सोलिडारिटी फर डा.केसी एलायन्सले अख्तियार प्रमुख लोकमान सिंह कार्की तथा आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउनु पर्ने १२ कारणहरू आज सबै सांसदको हातमा पुर्याएको छ।
विभिन्न संचार माध्यमहरुमा प्रमाण सहित आएका समाचारका साथमा केही नयाँ प्रमाणसमेत थपेर तयार पारिएको ३० पृष्ठ लामो दस्तावेज शुक्रबार सांसदहरूलाई बुझाइएको हो।
'यो दस्तावेजले सांसदहरूलाई लोकतन्त्रमा एउटा संवैधानिक निकायले देखाइरहेको अशोभनीय र गैर-संवैधानिक कार्यको दायरा बुझ्न सघाउँदै अविलम्ब यसको कानुनी कारबाही खोज्न उत्प्रेरित गर्ने हाम्रो अपेक्षा छ,' एलाइन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अख्तियार प्रमुखलाई महाअभियोग लगाउने पर्याप्त आधार हुँदाहुँदै पनि माननीय सांसदहरुले व्यवस्थापिका संसदमा यो बिषय उठाउन नसके लोकतन्त्र र विधिको शासनका लागि आत्मघाती कदम हुने ठहर एलायन्सले गरेको छ।
डा. गोविन्द केसी अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायतका माग राखी आठौं पटक अनसन बसेपछि एलायन्सले उनका माग पुरा गर्न दबाव सुरु गरेको थियो। डा.केसी र सरकारबीच सहमति भएपछि पनि सहमति कार्यान्वयनका लागि दवाब दिन एलायन्स सक्रिय छ।