनले भनिन्, ‘अलि समय त मलाई काममा केन्द्रित रहन निकै कठिन भयो।’
अन्य नेपाली पत्रकारजस्तै आफू पनि चुनौती सामना गर्न तयार हुँदाहुँदै मनमा डर जीवितै थियो। तर, भुइँचालोलगत्तै नेपाल आइपुगेका अन्य सहकर्मीको उपस्थितिले काम गर्न केही हलुको भएको उनले सुनाइन्। त्यस्तो जटिल परिस्थितिमा एउटी नेपाली पत्रकारले आफ्नो सहरका बारेमा इमानदारीपूर्वक यथास्थिति वर्णन गर्न पाउनु नै आफ्नो निम्ति महत्वपूर्ण उपलब्धि रहेको उनलाई लागिरहेको छ।
यो अवार्ड समाचार र समसामयिक घटनाक्रम गरेर दुई विधामा दिने गरिन्छ। तीमध्ये समाचार खण्डमा सुबिनासँगै बेलायत, रुस र ब्राजिलका सञ्चारमाध्यम पनि छानिएका छन्। विजयीको नाम सेप्टेम्बर २१ तारिखका दिन अमेरिकाको न्यूयोर्कमा घोषणा गरिनेछ। ६० देशका पाँच सय कम्पनी मिलेर संयुक्त रुपमा यो पुरस्कार बर्सेनि प्रदान गर्दै आइरहेको छ।
सुबिना हाल छात्रवृत्ति पाएर अध्ययनका निम्ति अमेरिका पुगेकी छन्।