गौरिका सिंहले एक वर्षअघि आफ्नो फेसबुक वालमा एउटा सन्देश छाडेकी थिइन्– वास्तविक विजेता बन्न आफूमाथि विश्वास जरुरी हुन्छ।
छ महिनाअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भारतको पूर्वोत्तर राज्य गुवाहाटी पुग्दा धेरैले उनलाई पत्याएका थिएनन्। बेलायतमा बसोबास गर्ने हुँदा अधिकाश नेपाली खेल पदाधिकारीको सोचाइ थियो, उनी ‘टुरिस्ट’ मात्र हुन्, घुम्न आएकी।
साग प्रतियोगिताको ३२ वर्ष लामो इतिहासमा एउटै नेपाली पौडीबाजले एकलतर्फ पदक जित्न सकेको थिएन। त्यसमाथि १३ वर्षीया गौरिका ५०, १००, २०० मिटर ब्याकस्ट्रोक, २०० मिटर इन्डिभिजुअल मिड्ले र ५० मिटर ब्रेस्टस्ट्रोकमा भाग लिँदै थिइन्। उनका प्रतिस्पर्धी थिए, भारत र श्रीलंकाजस्ता बलिया र अनुभवी राष्ट्रका खेलाडी। यसले पनि गौरिकाको प्रदर्शन सहभागितामै सीमित हुनेछ भन्ने धेरैलाई लागेको थियो।
गौरिकाले सबैको सोचाइ गलत साबित गरिदिइन्। र, सागमा नयाँ इतिहास रचिन्।
उनले सन् १९८४ मा आफ्नै देशबाट सुरु भएको दक्षिण एसियाकै प्रतिष्ठित प्रतियोगितामा भाग लिएका पाँचमध्ये चारवटा स्पर्धामा १ रजत र ३ कास्य जितिन्। १३ वर्ष उमेरमै उनले पाएको त्यो सफलता वास्तवमै अद्भुत थियो। दुई सय मिटर इन्डिभिजुअल मिड्लेमा उनी स्वर्णको नजिक पुगेर चुकेकी थिइन्।
त्यतिबेला गौरिकाको प्रदर्शन देखेपछि नेपाली खेलाडीलाई खासै महत्व नदिने भारतीय पौडी संघका पदाधिकारी तथा प्रशिक्षकसमेत बधाइ दिन नेपाली क्याम्पमा प्रवेश गरेका थिए।
अहिले गौरिका रियो ओलम्पिकमा भाग लिन ब्राजिलमा छिन्। उनी रियो ओलम्पिकको सय मिटर ब्याकस्ट्रोकमा आउँदो आइतबार हिट्समा सहभागी हुँदैछिन्। यहाँ त उनी आफ्नो उमेरका कारण खेल सुरु हुनुअघि नै चर्चित बनिसकेकी छन्। गौरिका रियो ओलम्पिककी सवैभन्दा कान्छी खेलाडी हुन्। उनी १३ वर्ष २ सय ५५ दिनमा ओलम्पिक खेल्दैछिन्।
‘म रियोमा सहभागी हुन त चाहन्थेँ तर कसरी भन्ने थाहा थिएन। किनकि, म निकै सानी थिएँ,’ रियोमा विदेशी मिडियाबाट घेरिएकी गौरिकाले भनेकी छन्।
गौरिकाले रियोमा सहभागी हुने सपनामा पनि सोचेकी थिइनन्। उनको सपना थियो, आउँदो चार वर्षपछि जापानमा हुने ३२ औं ओलम्पिकमा छनोट भएर ओलम्पिक खेल्ने। तर, अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) ले गत वर्ष रुसको कजानमा भएको १५ औं फिना विश्व पौडी प्रतियोगितामा सय मिटर ब्याकस्ट्रोकतर्फ उनको सुधारिएको प्रदर्शन देखेको थियो। त्यही आधारमा ‘वाइल्ड कार्ड’ मार्फत उनलाई ओलम्पिक खेल्न दिने निर्णय गर्यो।
कजानमा गौरिकाले सय मिटर फ्रिस्टाइल र ब्याकस्ट्रोकमा भाग लिएकी थिइन्। फ्रिस्टाइलमा उनी ८१ औं स्थानमा रहिन्। सय मिटर ब्याकस्ट्रोकको समय १ मिनेट ०७ दशमलव ३१ सेकेन्ड (राष्ट्रिय कीर्तिमान) निकालेपछि उनलाई ‘वाइल्ड कार्ड’ प्रदान गरिएको थियो। यो स्पर्धामा उनी ५८ औं स्थानमा अडिइन्।
कजानमा बहराइनकी १० वर्षीय अल्जैन तारिक पनि ५० मिटर फ्लाई र फ्रिस्टाइलमा सहभागी थिइन्। उनलाई भने फिनाले ‘वाइल्ड कार्ड’ प्रदान गरेन्। यसले गौरिका विश्वका २ सय ६ राष्ट्रका ११ हजार २ सय २९ खेलाडीमाझ रियो ओलम्पिककै कान्छी खेलाडी बन्न पुगिन्।
कम उमेरका कारण गौरिकाको चर्चा चल्नु स्वाभाविकै हो। त्यसमाथि गत वर्षको भुइँचालोका कारण पनि यतिबेला विदेशी मिडियाले नेपाललाई बढी नै महत्व दिएका छन्। गौरिकाको खेलमा एक प्रकारको लय देखिन्छ। त्यसैले उनीबाट देशले आशा राख्नु नाजायज होइन। तर, पौडीका दिग्गज अमेरिकाकी मिस्सी फ्याङ्लिन, अस्ट्रेलियाकी इम्ली सिबोम र जापानकी आया तेराकावाका अगाडि उनीबाट यही ओलम्पिकमा पदकको आशा राख्नु अन्याय हुनेछ।
