ए, नानी किन पछाडि फकेको? अगाडि फर्केर लेख। एउटा कोठाको कुनामा बसेर हेरिरहेको उसले भन्यो। ऊ चुपचाप अगाडि फर्केर लेख्न सुरु गरी। उ, मात्र होइन उसका वरिपरी रहेका अन्य साथीहरु पनि पछाडि फर्किदै थिए, मानांै पछाडि कसैले सर्कस देखाउँदै थियो।
परीक्षा भन्ने बित्तिकै मनमा त्रास पैदा हुन्छ। वर्षभरि पढेका कुरालाई तीन घण्टाको समयमा उतार्नु सजिलो कुरा होइन। उचित सदुपयोग गर्न नसक्दा एक वर्षको समय बर्बाद हुनपनि सक्छ। टीयूको परीक्षा सबैलाई कठिन हुन्छ र सोचेजस्तो नतिजा आउँदैन भनेर ब्याख्या गर्दछन्। कक्षामा शिक्षकले पढाउँदा हल्ला गर्ने धेरैको बानी हुन्छ। त्यतिबेला परीक्षाको ख्याल नै हुँदैन। तर, जब परीक्षा नजिकिन थाल्छ तब मनमा डरको भारी बढ्न थाल्छ अनि भविष्यको चिन्ता लाग्छ।
सानो छँदा धेरै पढ्थे। तर,पछि पढेर पनि सोचेजस्तो नतिजा नआउँदा धेरै पढ्न मन लाग्दैन्। पहिलो वर्ष राम्रैसँग पास भइयो। दोस्रो वर्षको परीक्षाको नजिता के होला भन्ने चिन्ता बढेकै थियो। जागिरसँगै पढाइलाई निरन्तरता दिन जटिल नै थियो। बिहानीको कलेज दिनभरको काम अनि बचेको बेलुकीको समय पढाइ त छायामै परेको थियो।
मान्छेलार्इ अरुको जीवन सुखी र आफ्नो दुखी अनि पीडादायी लाग्छ। कलेजबाट आएर खाना खान पनि हतार हुन्थ्यो। मन आतिन्थ्यो, ढिला पुगे अपिसमा हाकिमले गाली गर्छन् कि भन्ने डर पनि हुन्थ्यो।
जिन्दगीमा धेरै परीक्षा दिइयो, धेरै अनुभव लिइयो तर यो पाली परीक्षामा गार्ड पहिलेको भन्दा भिन्न थिए। मेरो भाषामा भन्दा, चञ्चले गार्ड। सबै मानिस एकै हुँदैनन्, शारिरीक बनावटदेखि विचार, ब्यवहार अनि बोल्ने शैली बेग्लाबेग्लै। केही केटाहरु केटी देख्नासाथ शान झार्छन् भने केही केटी आफ्नो अगाडि केटा देखेपछि मस्किन थाल्छन्। विशेषगरी युवास्थामा यस्तो प्रवृति धेरैमा देखिन्छ।
उमेर त म थाहा पाउन सक्दिँन तर अन्दाज गर्दा ऊ ३० ननाघेको हुनुपर्छ। थोरै पालेको कपाल बेलाबेलामा अगाडि झर्दा हातले माथि लैजान खोज्दा अगाडि नै झर्थो। बेलाबेलामा ऊ सबै क्लासमा झुल्किन्थ्यो र परीक्षा निकैै टाइट गरेजस्तो गर्थो। यसै त मानविकी पढ्ने केटाभन्दा धेरै केटीहरु नै हुन्छन्। केटीहरु मात्र पढ्ने कलेज परेकोले केटीको संख्या बढी नै थियो।
कोही केटी बाहिर जान लाग्दा जिस्काए जस्तो गरी, ए नानी चिट छ भने दिएर जाऊ है भन्थ्यो। आखिर कुन परीक्षार्थीले मसँग चिट छ भन्दै आफ्नो चिट लुरुक्क निकालेर दिन्छन् र? ऊ त्यसरी बोलिदिँदा लेख्नेहरुलाई डिस्टर्व हुन्छ भन्ने ख्याल नै गर्दैनथ्यो। झन् पहिलो बेन्चमा पर्नेलाई त दिक्क लाग्थ्यो। एकदिन उसले चुप लागेर लेखभन्दा एउटी केटीले मुख फर्काइ। उसले भनि–कसैलाई चाहिँ बोल्न दिने म प्रश्न नबुझेर सोध्दा पनि गाली गर्ने? केटीहरु त डेन्जर हुन्छन् बोल्न पनि हुँदैन्। उसको यो शब्दले मेरो मनमा प्रश्न उब्जियो, के केटीहरु मात्र डेन्जर हुन्छन्? आफूलाई सरल अनि सभ्य भन्न खोजेको होला।
परीक्षामा बसेको गार्डले यस्तो भन्नु कहाँसम्म उचित होला? कोही बाहिर गएर आउँदा पनि चिट त छैन नि, फेरि केटीहरु त कता कता घुँसार्छन् भन्दै थियो। त्यति मात्र होइन केटाको नजर जतापनि पुग्छ भनि थपेको थियो। परीक्षा हलमा बसेर लेख्दै गरेकी म त्यो गार्ड देखेर छक्क पर्थे। मुखभरी जवाफ दिऊ जस्तो लाग्थ्यो तर बोल्न उचित ठानिन र बोलिन। मेरो जीवनको अमूल्य समय थियो। मलाई प्रश्नको उत्तर लेख्न हतार थियो।
सबैकुरा त म सम्झिन सक्दिँन तर जति सम्झिए त्यति लेख्ने प्रयास गरे। सधै पर्ने गार्डहरु भन्दा फरक पाए अनि शब्दमा उतार्ने कोशिश गरे। मेरो विचारमा परीक्षा हल शान्त हुनुपर्छ। आफूले जानेका कुराहरु लेख्न सक्ने वातावरण हुनुपर्छ अनि गार्डको भाषा पनि सभ्य हुनुपर्छ। केटी झिस्काउने इच्छा भए परीक्षाको गार्ड बस्नुभन्दा फिल्म हल गए उचित हुन्छ।