मलेसियास्थित नेपाली दूतावासले वैदेशिक रोजार प्रवर्धन बोर्डबाट कामदारको उद्धार र संरक्षणका निम्ति भन्दै लगेको लाखौ रूपैयाँ फजुल काममा खर्चेको खुलासा भएको छ।
२०६९ फागुन ३० मा फिल्म निर्माता तुलसी घिमिरे मलेसिया गएका थिए। उनलाई तत्कालिन कार्यबाहक राजदूतले २ सय ५३ रिंगेट खर्चेर लञ्च दिएको बिल बैदेशिक रोजगार रकमबाट बेहोरेको पाइएको खबर आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन्।
सोही मितिमा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडाल ३७ जनाको जम्बो टोली लिएर दूतावास पुगेका थिए। उनीसहित ४५ जनाको सत्कारमा दूतावासले १७३ रिंगेट खर्चेको बिलमा देखिन्छ। त्यो पनि श्रमिककै कोष हो।
आर्थिक वर्ष २०७१/७२ मा दूतावासले कामदारको उद्धार र कानुनी उपचारका निम्ति भन्दै २० लाख र अतिरिक्त कर्मचारीको खर्च भन्दै१८ लाख रूपैयाँ लगेको थियो। २०७२/७३ मा २७ लाख रूपैयाँ लगेको छ। यी सहित २०६५/६६ देखिकै ७१ लाख ८ सय ८ रूपैयाँ दूतावासले अहिलेसम्म फर्छौट गरेको छैन। फर्छौट गर्न बोर्डले दबाब दिएपछि दूतावासले पछिल्ला केही खर्चका बिल भरपाइसहित विवरण पठाएको छ। त्यसलाई केलाउँदा अचमम्म लाग्दो खर्चमा कोष दुरूपयोग भएको देखिन्छ।