प्रहरी आचरण र व्यवहार अनुकुल काम नगर्ने रूपन्देहीका ६७ जना प्रहरी कारवाहीमा परेका छन् । प्रहरीको आचरण र व्यवहार ठीक नभएको पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ६७ जनालाई विभागीय कारबाही गरेको हो।
कारबाहीमा परेका प्रहरीमध्ये ७ जना बर्खास्त भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आर्थिक बर्ष २०७२/०७३ मा सइ १ जना, प्रहरी जवान ५ जना र परिचर १ जना गरी ७ जना जागिरबाटै बर्खास्त भएका छन्।
प्रहरीको ड्यूटी पुरा नगर्ने, मादक पदार्थ सेवन गर्ने, आचरण व्यवहार राम्रो नगर्ने उनीहरू कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले सेतोपाटीलाई जानकारी दिए। त्यस्तै १ जना प्रहरी जवान र १ जना प्रहरी नायब निरीक्षक गरी दुई जना निलम्बनमा परेका छन्।
दुई प्रहरी हल्वदार तल्लो पदमा घटुवा तथा १ प्रहरी हवल्दार र ३ जना प्रहरी जवानको ग्रेड घटुवा भएको छ।
यसैगरी ४ जना प्रहरी जवान र १ जना हवल्दारको पदोन्नती रोक्का भएको बताईएको छ । प्रहरीले आचरण व्यवहार ठिक नगरेको भन्दै १० जना प्रहरीको ग्रेड रोक्का गरेको छ । जसमा १ जना प्रहरी नायब निरिक्ष्ँक सहित, १ जना प्रहरी सहायक निरिक्षक, २ जना हवल्दार र ६ जना प्रहरी जवान रहेका छन् ।
कार्यालयका अनुसार ३० जनालाई गलत आचरण प्रस्तुत गरेको भन्दै अब आईन्दा त्यस्तो नगर्न चेतावनी दिईएको छ । सख्त चेतावनी पाउनेमा २ जना प्रहरी हवल्दार र ५ जना जवान रहेका छन् ।
त्यसैगरी प्रहरीले आचरण सुधार नगर्ने प्रहरीलाई कारबाही मात्र नगरी राम्रो गर्नेलाई पुरस्कृत समेत गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पदिय दायित्वलाई आत्मसाथ गर्दै राम्रो कार्य गरेको भन्दै आर्थिक बर्ष ०७२/०७३ मा ५९ जनालाई पुरस्कृत गरेको छ ।
कार्यालयका अनुसार २ जना प्रहरी नायब उपरिक्षक, १० जना प्रहरी निरिक्षक, १२ जना प्रहरी नायब निरिक्षक ११ जना प्रहरी सहायक निरिक्षक १ जना प्रहरी हवल्दार र २४ जना जवान गरी ५९ जनालाई पुरस्कृत गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।