सरकारले विश्व क्रिकेट लिग च्याम्पियनसीपका लागि नेदरल्याण्ड जान लागेको राष्ट्रिय क्रिकेट टीमको विदाइ गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार अपरान्ह बालुवाटारस्थित सरकारी निवास सरेलगत्तै राष्ट्रिय क्रिकेट टीमको विदाइ गरेका छन्।
कप्तान पारस खड्काको नेतृत्वमा नेपाली टीम शनिबार नेदरल्याण्ड प्रस्थान गर्दै छ। कप्तान पारसले यसअघि नामिबियामा भएको ५० ओभरको खेलमा हराइसकेका कारण नेदरल्याण्डसँगको खेल जित्ने आशा व्यक्त गरे। उनले ब्याटिङ, बलिङ र फिल्डिङका हिसाबले नेपाली टीम पूर्णरुपमा सन्तुलित रहेको भन्दै सबै खेलाडीले क्षमता अनुसार प्रदर्शन गरे नेदरल्याण्डलाई पराजित गर्न कठिन नरहेको बताए ।
नेपालले साउन २९ र ३१ गते नेदरल्याण्डसँग दुई वटा खेल खेल्ने तालिका छ। खेलाडीहरुको विदाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले खेलमा जित हार स्वभाविक भएको भन्दै जितका लागि खेलाडीलाई शुभकामना दिए। उनले खेलाडीहरुसामू क्रिकेट खेलले भोग्नुपरेका सबैखाले अप्ठ्याराहरु हटाउने प्रतिबद्धता पनि जनाए।
उनले खेल क्षेत्रले नै राष्ट्रिय एकतालाई मजबुत गर्ने भन्दै बालुवाटार प्रवेशको पहिलो दिनमा नै क्रिकेट खेलाडीलाई विदाई गर्नु आफ्ना लागि सुखद सुरुवात भएको विचार व्यक्त गरे।
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले टोलीको जित नै आम नेपालीको जित हुने भन्दै खेलकुद क्षेत्रमा भएको विभिन्न समस्याको पहिचान गरी त्यसको समाधान गर्ने प्रतिबद्वता व्यक्त गरे।
नेपाली टोलीका कप्तान पारस खड्काले टिम ब्यालेन्समा भएकाले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने विश्वास व्यक्त गरे। नेपालले नेदरल्याण्ड्ससँग दुई खेल खेल्नेछ।
यही साउन साउन २९ गते पहिलो तथा ३१ गते दोस्रो खेल खेल्नेछ । यसअघि तीन चरणमा ६ खेल खेलेको नेपालले ४ अङ्क जोडेको छ ।
विश्व क्रिकेट लिगको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग १० अङ्क छ । उसले अहिलेसम्म खेलेका छमध्ये चारमा जित हात पारेको छ भने दुई खेलमा अङ्क बाँडेको छ । त्यस्तै नौ अङ्क भएको हङकङ दोस्रो, सात अङ्क भएको स्कटल्यान्ड तेस्रो तथा छ अङ्क भएको केन्या चौथो स्थानमा छ । नेपालकै जति समान चार अङ्क भएको पपुवा न्युगिनी रनरेटको आधारमा पाँचौ स्थानमा छ । २/२ अङ्क भएका नामिबिया र युएई क्रमशः सातौं र आठौँ स्थानमा छन् ।
गत वैशाख ४ र ६ गते घरेलु मैदानमा नामिबियाविरुद्धका दुई खेल जित्दै नेपाल अङ्कतालिकाको पुछारबाट पाँचौ स्थानमा उक्लिएको हो । नेपालको अङ्कतालिकामा अहिले चार अङ्क छ ।
नेपाल यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्यान्ड र पपुवान्युगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो ।
सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाललगायत ८ एसोसियट मुलुकका टोलीबीच होम एन्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन् । त्यसमध्येका शीर्ष चार टोलीले सन् २०१९ मा इङल्यान्डमा हुने एकदिवशीय विश्वकपको छनौट चरण खेल्न पाउनेछन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विवाद्मा फसेका कारण नेपाल क्रिकेट संघलाई निलम्बन गरेको छ। संघ निलम्बनमा परेका कारण क्रिकेटका गतिविधि ठप्प जस्तै छन्।