प्रमुख प्रतिपक्षी नेकपा एमालेले रिमोट कन्ट्रोलबाट नचल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराएको छ।
प्रमुख प्रतिपक्षी एमालेले व्यवस्थापिका संसदको सोमबार बसेको बैठकमा कार्यकारी प्रधानमन्त्रीको हैसियतमा रहेर काम गरे सहयोग गर्ने समेत बताएको छ। प्रधानमन्त्री दाहाललाई बधाई दिनका लागि रोष्टममा पुगेका एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जटिल अवस्थामा प्रधानमन्त्री बनेका दाहालसामु चुनौती धेरै रहेको भन्दै चुनौतीको समना गर्ने क्रममा राष्ट्रिय हित र जनताको स्वार्थ विपरीतका कुनै सम्झौता नगर्न आग्रह गरे। उनले प्रधानमन्त्रीले मुलुकको कार्यकारी प्रमुखका रुपमा राष्ट्रिय हित प्रवद्र्धन गर्ने भूमिका निर्वाह गरे प्रतिपक्षमा रहेर पनि एमालेले गर्व गर्ने बताए।
एमालेका प्रमुख सचेतक ढकालले भारतसामु झुकेको खण्डमा प्रधानमन्त्री दाहाललाई सरकार चलाउन अप्ठेरो पार्ने चेतावनी दिए। उनले राष्ट्रिय हितको सवालमा लत्रिएको अवस्थामा एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। बैठकमा अर्को प्रतिपक्षी राप्रपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता कमल थापाले नयाँ सरकार गठनसँगै नेपाली जनताको निर्णायकत्वमाथि कालो बादल लागेको बताए। उनले संविधान जारी र त्यसपछि सरकार गठनका बेला नेपाली जनताले आफ्नो निर्णायक क्षमता प्रदर्शन गरेपनि अहिले त्यो क्षमतामाथि प्रश्न उठेको बताए।
राप्रपा नेपालका अध्यक्ष थापाले चीनसँग भएको यातायात तथा पारवहन सम्झौता र केरुङबाट काठमाडौमा रेल ल्याउने विषयले नेपाल भारतविरोधी नहुने भन्दै चीनसँग सम्झौता गरेको विषयलाई लिएर सत्तारुढ दलका सांसद्हरुले चित्त दुखाउनु चिन्ताजनक भएको बताए।
बैठकमा सत्तारुढ नेपाली काँग्रेसका नेता महेश आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनतामा आशा र भरोसा जगाउने गरी काम गर्न शुभकामना दिए। उनँले युद्धको आव्हान गर्ने कमाण्डरलाई नेपाली जनताले दीर्घकालीन शान्ति स्थापना गर्ने नायकको रुपमा देख्न चाहेको भन्दै जनताको त्यो चाहनालाई आत्मसात् गरेर काम गर्न प्रधानमन्त्री दाहालसँग आग्रह गरे।
बैठकमा मधेशवादी दलका सांसद्हरुले मधेशका माग सम्बोधनका लागि मन्त्रिपरिषदको दोस्रो बैठकले गरेका निर्णयको स्वागत गर्दै प्रधानमन्त्री दाहालले प्रदेशको सीमांकनको विषयलाई सल्ट्याउनेमा आफूहरू आशावादी रहेको बताए।