नेपालले ओलम्पिक सहभागिताको ५२ वर्षे इतिहासमा अहिलेसम्म कुनै पदक जित्न सकेको छैन। २००७ सालमा प्रजातन्त्रको उदयसँगै नेपाली खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने मौका पाएको थियो।
यसैको फलस्वरुप नरशमशेर र कुष्णबहादुर बर्मा सन् १९५२ फिनल्यान्डको राजधानी हेलिसिन्कीमा आयोजना भएको १५औं ओलम्पिकमा पर्यवेक्षकको रूपमा भाग लिन गएका थिए। उनीहरूलाई पर्यवेक्षकको रूपमा पहिलो पल्ट ओलम्पिकमा पठाउँदा नेपाल सरकारले सिंहदरबारमा आधिकारिक बिदाइ गरेको थियो। जसमा तत्कालीन राजा त्रिभुवनलगायत बिपी कोइराला र भारतीय राजदूत पनि संलग्न थिए। यसपछि लामो समय ओलम्पिकमा आफ्नो संलग्नतालाई नेपालले टाढै राख्यो।
तर, एक्कासि १९६० रोम ओलम्पिकमा अर्को एक नेपाली मोहनराम भण्डारी पर्यवेक्षकको रूपमा समावेश भए। उनी त्यतिबेला आफ्नै पैसा खर्च गरेर रोम उडेका थिए। ‘त्यतिबेला म एथलेटिक्स संघको सचिव थिए। पैसा आफै खर्च गर्छु, पर्यवेक्षकको रूपमा पठाइदिनु पर्यो भन्न आए। त्यसैले भण्डारीलाई हामीले चिठ्ठी लेखिदियौँ,’ सन् १९६४ टोकियो ओलम्पिकमा नेपालको झण्डा बोकेर मार्च पास गरेका द्वारिकाभक्त माथेमा भन्छन्।
भण्डारीले सत्रौं ओलम्पिकमा पर्यवेक्षकको रूपमा सहभागिता जनाए पनि त्यतिबेलासम्म कुनै खेलाडीले ओलम्पिकमा भाग लिएका थिएनन्। नेपाली खेलाडीले एकैपल्ट जापानको टोकियोमा आयोजना भएको सन् १९६४ को अठारौं ओलम्पिकमार्फत भाग लिएका थिए। त्यसयता नेपालले ११ वटा ओलम्पिकमा भाग लिइसकेको छ।
तर, अहिलेसम्म कुनै उपलब्धि चुम्न सकेको छैन। तेक्वान्दो खेलाडी विधान लामालाई छोडेर अरूको कुरा गर्ने हो भने सबै नेपाली खेलाडीले ओलम्पिकमा देशलाई निराश पारेका छन्। विधानले सन् १९८८ दक्षिण कोरियाको सिओलमा आयोजना भएको २४ औं ओलम्पिकमा नेपाललाई कास्य दिलाएका थिए। त्यतिबेला तेक्वान्दो प्रदर्शनी खेलका रूपमा मात्र समावेश थियो। त्यसैले विधानले जितेको पदकलाई मेडल तालिकामा राखिएन।
ओलम्पिकमा नेपाली एथलेटको कुरा गर्दा बैकुण्ठ मानन्धरको चर्चा नगरी पूरा हुँदैन। उनी सन् १९७६ को मन्ट्रियल ओलम्पिक खेल्न एक्लै क्यानडा पुगेका थिए। त्यहाँ उनले २ घण्टा ३० मिनेट ७ सकेन्डमा म्याराथन पूरा गर्दै ओलम्पिकमा ५० औं स्थान बनाउन सफल भए। बैकुण्ठ लगातार चार वटा ओलम्पिक खेल्ने नेपालका एक मात्र भाग्यमानी खेलाडी हुन्। उनले मन्ट्रियलपछि मस्को, लसएञ्जल्स र सिओल ओलम्पिक खेलेका थिए।
अझ मस्कोमा २ घण्टा २३ मिनेट ५१ सेकेन्डमा म्याराथन पूरा गर्दै ३७ औं स्थान बनाउन सफल भए। नेपाली बक्सर बिष्णुबहादुर सिंहको नाममा पनि अर्को इतिहास जोडिएको छ। उनी ओलम्पिकमा एउटा बाउट जित्ने एकमात्र बक्सिङ खेलाडी हुन्। उनले सिओल ओलम्पिकमा पाराग्वेका सिक्स्टो भेरालाई ५–० अंकको आधारमा हराएका थिए।। अर्को बाउटमा उनी अमेरिकी बक्सर आर्थर जोन्सनसँगपराजित भएका थिए। यसबाहेक नेपाली खेलाडीले ओलम्पिकमा खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन्।
‘वाइल्ड कार्ड’मार्फत ओलम्पिकमा सहभागिता जनाउँदै आइरहेको नेपाली खेलाडीको ओलम्पिकमा एक मात्र उद्देश्य रहने गरेको छ, राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने। तेक्वान्दो खेलाडी संगीना वैद्यले सन् २००४ मा नेपाली खेलकुदका लागि सुखद् समाचार दिएकी थिइन्। उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन्। तर, ओलम्पिकमा पनि उनको प्रदर्शन सोचेजस्तो सफल हुन सकेन।
यसपछि तेक्वान्दोकै दीपक बिष्टले सन् २००८ को बेइजिङ ओलम्पिक छनोट चरण पार गरेर खेले। उनको प्रदर्शन पनि फितलो रह्यो। रियो ओलम्पिकमा ७ नेपाली खेलाडी सहभागी छन्। रियोमा पौडीतर्फ शिरीष गुरुङ र गौरिका सिंह, एथलेटिक्सतर्फ सरस्वती भट्टराई र हरि रिमाल, जुडोमा फुपु ल्हामु खत्री, तेक्वान्दोमा निशा रावल तथा आर्चरीमा जीतबहादुर मोक्तानले भाग लिँदैछन्। यी सबै खेलाडी ‘वाइल्ड कार्ड’ कै आधारमा ओलम्पिकमा समावेश भएका हुन्।
पौडीकी गौरिका रियो ओलम्पिकमा सवैभन्दा कान्छी खेलाडीको रूपमा सहभागी हुँदैछिन्। यी सबै खेलाडीबाट पनि पदकको आशा कमै गरिएको छ।