प्रतिनिधि विवादका कारण सोमबारदेखि स्थगित नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको बन्दसत्र बिहीबार सुरू हुने भनिएपनि प्रतिनिधि विवाद फेरि बल्झिएपछि बन्द सत्र अनिश्चित भएको छ।
यसअघि भएको सहमति अनुसार जुन मोडालिटीमा काम गर्ने भनी तय भएको थियो, उक्त मोडालिटीमा नेविसंघ अध्यक्ष रञ्जित कर्णले सहमति उलंघन गरेपछि प्रतिनिधि विवाद फेरि बल्झिएको हो।
नेपाली कांग्रेसको सांगठानिक आधारका रुपमा रहेको विद्यार्थी संघको विधानदेखि प्रतिनिधि विवादसम्म सुल्झाउन पार्टीले गठन गरेको निर्देशक समितिले मंगलबार राति गरेको निर्णयपश्चात बन्द सत्र सुरू हुने निश्चित भएको थियो। यसअनुसार आज दिउँसो २ बजे प्रतिनिधिहरूको नामावली सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको छ।
दुई वर्षअघि ६४ जिल्ला र क्याम्पसमा सम्पन्न अधिवेशन भएको थियो। बाँकी रहेका विवादित ११ जिल्ला र क्याम्पसहरूमा अधिवेशन हुन सकेको थिएन। तिनै ११ जिल्लाका प्रतिनिधिको विवादले नेविसंघको बन्दसत्र अन्योल बन्दै आएको छ।
अहिले तत्कालै अधिवेशन गराउने सक्ने अवस्था नभएको कारण त्यी जिल्ला र क्याम्पस ईकाई समितिको नयाँ नेतृत्व चयन तीन महिनाभित्र गर्ने गरी हाललाई व्यावहारिक रुपमा आएका विद्यार्थी प्रतिनिधिहरूलाई भागवण्डाको आधारमा विवाद सुल्झाइएको थियो।