झापाको पूर्वोत्तर क्षेत्रमा जंगली हात्तीको उपद्रो खपिनसक्नु छ। पछिल्लो पाँच वर्षमा झापामा हात्तीको आक्रमणबाट २५ जनाको मृत्यु भयो। यसलाई आधार मान्ने हो भने झापामा हात्तीबाटै वर्षेनी सरदर पाँच जनाको मृत्यु हुने गरेको छ।
पछिल्लो पाँच वर्षको तथ्यांक
आर्थिक वर्ष मृत्यु घाइते
२०६८/०६९ ९ १४
२०६९/०७० ८ ५
२०७०/०७१ ३ ३
२०७१/०७२ १ २
२०७२/०७३ ३ २
हात्तीले मानवीय क्षतिमात्र गरेको छैन। थन्क्याउने बेला भएको बालीनाली खाइदिने र माडेर सोत्तर पार्दा यहा“का केही बासिन्दाको उठिबास नै भएको छ। हात्ती प्रवेशद्वार मानिएको बा“हुनडा“गीको पूर्वी गौडाबाट वर्षमा सयभन्दा बढी हात्ती नेपाल भित्रिने गरेका छन्।
झापामा हात्तीले वर्षेनी करोडौंको बालीनाली नष्ट गर्दै आएको छ। हात्तीका कारण जनधनको क्षति हुँदा बसिनसक्नु नभएर गाउनै छाड्नु परेको बताउँछन स्थानीय। तर, बाहुनडाँगी गाविसका सचिव भगकृष्ण न्यौपानेले भने हात्तीका कारण गाविसबाट कोही पनि बसाइँ सरेर नगएको बताए। ‘एकाध गएका होलान् तर हात्तीका कारण भनेर गाविसमा उल्लेख गर्नुभएको छैन,’ उनले भने।
जिल्ला वन कार्यालय झापाका अनुसार पछिल्लो चार वर्षमा झापामा ४ सय ६९ जना हात्तीबाट पीडित भएका छन्। उनीहरूलाई जिल्ला वनले १ करोड १३ लाख रुपैया“ राहत दिएको छ। झापाका बाहुनडाँगी, शनिअर्जुन, कन्काई शिवसताक्षी, बुधबारेलगायत भारतस“ग सीमाना जोडिएका पृथ्वीनगर, घेराबारी, भद्रपुर क्षेत्रमा हात्तीले दुःख दिने गरेको छ।
हात्तीको उपद्रो घटाउने प्रयास
बाहुनडाँगीका कृषकले गएको जेठ असारमा झन्डै ९० प्रतिशत मकैबाली हात्तीको पिरबिनै थन्काएपछि भने पछिल्लो समय झापाली हात्तीपीडित केही आशावादी देखिएका छन्। बाहुनडाँगीको करिब १८ किलोमिटर क्षेत्रमा सौर्य धराप बार जडान भएपछि भने क्षति कम भएको बताउँछन् स्थानीयबासी। यो साउनको दोस्रो सातासम्म अघिल्लो वर्षको जस्तो हात्तीको उपद्रो नभएका कारण स्थानीय चैनसँग रात बिताउन थालेका छन्। बाहुनडाँगीका किसान रमेश दाहालका अनुसार पहिले पनि हात्ती नियन्त्रणका लागि गरिएका प्रयत्न असफल भइसकेकाले यो प्रयासलाई पनि शंका गरिरहेका थिए। किनकि, हात्तीको समस्या समाधानका लागि टुङ, सुरुङबार, अगुल्टोको प्रयोग, ग्याट्टीस र गोली, ट्याक्टरका हर्नहरुको प्रयोग सबैजसो निरर्थक भइसकेका थिए ।
‘विगतमा पनि विद्युतीय तारबार प्रयोग भएकै हुन्। तर, अहिलेको सौर्य धरापलेले भने विगतका पीडा बिर्साइदिएको छ,’ उनले भने। यसपालि रोपेको धानबाली थन्क्याउन पाइन्छ कि पाइन्न भन्ने चिन्ता कम भएको किसान बताउँछन्। यसअघि बाली, भकारी र ज्यान जोगाउन मुस्किल थियो ।