उपत्यकाका प्रमुख नदी सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
बागमती सफाइको १६९ औँ हप्तामा शनिबार बल्खुपुलको ललितपुर क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो। आजको सफाइमा समाजसेवी विनित अग्रवालले सफाइका लागि ५० जोर गम बुट, ५० वटा थुन्चे, १०० जोर पञ्जालगायत सामग्री हस्तान्तरण गरे।
सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नवजीवन विद्यालय सामाखुसी, सिजन मिडिया मिस टिन कलेज प्रतियोगिताका २५ प्रतिस्पर्धी र अभिभावक, लगायतको सहभागिता रहेको बागमती समितिका सदस्य नारायण श्रेष्ठले जानकारी दिए।
सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, पूर्व सचिव किशोर थापा, कलाकार सुनिल थापा लगायतका अभियानकर्मीको सहभागिता थियो।
विष्णुमती सफाइको १०४ औँ हप्तामा आज टेकु दोभानस्थित कुलेश्र महादेव मन्दिर क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइमा राष्ट्रिय झन्डा जोगाऔँ अभियान लिएर ७५ जिल्लाको यात्रा गर्नुभएका लक्ष्मी प्रजापतिको सहभागिता रहेको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिए।
रुद्रमती सफाइको १२८ औँ हप्तामा आज रातोपुल–सिफल– कालोपुल– भत्केको पुलसम्म सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका वरिष्ठ उपाध्यक्ष रोहित गिरीले बताए। सफाइमा वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, आनन्दभूमि स्कुललगायतका संस्थाको सक्रियता थियो।
यसैगरी नख्खुखोलामा नख्खुखोला सुधार समिति, गुह्येश्वरीमाथिको बागमतीमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी लगायतका संस्थाले सफाइ गरेका थिए। रासस