गोरखाको थुमी गाविसको सोती बजारस्थित केयरपानीमा झरेको पहिरोमा परी एकजना महिलाको मृत्यु भएको छ। पहिरोमा परी कासीगाउँ गाविस–५ की ३५ वर्षीया कान्छीमाया गुरुङको मृत्यु भएको हो।
वैदेशिक रोजगारीमा रहेका श्रीमान् बसबहादुर गुरुङले पठाएको पैसा झिक्न आरुघाटस्थित बैंक आउने क्रममाः पहिरोसँगै झरेको ढुङ्गा लागेपछि कान्छीमायाको घटनास्थलमै मृत्यु भएको कासीगाउँका गाविस सचिव दीपक गुरुङले जानकारी दिए।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रविराज थपलियाका अनुसार कान्छीमायासँगै गाउँका चार जना महिला आरुघाटबजार आउँदै थिए। तीन जना कटेपछि खसेको ढुङ्गाले कान्छीमायालाई लागेको थियो। स्थानीयवासीको सहयोगमा प्रहरीले शवलाई पहिरोबाट बाहिर निकालेको थियो। शवको आरुघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरिएको छ।
हालै जङ्गली च्याउ खाँदा कान्छीमायाको ६५ वर्षीया आमा फुलमाया गुरुङ र ६ वर्षीया छोरी रोसनी गुरुङको पनि मृत्यु भएको थियो। एकपछि अर्को घटना भएपछि गाउँले तथा आफन्त शोकमा परेको गाविस सचिव गुरुङले बताए। रासस