मिस्सीले चार वर्षअघि लन्डन ओलम्पिकमा सय मिटर ब्याकस्ट्रोकतर्फ ५८.३३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेकी थिइन्। जुन समय गौरिकाको राष्ट्रिय कीर्तिमानभन्दा ४८.९८ सेकेन्ड फरक हो। हेर्दा सेकेन्ड लागे पनि पौडीमा यो अन्तर भनेको धेरै ठूलो मानिन्छ। अहिले महिला पौडीमा सय मिटर ब्याकस्ट्रोकमा पदक जित्न कम्तिमा १ मिनेटभन्दा तलको समय निकाल्नु अनिवार्य छ।
गौरिकाले पौडिरहेको समय ५२ वर्षअघि जापानमा नेपालले भाग लिएको सन् १९६४ टोकियो ओलम्पिकको हाराहारी हो। त्यति बेला अमेरिकाकी क्याथी फर्गुसनले १ मिनेट ०७ दशमलव ७ सेकेन्डमा सय मिटर ब्याकस्ट्रोक पूरा गरेकी थिइन्।
यति हुँदाहुँदै गौरिकाबाट नेपालले राम्रो खेलको आशा राख्नुको धेरै कारण छ। उनी निकै मेहनती खेलाडी हुन्। ओलम्पिकमा भाग लिन उनले निकै मेहनत गरेकी छन्। साग गेम्स क्रममा पिता पारस सिंहले भनेका थिए, ‘गौरिका पौडीको तयारी गर्न बिहान ४ बजे नै उठिसक्छिन्।’
ओलम्पिकका लागि उनले के–कस्तो तयारी गरिन्, त्यो अहिले पनि गोप्य राखिएको छ। तर, बेलायती प्रशिक्षकको रोहवरमा उनले कडा मेहनत गरेको बताइन्छ।
गौरिका अमेरिकी पौडीबाज माइकल फ्लेप्सका ठूलो प्रशंसक हुन्। सन् २००३ मा उनको जन्म हुनुअघि नै फ्लेप्सले २००० को सिड्नी ओलम्पिक खेलिसकेका थिए। ओलम्पिकमा २२ स्वर्ण जितिसकेका फ्लेप्ससँग भेट्ने उनको सपना रियोमा पूरा हुँदैछ। फ्लेप्स यसपालि अमेरिकी ओलम्पिक टोलीको झन्डा बोकेर पाँचौंपल्ट ओलम्पिकमा देखा पर्दैछन्। रियो उड्नुअघि फ्लेप्सले गौरिकालाई आफूले हस्ताक्षर गरेको पौडीको टोपी उपहार दिएका थिए।
गौरिका २०५० सालको एसएलसीमा बोर्ड फस्र्ट ल्याएर चर्चा कमाएकी गरिमा राणाकी छोरी हुन्। २००१ मा चिकित्सक पारससँग विवाह भएपछि उनको परिवार बेलायततर्फ लागेको थियो। गौरिका हाल लन्डनस्थित मिलहिलमा बस्छिन्। स्कुलमा पढ्दै गर्दा गौरिका पौडीतर्फ आकर्षित भएकी हुन्।
‘बेलायतमा प्राइमरीस्तरको पढाइ गर्दा पौडी पोखरीको एक लेन्थ पूरा गर्ने भइसक्नुपर्छ,’ कुनैबेला टेबल टेनिसका सौखिन खेलाडी पारस भन्छन्। हाल लन्डनको ‘रोयल फ्रि अस्पताल’ मा कार्यरत युरोलोजिस्ट पारस दुई दशकअघि काठमाडौंमा टेबल टेनिसको भ्याली च्याम्पियनसिप हु“दा पुरुषतर्फ दोस्रो भएका थिए। अध्ययनका कारण पारसको खेलाडी बन्ने सोख पूरा भएको थिएन। तर, अहिले छोरीको सफलता देखेर दंग छन्।
गौरिका अत्यधिक नेपाली बस्ने लन्डनको मिलहिलस्थित बर्नेट कोप्टहल पौडी क्लबमा प्रशिक्षकद्धय रायस कोर्मेले र क्रिस्टिन ग्रीनस“ग अभ्यास गर्छिन्। ‘उसले २०११ देखि लगनका साथ सिक्न थालेकी हो,’ पारस भन्छन् । गौरिका आफ्नो उमेर समूहमा बेलायतमा पा“चौं स्थानमा पर्छिन्। उनी हाल हब्स गर्ल लन्डनमा कक्षा ७ मा पढ्दैछिन्।
सन् २०१४ मा दुई महिनाका लागि छुट्टी मनाउन आमासँगै काठमाडौं आउँदा गौरिकाको भाग्यले नै अर्को मोड लियो। त्यतिबेला सातदोबाटोस्थित पौडी पोखरीमा १९ औं राष्ट्रिय खुला पौडी प्रतियोगिता आयोजना हुँदै थियो। यस प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमानसहित सातस्वर्ण जितेपछि उनी नेपाली खेलकुदमा एकाएक चर्चामा आएकी थिइन्।