यौन उत्पीडनको आरोपमा पक्राउ परेका मोरक्कोका बक्सर हसन सादा जेल मुक्त भएका छन्। उनलाई ब्राजिलका न्यायाधिसले जेल मुक्त गर्ने फैसला सुनाएपनि उनी अदालतको स्विकृति बिना तत्काल ओलम्पिक भिलेजबाट बाहिर निस्किन पाउने छैनन्।
२२ वर्षीय हसन ओलम्पिकको ८१ केजी तौल समूहका प्रतिस्पर्धी थिए। तर, उनलाई यौन उत्पीडनको आरोपमा स्थानीय प्रहरीले पक्राउ गरेपछि ओलम्पिक सुरु भएको भोलीपल्ट भएको आफ्नो स्पर्धामा भाग लिनबाट बञ्चित रहे। उनको अनुपस्थितिमा टर्कीका मेहमेत नादिर उनाललाई वाकओभरको आधारमा विजयी घोषित गरिएको थियो।
ओलम्पिक भिलेजमा उनको कोठा सरसफाईका लागि आएका दुई महिलामाथि अनुचित यौन सम्पर्क राख्न खोजेको आरोप ती महिलाहरूले लगाएका थिए।
ब्राजिली महिलाहरूले रियोको स्थानीय प्रहरीमा हसनले उनीहरूसँग शारीरिक सम्बन्ध राख्न आपत्तिजनक प्रस्ताव राखेको तर आफूहरूले नमानेपछि एक महिलालाई जबरदस्ती गर्न खोजेको उजुरी दर्ता गराएका थिए। यही उजुरीको आधारमा प्रहरीले उनलाई ५ दिन थुनामा राखेको थियो।
यसअघि रियो ओलम्पिक मै नामिबियाको झन्डा बोकेका अर्का बक्सरलाई पनि स्थानीय महिला कर्मचारीसँग यौन उत्पीडनको प्रयास गरेको आरोपमा पक्राउ गरिएको थियो।