राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित गरेको छ।
सरकारले हालै गठन गरेको राष्ट्रिय परीक्षा बोर्डले आइतबार प्रकाशित नतिजा अनुसार ७३.७७ प्रतिशत विद्यार्थी पास भएका छन्।
यस वर्ष कक्षा १२ को परीक्षामा नियमति तर्फ कुल ४० हजार ६ सय तीन सहभागिता रहेकोमा २९ हजार ९ सय ५२ परीक्षार्थी उत्तीर्ण भएका छन्।
परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार यस वर्ष गत वर्षको भन्दा २.१२ प्रतिशतले बढी विद्यार्थी पास भएका छन्। गत वर्ष विज्ञान संकायमा ७१ .६५ प्रतिशत मात्र विद्यार्थी पास भएका थिए ।
यसैगरी आंशिकतर्फ ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। आंशिकतर्फ ९ हजार ७ सय ८१ विद्यार्थी सहभागी रहेकोम ४ हजार ४ सय १४ उत्तीर्ण भएका हुन् ।
आइतबार साँझ शिक्षा सचिव डिल्लीराम रिमालको अध्यक्षतामा बसेको परीक्षा संचालक समीतिको बैठकले नतिजा सार्वजनिक गरेको हो।
यस्तै व्यवस्थापन,शिक्षा र मानविकी संकायको नतिजा परीक्षा बोर्डले भदौं १५ भित्र सार्वजनिक गर्ने तयारी गरेको छ।