केही महिनाअघिसम्म शिरिष गुरुङ नेपालको पौडी पोखरीमा राष्ट्रिय कीर्तिमान बनाउँदै र भत्काउँदै गरेका भेटिन्थे। यो उनको नियमित कामजस्तै भइसकेको थियो। नेपालमा कुनै राष्ट्रिय प्रतियोगिता आयोजना भयो कि सबै भन्ने गर्थे, केटोले फेरि अर्को कीर्तिमान भंग गर्ने भयो।
यिनै शिरिषले मंगलबार रियोको एक्वाटिक हलमा आफ्नो त्यो छवि पुनः प्रमाणित गरे, सय मिटर फ्रिस्टाइलमा ५७ दशमलव ७६ को नयाँ राष्ट्रिय कीर्तिमान कायम राख्दै।
रियो ओलम्पिकमा भाग लिन गत साता ब्राजिल उड्नुअघि उनी भन्दै थिए, ‘मेरो लक्ष्य राष्ट्रिय कीर्तिमानमा सुधार गर्नु हो।’
नभन्दै उनले आफ्नो १८ औं जन्मदिनभन्दा ४८ घन्टाअगाडि सबै नेपालीलाई एउटा उपहार दिए, ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउने पहिलो नेपाली पौडीबाज बनेर।
शिरिष बिहीबार १८ वर्षमा प्रवेश गर्दैछन्। उनले रियोमा सय मिटर फ्रिस्टाइलतर्फ राष्ट्रिय कीर्तिमान बनाएपछि आफ्नो फेसबुकमा लेखे– ‘म दुईवटा कारणले आज निकै खुसी छु। पहिलो, ओलम्पिक खेल्ने सौभाग्य हरेक खेलाडीलाई प्राप्त हुँदैन। दोस्रो, ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउने पहिलो नेपाली पौडीबाजको छवि बनाउन सफल भएकोमा।’
आठ वर्षको उमेरदेखि शिरिष नेपाली पौडी पोखरीमा देखिँदै आएका छन्। यस अवधिमा उनले ४५ वटा राष्ट्रिय कीर्तिमान भत्काउँदै र बनाउँदै आएका छन्। गत वर्ष रुसको कजानमा भएको १६औं फिना विश्व पौडी प्रतियोगितामा उनले सय मिटर फ्रिस्टाइलतर्फ ५८ दशमलव २२ सेकेन्डको समय निकालेका थिए, जुन पछिल्लो समयको राष्ट्रिय कीर्तिमान थियो। पौडीमा अझै पनि उनको नाममा ९ वटा राष्ट्रिय कीर्तिमान छ।
सानोमा शिरिष निकै छुकछुके थिए। त्यही चञ्चलपनले उनलाई पौडी पोखरीसम्म डोर्याएको थियो। त्यतिबेला उनलाई तह लगाउन उनको परिवारसँग अरू उपाय थिएन्। परिवारका सदस्यले उनलाई घरमा बढी छुकछुक नगरोस् भनेर तीन वर्षको उमेरमा पौडी पोखरी पुर्याएका थिए।
‘त्यतिबेला बुबा–आमाको दिमागमा आइडिया फुरेको हुनुपर्छ, पौडी खेलेर लखतरान परेको छोराले के नै चकचक गर्छ भन्ने!’ शिरिष भन्छन्।
वास्तवमा शिरिष ५ वर्षको उमेरमा पहिलोपल्ट पानीसँग लोभिएका थिए, जब एउटा प्रतियोगिता खेल्न उनी कीर्तिपुर लागे। पुलिस क्लबका प्रशिक्षक जनक टमाटाले राम्रोसँग पौडिन सिकाएको एक महिनामै उनलाई प्रतियोगिता खेल्न लगेका थिए। त्यहाँ उनी प्रतियोगिताको सबैभन्दा फुच्चे खेलाडी थिए। आयोजकले उनलाई युवा खेलाडीको पुरस्कार दिए। यो पुरस्कारले उनको खेल जीवनमा ऊर्जाको काम गर्यो।
‘पहिलो पल्ट पुरस्कार पाउँदा म निकै लोभिएको थिएँ। घरमा खुसीको बेग्लै महौल थियो,’ उनले पौडीतर्फ आफ्नो आकर्षण बढ्नुको कारण प्रस्ट्याउँदै भने। शिरिषलाई आठ वर्ष अघिसम्म ओलम्पिक कुन चरीको नाम हो, थाहा थिएन। उनलाई ओलम्पिक भनेको काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको कुनै प्रतियोगिताजस्तै लाग्थ्यो।
सन् २००८ को बेइजिङ ओलम्पिक खेल्न जाँदा उनले आफ्ना अग्रज प्रसिद्धजंग शाह र करिश्मा कार्कीको भव्य बिदाइ देखे। उनलाई लाग्यो, होइन ओलम्पिक भनेको संसारभरिका खेलाडी जम्मा हुने खेल–मेला पो रहेछ।
