संघीय लिम्बुवान राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको बन्दका कारण शनिबार पूर्वको जनजीवन कष्टकर बनेको छ। अरुण पूर्वका नौ जिल्लालाई पृथ्वीनारायण शाहले राज्य एकीकरणका नाममा लिम्बुवान राज्य खोसेको भन्दै बिरोधमा पार्टीले कालो दिनका रुपमा बन्द आह्वान गरेको सो पार्टीले जनाएको छ।
‘यो दिनलाई हामीले कालो दिनका रुपमा मनाउने गरेका छौं,’ पार्टीका झापा ईन्चार्ज भवानीविक्रम सेलिङ्गले सेतोपाटीसँग भने, ‘लिम्बुवान जबसम्म फर्कदैन, तबसम्म साउन २२ कालो दिन नै हो।’
पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी लगायतका स्थानमा सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा आएका छैनन्। राजमार्गमा यातायातका साधन सञ्चालन हुन नसक्दा जिल्लाको जनजीवन प्रभावित भएको सम्बद्ध जिल्लाका प्रहरीले बताएका छन्।
बन्दले राजमार्गमा यातायातका साधन नचल्दा यसको असर जिल्लाका ठूला बजारमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार जिल्लाका विर्तामोड, दमक, भद्रपुर, धुलाबारी लगायतका ठूला बजारमा बन्दको आंशिक प्रभाव परको छ। यता झिलझिले, गौरादह, गौरीगञ्ज, शिवगञ्ज, झापा बजार, शनिश्चरे बजार भने बिहानैदेखि खुलेका छन्।
प्रहरीले झापा आउने र झापाबाट बाहिर जाने लामो दुरीका सवारी साधनलाई स्कटिङ गरी गन्तव्यतिर लगेको झापा प्रहरीले जनाएको छ। राजमार्गमा आकस्मिक सेवाका एम्बुलेन्स, प्रेस, तरकारी, दुध, ढुवानीमा प्रयोग हुने यातायातका साधन भने सञ्चालनमा छन्।