बेइजिङमा प्रसिद्धको प्रदर्शन सोचेअनुरुप हुन सकेन। लन्डन ओलम्पिकमा पनि उनले राष्ट्रिय कीर्तिमान बनाउन सकेनन्। त्यसपछि नेपाली पौडी खेलाडीको देशभित्र आलोचना भयो। यतिबेला शिरिषले संकल्प गरे– ओलम्पिक पनि खेल्छु, राष्ट्रिय कीर्तिमान पनि बनाउँछु।
कजानमा सम्पन्न फिना विश्व पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएपछि ओलम्पिकमा उनको सहभागिता निश्चितजस्तै बनिसकेको थियो। उनको अगाडि अघिल्लो लक्ष्य थियो– ओलम्पिकमा १ मिनेटभन्दा तल पौडिन नसकेका नेपाली खेलाडीको छवि उकास्ने। यो लक्ष्यमा उनी उत्तीर्ण भएका छन्।
उनले खेल सकिएपछि भने– ‘रियोमा मैले बनाएको कीर्तिमान मेरो मात्र होइन, सबै देशबासीकोे।’
पौडीमा शिरिषले आफूलाई अब्बल प्रमाणित गरिसकेका छन्। तर, पौडी खेल्ने क्रममा शिरिषको पढाइ एक वर्ष बिग्रिएको थियो। पौडीबाहेक शिरिषको लक्ष्य छ, चिकित्सक बन्ने। सन् २०१५ थाइल्यान्डमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने क्रममा उनले १२ कक्षाको परीक्षा नै दिन पाएनन्। अहिले उनको ‘प्लस टु’को परीक्षा सकिसकेको छ।
उनी नेपालमा खेलकुदमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको अभाव रहेको बताउँछन्। र, भन्छन्– ‘म यसमा विशेषज्ञता हासिल गर्न चाहन्छु।’ शिरिषका दुई जना दिदी छन्। यी दुवै दिदी चिकित्साशास्त्रकै अध्ययन गरिरहेका छन्।
नेपाली खेलकुदमा शिरिष भावुक खेलाडीका रूपमा पनि चिनिने गर्छन्। उनी आफूले खेलबाट कमाएको रकम वृद्धवृद्धा तथा टुहुरा बालबालिकालाई दान गर्ने गर्छन्। दुई वर्षअघि सुनकोशीमा बाढी आउँदा उनी केही सामग्री बोकेर घटनास्थल पुगेका थिए।
‘किन हो कुन्नी, मलाई बाटोमा मागिरहेका साना–साना नानीहरू देखेर निकै पीडा हुन्छ,’ बिहीबार नेपाली कानुनअनुसार बालिक बन्न लागेका शिरिष भन्छन्।
शिरिषको रोचक बानी छ। उनी पुराना सामान संकलनकर्ता पनि हुन्। उनी बजारमा पुरानो सामान फेला पर्यो कि किनेर घर ल्याइहाल्छन्। पुरानो मोटरसाइकल उनको संकलनभित्र पनि पर्छ। यस वर्ष उनले युरोपेली देशका लागि निर्माण गरिएको हिरो–होन्डा कम्पनीको सिजी १९८० मोडलको बाइक किनेका थिए। त्यो बाइक उनले बाबुको पैसाले होइन, प्रतियोगिताबाट आफूले कमाएको ३५ हजार रुपैयाँ खर्चेर किनेका थिए।
शिरिष संगीतका पनि पारखी हुन् । उनी संगीतमा सोख मात्र राख्दैनन्, आफैं पनि संगीतका थुप्रै विधा प्रयोग गर्न खप्पिस छन्। किबोर्ड, सेन्थेसाइजर, अर्कोडियन, जाइलो फोनजस्ता विदेशी वाद्यवादन मात्र होइन, नेपालका पुराना बाजा सारंगी र बाँसुरीमा पनि उनको उत्तिकै दख्खल छ।
उनले पुराना नेपाली गीतलाई किबोर्डको आवाजमा ढालेर पाँच वर्षअघि एउटा एल्बम सार्वजनिक गरेका थिए। उनी आफ्नो भाग्यभन्दा कर्ममा विश्वास राख्छन्। त्यसैले, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदमा उनले अर्को लक्ष्य बनाएका छन्, एकलतर्फ पदक जित्ने पहिलो नेपाली पौडीबाजको कीर्तिमान बनाउने।
भन्छन्– ‘अबको मेरो लक्ष्य साग गेम्सको पदक हो।’